नवलपरासी । अपांगता भएका व्यक्तिले जीवन कसरी चलाउने ? यही प्रश्नको उत्तर खोज्न सुस्ता गाउँपालिकाले अपांगता भएका व्यक्तिहरूलाई उद्यमी बनाएर जीविकोपार्जन गर्ने ढोका खोलिदिएको छ । यो वर्ष ५२ जना अपांगता भएका व्यक्तिहरूलाई लक्षित गरी १० दिने सर्फ, साबुन, फिनेल तथा लिक्यिड बनाउने तालिममार्फत उनीहरूलाई सामान्य उद्यम–व्यवसायतर्फ जोडेको हो ।
तालिममा ‘ख’, ‘ग’ र ‘घ’ वर्गका अपांगता भएका व्यक्तिहरूलाई सहभागी गराइएको थियो । सहभागीमध्ये ३ जनाले अहिले व्यावसायिक रूपमा सर्फ, साबुन, फिनेल तथा लिक्विड उत्पादन गर्न थालेका छन् । आफूले उत्पादन गरेर सामग्रीको बिक्री गर्ने काम गरिरहेका छन् । त्यसमध्ये एक हुन्, सुस्ता गाउँपालिका–२ हर्कपुराका स्थायी बासिन्दा, देवेन्द्र चौधरी ।
स्थानीय तहद्वारा प्रदान गरिएको सीपमूलक तालिमबाट अहिले उनी आत्मनिर्भर भएका छन् । १० दिने तालिममा उनले सर्फ, साबुन र लिक्विड बनाउन सिकेका थिए । तालिमबाट सिकेको सीपलाई उपयोग गर्दै आफ्नै व्यवसाय सुरु गरेपछि उनी आर्थिक रूपमा सक्षम बनेका छन् । प्रारम्भिक चरणमा देवेन्द्रले करिब १ लाख रुपैयाँको लगानीबाट उत्पादन सुरु गरे । उनले कच्चा पदार्थहरू, जस्तै केमिकल, सुगन्ध र प्याकेजिङ सामग्री, भैरहवाबाट ल्याउने गरेका छन् ।
उत्पादित सामग्रीको बजारीकरणमा गाउँपालिकाले सघाएको उनले बताए । उक्त व्यवसायमा उनको सम्पूर्ण परिवारकै साथ रहेको छ । उत्पादन गरिएका सामग्रीलाई बजारसम्म पु¥याएर बिक्री गर्न उनका दाजुले सहयोग गर्छन् । ती सामान सुस्ताका साना ठुला किराना पसलमा बच्ने गरिएको छ । परिवारकै सहकार्यमा सञ्चालन भएको यो सानो उद्योग अहिले घरेलु उद्योगमा रूपान्तरण हुँदै गएको छ ।
लगानी र परिश्रमको प्रतिफलस्वरूप देवेन्द्रले वार्षिक रूपमा ३ लाख रुपैयाँको आम्दानी गर्न सफल भएको बताए । उनी आफ्नो उत्पादनको दायरा विस्तार गर्दै निरन्तरता दिने योजनामा छन् । आगामी दिनमा उनले उत्पादित सामग्रीको गुणस्तर अझ सुधार गर्ने र बजारलाई फराकिलो बनाउने लक्ष्य लिएका छन् । देवेन्द्रको यो यात्रा सुस्ता गाउँपालिकामा स्वरोजगारको उत्कृष्ट उदाहरण बनेको छ । स्थानीय सरकारको सशक्त तालिम, आत्मबल र पारिवारिक सहयोगकै कारण उनी आफ्नो पेसामा सशक्त रूपमा स्थापित हुन सफल भएका छन् ।
अपांगता भएका व्यक्तिहरूले उद्यमसँग जोडिएर समाजमा सकारात्मक प्रेरणा दिन सक्छन् भन्ने कुराको पुष्टि उनका अनुभवहरूले गर्छन् । ती देबन्द्रजस्तै सुस्ता–२ का हेमलाल चौधरी र सुस्ता–५ का शोहन कोइरीले पनि यस्तै व्यवसाय सुरु गरेका छन् । तालिम लिएका सबैले व्यवसाय गर्न भने सकेका छैनन् । केहिले पारिवारिक सहयोग जुटाउन नसक्दा त केहीले कच्चा सामग्री लिन जान टाढा भएकोले गर्दा व्यवसाय गर्न नसकेको बताएका छन् ।
तालिम लिएकी तर निरन्तरता नदिएकी व्यक्ति हुन्, ३९ वर्षीय चन्दादेवी महतो । सुस्ता–२, थारूटोलामा बस्दै आएकी उनले कक्षा १० सम्म अध्ययन पनि गरेकी थिइन । ‘ख’ वर्गको अपांगता भएर दाहिने अंग पूर्णरूपमा अशक्त चन्दाले सुस्ता गाउँपालिकाबाटै आयोजित ‘ग’ र ‘घ’ वर्गका अपांगता भएका व्यक्तिहरूलाई लक्षित गरी प्रदान गरिएको १० दिने तालिममा सहभागिता जनाएकी थिइन् । तालिममा उत्साहका साथ भाग लिएता पनि व्यवसाय गर्न नसकेकोबारे उनको भनाइ छ, ‘मेरो दाहिने हातले खासै काम गर्दैन ।
त्यसैले सामग्री नापतौल गर्न कठिन पर्छ । एसिडजस्ता रासायनिक पदार्थहरू चलाउन त झन् कठिन भयो ।’ स्थानीय बजारमा कच्चा पदार्थ सजिलै उपलब्ध नहुनु अर्को चुनौती रह्यो । पहिलोपटक यस्तो प्रकारको तालिम लिएको हुँदा उत्पादन विधि, गुणस्तर जाँच, सामग्री मापनजस्ता सीपहरूमा थप ज्ञान आवश्यक परेको चन्दाले बताइन् । सुस्ता गाउँपालिकामा अपांगता भएका व्यक्ति कति छन् ? यसको यकिन तथ्यांक छैन ।
२०७६ सालयता पालिकाका ५ वडाका ५९ जना ‘क’ वर्गका, २३३ जना ‘ख’, ७६ जना ‘ग’ र १९ जना ‘घ’ वर्गका गरी जम्मा ३८७ जना सुस्ता गाउँपालिकाबाट अपांगता परिचय पत्र प्राप्त गरेका छन् । अपांगता भएका व्यक्तिहरूका लागि जीविकोपार्जनमा सघाउन सीप बिकास र सामाजिक सुरक्षामा थप लगानी गर्नुपर्ने पालिकाको महिला, बालबालिका तथा अपांगता शाखाका सहायक सबित्रा आलेले बताइन् ।
गाउँपालिकाका उपाध्यक्ष गीता चौधरीले आफ्नो कार्यकालभित्र अपांगता भएका व्यक्तिहरूको जीवनस्तर उकास्नका लागि सञ्चालन गरिएका कार्यक्रमहरूबारे विवरण प्रस्तुत गर्दै भनिन्, ‘पालिकाका ३८७ जना अपांगता भएका व्यक्तिमध्ये विशेषतः ‘ग’ र ‘घ’ वर्गका अपांगता भएका नागरिकलाई केन्द्रमा राखी सीपमूलक तालिमहरू सञ्चालन गरिएको हो ।’ उनकाअनुसार १० दिने सीपमूलक तालिममा ५ वटा वडाका ४६ जना व्यक्तिलाई २ समूहमा विभाजन गरी सहभागी गराइएको थियो ।
सहभागीहरूमा मुख्यतया ‘ग’ र ‘घ’ वर्गका अपांगता भएका नागरिक थिए भने केही ‘ख’ वर्गका सहभागीहरू पनि थिए । तालिमपछि उत्पादन गरिएका सामग्रीहरूलाई ३ समूहमा विभाजन गरी वितरण गरिएको थियो, जसको बिक्रीमार्फत केही सहभागीहरूले बिउँपुँजी जुटाई निरन्तर रूपमा उत्पादन कार्यलाई अगाडि बढाइरहेका छन् । पालिका उपाध्यक्ष गीता चौधरी आउँदोे आर्थिक वर्ष २०८२–०८३ मा, ती ४६ जना सहभागीहरूमध्ये सक्रिय ‘ग’ र ‘घ’ वर्गका व्यक्तिहरूका लागि स्तरोन्नति तालिम सञ्चालन गर्ने बताउँछिन् ।
तिनीहरूलाई आत्मनिर्भर जीवनयापन गर्न सक्ने वातावरण तयार गरिने पालिकाको योजना छ । गत आर्थिक वर्षमा बजेट अभावका कारण उक्त कार्यक्रम कार्यान्वयन गर्न नसकिएको उल्लेख गर्दै उनले आगामी साउन–भदौ महिनादेखि कार्यक्रम पुनः सञ्चालन गरिने बताइन् । अपांगता भएका व्यक्तिहरूको संस्था (अपांग सञ्जाल)सँगको परामर्शमा अपांगता भएका अपांगता भएका व्यक्तिहरूलाई थप परिष्कृत तालिमको माग गरेका छन् ।
तथापि प्रयोग गरिने केमिकलहरू व्यक्तिगत रूपमा नदिइने नीति भएकाले अहिले २÷३ जना मात्र सक्रिय देखिएका छन् । यसलाई समाधान गर्दै, अब तालिम लिएका व्यक्तिहरूलाई समेटेर एउटा समूह बनाई थप तालिम प्रदान गरिनेछ । तालिमको साथसाथै उत्पादित सामग्रीको बजारीकरणको व्यवस्था गरिने र उद्योग स्थापना गरी आत्मनिर्भरता सुनिश्चित गरिने उपाध्यक्ष चौधरीले बताइन् । आफ्नो कार्यकालको सुरुआती चरणमा अपांगता भएका १५० जना मात्र पालिकामा सूचीकृत भएको स्मरण गर्दै उनले सबैखाले अपांगता भएका व्यक्तिलाई समेट्न वडा र पालिका स्तरमा अपांग संजाल गठन गरिएको बताइन् ।
संजालको प्रभावकारिताले गर्दा अहिले महिनामा २०–३० वटा अपांगतासम्बन्धी निवेदन आउने गरेको छ । जसमा चिकित्सकको परीक्षणपश्चात् वर्गीकरण अनुसारको परिचयपत्र वितरण गरिने गरिएको छ । राज्यले ‘क’ र ‘ख’ वर्गका लागि सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ, । जुन राहतको विषय हो । तर ‘ग’ र ‘घ’ वर्गका लागि आर्थिक सशक्तीकरण आवश्यक भएकोले सीप विकास तालिममार्फत उद्यमशीलता अभिवृद्धि मात्र विकल्प रहेको छ । सुस्तामा सहयात्री नेपाल नामक संस्थाको सहकार्यमा ‘ग’ र ‘घ’ वर्गका किशोर–किशोरीलाई झोला बनाउने तालिम दिइएको छ ।
जसले २–३ जना किशोरीहरूलाई आत्मनिर्भर बनाएको छ । उनीहरूले अहिले झोला निर्माण गरी बिक्री गर्ने, योग तथा मेडिटेसन अभ्यास गर्ने कार्य गरिरहेका छन् भने सहयात्रीकै माध्यमबाट केहीले रोजगारीसमेत पाएका छन् । अपांगता भएका व्यक्तिहरूले उत्पादन गरेका सामान बजार व्यवस्थापन पनि आफैँ गरेका छन् । तर साबुन, सर्पmजस्ता सामग्री उत्पादनका लागि अब पालिकाकोे समन्वयमा औपचारिक उद्योग नै स्थापना गरिने उपाध्यक्ष चौधरीले बताइन् । ‘ती उत्पादनहरू ‘सुस्ता गापा अपांगता समूह’ले उत्पादन गरेको भनेर प्रचार गरिने छ । यसबाट उपभोक्तामा सम्मान, प्रोत्साहन र सहानुभूतिको भावना जागृत भई उत्पादकहरूलाई आत्मबल मिल्नेछ’, उनले भनिन् ।
प्रतिक्रिया