बालिकसँगको प्रेम सम्बन्धले निम्त्यायो जघन्य अपराध

एकै परिवारका ४ जनाको हत्या

भोजपुर । नाबालिगलाई प्रेममा फसाएपछि बढ्दै गएको विवादले भोजपुरमा ठुलो दुर्घटना भएको छ । पहिली श्रीमतीले छाडेर हिँडेपछि करिब आफूभन्दा आधा उमेरकी मनिषालाई प्रेममा पारेका ३० वर्षीय राजेन्द्र राईले शनिबार राती ४ जनाको ज्यान लिएका छन् ।

रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीस्थित ससुराली घरमा उनले हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले दिएको जानकारी अनुसार राजेन्द्रले दोस्रो बिहेका लागि १६ वर्षीया मनिषालाई प्रेममा पारेका थिए । आफूभन्दा आधा उमेरकी कानुनले समेत बिहे गर्न वर्जित गरेको उमेरकी केटीलाई प्रेममा पारेर उनले केही महिनाअघि भगाएका थिए ।

पहिलेकी श्रीमतीले छाडेपछि राजेन्द्रले मनिषालाई लिएर गएका थिए । राजेन्द्रले १६ वर्षीया छोरी भगाएर लगेपछि आमा मञ्जु गिरीले फर्काएर माइतीमै ल्याएकी थिइन् । आमाले फर्काएपछि मनिषा १ महिनादेखि धोद्लेखानीस्थित माइती घरमै बसिरहेकी थिइन् ।

मनिषालाई लैजानका लागि राजेन्द्र ५ दिनअघि धोद्लेखानीस्थित ससुराली घरमै बसेका थिए । उनको प्रयासका बाबजुद मनिषाका बाबुआमा तयार नभएपछि विवाद बढेको हो । उनीहरूले छोरीको उमेर नपुगेको बताउँदै लैजान स्वीकृति नदिएका हुन् ।

विवाद बढ्दै गए पनि राजेन्द्र ससुराली घरमै बसिरहेका थिए । शनिबार राति गिरी परिवार सबैजना सुतिरहेको समयमा मध्य रातमा ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासू ४५ वर्षीया मञ्जु गिरी, पत्नी १६ वर्षीया मनिषा गिरी र सालो ९ वर्षीय सपन गिरीलाई छुरा हानेर ज्यान लिएका हुन् । ससुराली परिवारको वंशनास गरेका उनले त्यसपछि आफैँ ओख्रेको हुर्बुभञ्ज्याङ पुगेर घटनाबारे प्रहरीलाई फोन गरेका थिए ।

‘मैले ४ जनालाई छुरी हानेर आएको छु’, उनले प्रहरीलाई फोन गर्दै भनेका थिए, ‘शायद अहिलेसम्म सबैजना मरिसके होलान् ।’

प्रहरीले पक्राउ गरिसकेपछि राजेन्द्रले आफूमाथि सुतिरहेका बेला सासुले छातीमा छुरी हानेको दाबी गरेका छन् । सासूले छुरीले आक्रमण गरेपछि यस्तो भयानक घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
राजेन्द्रले आफूलाई हानिएको त्यही छुरीले चारै जनाको ज्यान लिएको स्वीकारोक्ति गरेको प्रहरीले जनाएको छ ।

मारिएका ४ जनाको शव परीक्षणका लागि आइतबार जिल्ला अस्पताल लगिएको छ । अभियुक्त राईको पेटमा धारिलो हतियारको चोट रहेको अवस्थामा फेला परेका छन् । जिल्ला अस्पताल भोजपुरमा प्रारम्भिक उपचार गरी राईलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जानकारी दिएको छ । मृतक गिरी दम्पतीका ३ छोरा र १ छोरी काठमाडौँमा बस्दै आएकाले उनीहरू गाउँ पुगेपछि मात्र दाहसंस्कार गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया