क्लब विश्वकपको क्वार्टरफाइनल समीकरण तय

लन्डन । इटालियन क्लब युभेन्ट्सलाई पराजित गर्दै रियल मड्रिड क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा रियल १–० ले विजयी भएको हो । रियलको जितमा गोन्जालो गार्सियाले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ५४औँ मिनेटमा गोल गरेका थिए । योसँगै इटालीका क्लबको विश्वकप यात्रा समाप्त भएको छ । यसअघि इन्टर मिलान राउन्ड अफ १६ बाटै बाहिरिएको थियो ।

जर्मन क्लब बोरुसिया डर्टमन्ड र मेक्सिकन क्लब रायाडोस (मोन्टेरी)बीचको खेलसँगै अन्तिम ८ का टोलीको टुंगो लागेको हो । सो खेलमा डर्टमन्डले रायाडोसलाई २–१ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनायो ।

अर्को खेलमा स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब युभेन्ट्सलाई १–० को साँघुरो गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनायो । क्वाटरफाइनलको पहिलो खेल फ्लुमिन्से र अल हिलालबीच हुनेछ । यस्तै, चेल्सीले पाल्मेरियाससँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, बायर्न म्युनिख र पिएसजी भिड्नेछन् भने रियल मड्रिड र डर्टमन्ड आमनेसामने हुनेछन् । क्वाटरफाइनलका खेलहरू नेपाली समयानुसार शुक्रबार रातिदेखि शनिबार रातिसम्म हुनेछन् ।

डर्टमन्डका जोब बेलिङघामले क्लब विश्वकपको क्वार्टरफाइनलमा दाजु जुड बेलिङघामविरुद्ध खेल्ने ऐतिहासिक अवसर भने गुमाएका छन् । मोन्टेर्रेविरुद्धको जितमा पहेँलो कार्ड पाएपछि बोरुसिया डर्टमुन्डका युवा मिडफिल्डर जोब १ खेलको प्रतिबन्धमा परेका हुन् ।

डर्टमुन्डले आगामी शनिबार मेटलाइफ स्टेडियममा रियल मड्रिडको विरुद्ध खेल्ने खेलमा जोब उपस्थित हुने छैनन् । यसअघि उनले समूह चरणमा उल्सान एचडीविरुद्ध पनि पहेँलो कार्ड पाएका थिए । २ पहेँलो कार्डका कारण उनी अब १ खेलको प्रतिबन्धमा परेका हुन् ।

बर्मिङहमको एकै एकेडेमीबाट हुर्किएका यी दुवै दाजुभाइ अहिले शीर्ष क्लबमा चम्किरहेका छन् । जुड बेलिङघामले सन् २०२० मा १७ वर्षको उमेरमा बर्मिङहम सिटीबाट डर्टमुन्ड यात्रा थालेका थिए । डर्टमन्डमा ३ वर्ष खेलेपछि उनी रियल पुगेका थिए । उनी स्पेनी ला–लिगा र च्याम्पियन्स लिग विजेता बनिसकेका छन् । साथै इंग्ल्यान्डका मुख्य खेलाडीसमेत हुन् ।

जोबले पनि बर्मिङहमबाट यात्रा थालेका हुन् । उनी सन् २०२३ मा सन्डरल्यान्डमा अनुबन्ध भए । त्यहाँबाट क्लबलाई प्रिमियर लिगमा उकास्न सहयोग गरे । त्यसपछि उनले ठिक जुडको बाटो पछ्याउँदै डर्टमुन्डसँग गत महिना सम्झौता गरेका थिए । जोबले डर्टमन्डमा छिट्टै प्रभाव पार्न सफल भएका छन् । क्लब विश्वकपमा डेब्यु गरेका उनले मामेलोदी सन्डाउन्सविरुद्ध पहिलो गोल पनि गरेका छन् ।

प्रतिक्रिया