सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नागरिक उन्मुक्ति पार्टी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएको छ । उक्त पार्टीले आज शुक्रबार नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिँदै बाहिरिएको हो ।

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार नागरिक उन्मुक्तिबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नागरिक उन्मुक्ति रुष्ट थियो । शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

संसदीय दलका नेता घनश्याम चौधरीले संसदीय दलको बैठकको बहुमतको निर्णयबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिबाट सरकारमा एक जना मन्त्री थिए ।

७ जना सांसद रहेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दल बैठकमा चार जना सांसद उपस्थित थिए । घनश्याम चौधरी, टीका थापा, इन्दिरा गिरी र रामेश्वर चौधरी बैठकमा उपस्थित थिए भने कैलाश चौधरी, खुसीराम डगौरा थारु र लक्ष्मणकिशोर चौधरी बैठकमा अनुपस्थित थिए ।

प्रतिक्रिया