शिक्षा विधेयक पारित गर्न सरकारलाई अझै दिइयो पाँच दिनको समय

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आज आइतबार पारित गर्ने भनेको शिक्षा विधेयकका लागि सरकारलाई अझै थप पाँच दिनको समय दिइएको छ ।

आज आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले थप समय माग गरेपछि समितिले पाँच दिनको समय दिएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए । समितिका समापति थापाले सदस्यहरूलाई आजको बैठकबाट विधेयक पारित गर्ने तय भएको सूचना दिएर बैठक बोलाएका थिए ।

‘पाँच दिनभित्र सहमति गरेर आउनू,’ मन्त्री पन्तलाई निर्देशन दिँदै थापाले भने, ‘त्यसअघि मलाई बैठक बोलाउन एक दिनको समय चाहिन्छ ।’ समितिका अधिकांश सदस्य सांसदहरूले भने आजै विधेयक पारित गर्नुपर्ने माग राखेका थिए । असार १६ गते पनि शिक्षामन्त्री पन्तकै आग्रहमा बैठक रोकिएको थियो ।

अस्थायी शिक्षक, ईसीडी शिक्षकलगायतको विषयमा समितिमा सहमति जुट्न सकेको छैन । समितिका सभापति थापाले सरकारले नै नयाँ–नयाँ प्रावधान ल्याएर विधेयक अड्काएको आरोप लगाए । उनले शिक्षामन्त्री पन्तलाई पाँच दिनभित्र सहमति जुटाएर ल्याउन अल्टिमेटम पनि दिए ।

प्रतिक्रिया