काठमाडौं । मलेसियामा जारी एसीसी पुरुष यू–१६ इस्ट जोन कपको फाइनल प्रवेशका लागि नेपाललाई घरेलु टोली मलेसियाले ९१ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरस्थित सेलेङगोर टर्फ क्लबमा पहिले ब्याटिङ गरेको मलेसिया ९० रनमा समेटिएको हो ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपाललाई सहज लक्ष्यतर्फ डोर्याउन शुभम् खनालले ४ विकेट लिए । सचिन भट्टले २ विकेट हात पार्दा विपिन शर्माले एक विकेट लिए।
मलेसियाका लागि सातौँ क्रमका ब्याटर मोहमद फाथुल मुइनले सर्वाधिक ३८ रन बनाउँदा कप्तान डियान पट्रोले १० रनको योगदान दिए । बाँकी ९ ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
४ रन बनाउँदा २ विकेट गुमाएको मलेसियाले ३५ रन बनाउँदै ५ विकेट गुमाएको थियो । त्यसपछि पनि लगातार विकेट पतन रोकिएन। मुइनले लामो इनिङ्स खेल्ने प्रयास गरे पनि लामो साझेदार पाएनन् ।
४६ रन बनाउँदा सातौँ विकेट गयो । ८२ रन बनाउँदा ३७औँ ओभरमा ८ विकेट गुमाएकमो मलेसिया ४३।१ ओभरमा ९० रनमा अलआउट भयो । नेपाली युवा टोली समूह एको विजेता बन्दै र मलेसिया समूह बीको उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
अहिले नेपालले मलेसियाविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ । यो खेल जिते नेपाल दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि भिड्नेछ । आजै हुने दोस्रो सेमिफाइनलमा हङकङ र सिगांपुर भिड्दै छन् ।
प्रतियोगिताको समूह ‘ए मा’ रहेको नेपाल समूह विजेता हुँदै सेमिफाइनल खेलेको हो । मलेसिया भने समूह ‘बी’ को उपविजेता हो । नेपालले मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनको फराकिलो अन्तरले हराउँदै समूहविजेता बनेको थियो ।
त्यसअघि नेपालले सिंगापुर, जापान र इन्डोनेसियालाई हराएको थियो । उता मलेसिया भने समूह बी मा हङकङसँग मात्र पराजित हुँदा माल्दिभ्स, थाइल्याण्ड र म्यानमारलाई हराएको थियो । फाइनल खेल शनिबार ५ जुलाई (असार २१) गते हुनेछ । नेपाल यस प्रतियोगिताको साविक विजेता पनि हो ।
प्रतिक्रिया