दलितलाई आरन वितरण

नुवाकोट, ९ वैशाख । नुवाकोट : परम्परागत रूपमा आरन पेसा गर्दै आएका देउराली गाविसका दलितलाई सुधारिएको आरन सञ्चालन गर्न सहयोग पुर्‍याउने उद्देश्यले प्रविधि हस्तान्तरण गरिएको छ । सामुदायिक तथा व्यावसायिक विकास प्रवद्र्धन समाज कोब्डेप्सले देउराली गाविसका वडा नं. ५ र ८ का १५ जनालाई सामुहिक आरन सञ्चालन गर्न आठ किसिमका प्रविधि हस्तान्तरण गरेको छ ।

आरन सुधार तालिमको समापनका अवसरमा प्रमुख अतिथि एवं जिल्ला विकास समिति नुवाकोटका कार्यक्रम अधिकृत तथा जिल्ला लघु उद्यमी इकाई प्रमुख पुष्कर शर्मा रिमालले उक्त आरन प्रविधिहरू हस्तान्तरण गरे । कार्यक्रममा करिब ७१ हजार रुपियाँ बराबरका सामग्री वितरण गरिएको थियो । जसमा इलेक्ट्रिक फ्यान १० थान, ग्रान्डर दुई थान, आइरन वाटर एक थान, वेल्डिङ मेसिन एक थान, ग्रान्डर चक्का एक प्याकेट, आइरन कटर चक्का दुई थान, होल्डर एक थान र वडा नंम्बर ९ को लागि दुई वटा फ्यान हस्तान्तरण गरिएको थियो ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र लघु उद्यम विकास कार्यक्रमको अनुदान सहयोगमा प्राप्त उक्त सामग्रीहरू वितरण गरिएको हो भने तालिममा सहभागीहरूले सात हजार रुपियाँ सहयोग गरेका छन् । आरनमा प्रयोग हुने प्रविधि हस्तान्तरण गर्दै प्रमुख अतिथि रिमालले पुर्खादेखि गरिएको परम्परागत आरन पेसालाई व्यावसायिकिकरण गर्न र आर्थिक जीवनस्तर उकास्न सुधारिएको आरनले सहयोग पुर्‍याउने बताए । (सौस)

प्रतिक्रिया