काठमाडौं । मलेसियामा जारी एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले प्रतिद्वन्द्वी सिंगापुरलाई पाएको छ । उक्त फाइनल खेल मलेसियामा शनिबार बिहान ७ः४५ बजे सुरु हुने छ । नेपालले आज भएको सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो ।
मलेसियाले दिएको ९१ रनको सामन्य लक्ष्य नेपालले ११.४ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । यस्तै सिंगापुरले हङकङलाई ४ विकेटले हराएर नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो । हङकङले दिएको १६९ रनको लक्ष्य सिंगापुरले ३८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
नेपालले यसअघि समूह चरणको खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो । समूह चरणमा नेपालले भुटानलाई २९८ रनले तथा इन्डोनेसियालाई ३७० रनले हराएको थियो । यसैगरी सिंगापुरले समूह चरणका खेलमा भुटानलाई २२६ रनले, जापानलाई तीन विकेटले तथा इन्डोनेसियालाई ९ विकेटले हराएको थियो ।
नेपाल समूह चरणका चारवटै खेल जितेर समूह ‘ए’को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । उक्त समूहबाट दोस्रो स्थानमा रहँदै सिंगापुर पनि सेमिफाइनलमा पुगेको हो ।
यस्तै समूह ‘बी’बाट हङकङ शीर्ष स्थानमा रहँदै तथा मलेसिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेका थिए । नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । नेपालले सन् २०२३ मा भएको प्रतियोगितामा फाइनलमा मलेसियालाई हराउँदै उपाधि जितेको थियो ।
एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी थिए । समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका थिए ।
प्रतिक्रिया