साढे सोह्र हजारले लिए एसएमएस सेवा

काठमाडौं, २० जेठ । वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका १६ हजार ३ सय ९९ जनाले एसएमएस सेवा लिएका छन् । वैदेशिक रोजगार विभागले ३० वैशाखदेखि सुरु गरेको हो । छोटो समयमै यो सेवाले ग्रामीण क्षेत्रका व्यक्ति बढी लाभान्वित भएको वैदेशिक रोजगार विभागका महानिर्देशक  विनोद केसीले बताए ।
विदेशमा काम गर्न जाने कामदारले म्यानपावर कम्पनीलाई राहदानी बुझाएर अन्तिम स्वीकृति कुरेर बसेकाहरूले यो सेवाबाट बढी लाभ लिएको पनि विभागले बताएको छ । वैदेशिक रोजगारमा जाने वा गएका व्यक्तिले सरकारको श्रम स्वीकृति लिए नलिएको, जान लागेको देश, काम कम्पनीको बारेमा एसएमएसबाट तत्काल यो जानकारी पाउने पनि विभागले जनाएको छ ।
म्यानपावर व्यवसायीले कामदारको राहदानी श्रमस्वीकृतिमा नपठाइकन पठाएको भन्ने, एउटा काम भनेर अर्को काममा पठाउने, एउटा कम्पनीमा भनेर अर्को कम्पनीमा पठाउने, नेपालबाट तोकेर पठाएको तलब सुविधा कामदारले सम्बन्धित देशमा गएपछि नपाउने, म्यानपावर कम्पनीले कामदारको राहदानी लिएर लामोसमयसम्म भिसा नै आएको छैन भन्दै कामदारलाई मारमा पार्ने गर्दै आएका थिए । एसएमएस सेवाले त्यस्तो झन्झटबाट कामदारले मुक्ति पाउने भएका छन् । यो सेवा प्राप्त गर्नका लागि ४००१ मा पासपोर्टसहित एसएमएस गर्नुपर्दछ । यसले  कामदारको लागत खर्च पनि थाहा पाइने भएको छ ।
म्यानपावर कम्पनीले विभागमा पठाएको एक मुष्ट फाइलबाट कतिपय कामदारको काम भएको छैन भन्दै कम्पनीले कामदारलाई दिँदै आएको झुटो आश्वासन कम हँुदै गएको विभागले जनाएको छ ।  कामदारले लट नम्बर थिचेर एसएमएस गरेको खण्डमा कति कामदार विदेश जान लागेका थिए र कतिको अन्तिम स्वीकृति आयो र कतिको आएन भन्ने थाहा पाउन सकिने केसीले बताए ।
सहरमा भन्दा पनि गाउँमा विदेश पठाइदिन्छु भन्दै राहदानी लिन र काम नै अगाडि नबढाई ठगी गर्न पल्केका गिरोहलाई भने यो सेवाले मुखमा बुझो लगाएको केसीको तर्क छ । अब घरमा नै बसेर आफ्नो काम कहाँ पुगेको छ, कुन देशमा जान लागेको हो,  के काम गर्नु पर्ने हो, आफूले पाउने तलब भत्ता के कति हो भन्ने बारेमा जानकारी सहजै पाउन सकिने उनको तर्क छ । केसीका अनुसार कामदार नठगिउन र परिश्रमको फल राम्रो पाउन् भनेर यो सेवा सुरु गरिएको हो ।
यो सेवाले राजधानीका मात्र नभएर गाउँ गाउँमा बसेका र जो तत्कालै विभाग वा म्यानपावर कम्पनीमा गएर आफ्नो कामको जानकारी पाउन सक्दैनन्, तिनीहरूका लागि यो सेवा निकै प्रभावकारी हुने महानिर्देशक केसीको भनाइ छ । उनले भने ‘गाँउ–गाँउमा बसेर मध्यस्तकर्ताको काम गर्ने र सोझा–साझा नेपालीलाई ठग्नेहरूलाई यो सेवाले निकै समस्या पर्नेछ ।’ यसले घरमा बसेर आफ्नो कामको बारेमा जानकारी पाउने भएका छन् । एसएमएस सेवा सुरु भएको पहिलो दिन लगभग १७ सय कामदारले यो सेवा लिए पनि अहिले दैनिक हजारदेखि १२ सय सम्मले यो सेवा लिएको कम्प्युटर इन्जिनियर विजय खत्रीले बताएका छन् ।
यस्तै विभागले तीन साता अघिदेखि भिसा अभिलेख पद्धति सुरु गरेको छ । नेपालमा दूतावास नभएका देशमा कामदार काम गर्न जानका लागि भिसा लगाउनका लागि ढाका लैजानुपर्ने र त्यसको रेकर्ड विभागसँग नहँुदा कतिपय नेपालीको राहदानी विदेशमा नै खोसिने गरेको थियो । कतिपय अवस्थामा कामदार आपैँmले आफ्नो पासपोर्ट बेचेर हराएको बहाना गर्ने प्रवृत्ति बढेको भन्दै विभागले विदेशमा भिसा लगाउन लैजाने राहदानीलाई अनिवार्य रूपमा विभागमा दर्ता गराउनुपर्ने व्यवस्था गरेको हो । यसले गर्दा कामदारको भिसा लागेको वा नलागेको कम्प्युटरबाट नै थाहा पाउन सकिने भन्दै केसीले भने, ‘राहदानी लैजाँदा लक गरेर पठाइन्छ र सक्कली पासपोर्ट नल्याएसम्म अनलक गरिँदैन यसले गर्दा राहदानीको दुरुपयोग घट्छ ।’

प्रतिक्रिया