जीप दुर्घटनामा २ को मृत्यू/१४ यात्रु घाइते

Rolpaरोल्पा, २८ जेठ । रोल्पामा यात्रुबाहक जीप दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ भने १४ यात्रु घाइते भएका छन् ।
सदरमुकाम लिवाङबाट जुँगारतर्फ जाँदै गरेको रा. १ ज ४०१ नम्बरको जीप आज (मंगलबार) कोटगाउँ–४, खोलाबाङस्थित घुम्तीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यू हुनेमा कोटगाउँ–६, रिमसककी ३२ वर्षीया हीरादेवी परियार र बुढागाउँ–२ निवासी ४५ वर्षीया मीनाकुमारी बस्नेत रहेका छन् ।
१४ जना घाइते मध्ये ४ जनाको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको छ । तीन जना घाईते अवस्था गम्भीर छ । १० जनालाई थप उपचारका लागि कोहलपुर पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
घाइते हुनेमा गैरीगाउँ–६ का २३ वर्षीय कुमार परियार, जुँगार–८ का ४५ वर्षीय शोभाराम वली, ४० वर्षीय पूर्णबहादुर वली, ४४ वर्षीय डम्बर वली, ६८ वर्षीय नन्दु वली, ३८ वर्षीय ताराप्रसाद वली, बुढागाउँ–२ का ४६ वर्षीय अम्मर घर्तीमगर, ४८ वर्षीय गगन घर्तीमगर, बुढागाउँ–३ निवासी ६० वर्षीय कबिराम पुन, गैरीगाउँ–५ का ५८ वर्षीय खलबहादुर घर्ती र गैरीगाउँ–९ निवासी २१ वर्षीया हीरा घर्ती र ह्वामा–४ का ४६ वर्षीय बुद्धिप्रकाश झाँक्रीमगर छन् ।
क्षमता भन्दा बढी यात्रु बोकेका कारण जीप अनियन्त्रित भई सडकबाट करीब १ सय मिटर तल खसेको प्रहरी भनाई छ ।

प्रतिक्रिया