बैंक घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य मिश्र पक्राउ

काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा पूर्वअध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्र पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले उनलाई बुधबार नेपालगञ्जको धम्बोजी चोकबाट पक्राउ गरेको हो । सीआइबीका प्रवक्ता एसपी युवराज खड्का अनुसार संस्थागत सञ्चालक समेत रहेका मिश्र २०६६ देखि २०७५ सालसम्म सो बैंकको अध्यक्ष थिए ।

बैंकको हिनामिनामा उनको पनि मिलेमतो देखिएपछि पक्राउ गरिएको एसपी खड्काले जानकारी दिए । मिश्र सत्तारुढ नेकपा (एमाले) का केन्द्रीय सदस्य हुन् । २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदको उम्मेदवारमा सिफारिस भएका थिए । स्वतन्त्र राजनीतिक समूहका उनी सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भए । पछि उनी एमाले प्रवेश गरेर केन्द्रीय सदस्य बनेका थिए । एमाले प्रवेश गर्नासाथ उनलाई पार्टीले नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख पदको टिकट दिएको थियो ।

सञ्चालक समेतको मिलेमतोमा सो बैंकमा साढे दुई अर्ब घोटाला भएको थियो । हाल राष्ट्र बैंकको व्यवस्थापनमा सो बैंक सञ्चालन भइरहेको छ । सीआइबीले हिनामिनाका मुख्य योजनाकार रहेका बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायसहित तीन जनालाई पक्राउ गरिसकेको छ ।

सो बैंकको घोटालामा नेपाल राष्ट्र बैंकको सुपरीवक्षेणमाथि पनि प्रश्न उठेको छ । राष्ट्र बैंकले संस्थाको अवस्था राम्रो भनेर प्रतिवेदन बनाएकै अवस्थामा बैंक धरासायी भएको थियो । सिआइबीले सुपरीवेक्षणमा संलग्न राष्ट्र बैंकका अधिकारीमाथि पनि छानविनको तयारी गरेको छ ।

प्रतिक्रिया