काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध अभिव्यक्ति दिएकी नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । अध्यक्ष नेपालविरुद्ध पतञ्जली योगपिठको जग्गा भ्रष्टाचारको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनको सांसद पद पनि निलम्बनमा परेको छ ।
पतञ्जलीको जग्गा प्रकरणमा मुछिएका नेपाललाई विशेष अदालतले ३५ लाख धरौटीमा छाड्न आदेश दिएपछि अध्यक्ष नेपाल छुटेका छन् । सोही विषयमा अभिव्यक्ति दिएपछि तीन दिनभित्र जवाफ पठाउने गरी झाँक्रीलाई स्पष्टीकरण सोधिएको एकीकृत समाजवादीले जनाएको छ ।
यस अगाडि झाँक्रीको अभिव्यक्तिपश्चात पार्टीको आधिकारिक धारणासँग बाझ्ने अभिव्यक्ति नदिन विज्ञप्तिमार्फत निर्देशन जारी गरेको छ । ‘पार्टीको आधिकारिक धारणासँग बाँझ्ने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख्न पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरूको ध्यानाकर्षण गर्दछ, पार्टीमा आफ्ना धारणा राख्ने विधि र स्थानहरू छन् भन्ने कुरामा हेक्का राख्न र कुनै पनि बहानामा सार्वजनिक वाद(प्रतिवादमा नउत्रिनसमेत आग्रह गर्दछ,’ महासचिव भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एकीकृत समाजवादीको सचिवालय बैठक बिहीबार बस्ने सचिव गणेश विकले जानकारी दिए । उनका अनुसार गत शुक्रबार र शनिबार बसेको सचिवालय बैठक बिहीबार निरन्तर बस्ने तय भएको हो ।
पछिल्लो समयमा एकीकृत समाजवादीमा विवाद बढ्दै गएको छ। एसको भ्रातृ संगठन अनेरास्ववियू १६ असारमा विभाजित हुँदै नरेन्द्र न्यौपानेले समानान्तर कमिटी घोषणा गरेर सर्कुलर जारी भएको छ ।
निवर्तमान अध्यक्ष आरती लामालाई पार्टीले केन्द्रीय सदस्य मनोनीत गरेर संगठनको महाधिवेशन नगराएरै अध्यक्षबाट हटाएपछि अध्यक्षमा महेश श्रेष्ठ र म हासचिवमा राजन शर्मा पराजुलीलाई विवाद चलिरहेको थियो । लामाले पार्टीले नसोधी जबर्जस्ती अपानिमार्फत अध्यक्षबाट हटाएको भन्दै बैठकमा आक्रोश पोखेकी थिइन् ।
पार्टी निकट युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै झाँक्रीले अध्यक्ष नेपालका कारण पार्टीमा संकट आएकोले पार्टी पुनर्गठन गरेर जानुपर्ने बताएकी थिइन् ।
पतञ्जली जग्गा भ्रष्टाचारमा विशेष अदालतमा मुद्दा परेपछि नेपालको सांसद् पद निलम्बन भएको र अध्यक्षकै बारेमा संकट आएकाले अर्लि महाधिवेशन गर्नुपर्ने उनको तर्क थियो । पार्टी अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै नेतृ झाँक्रीले अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।
‘पार्टी बनाउने नै हो भने यस्तै संकटहरूबाट हामी उठ्नुपर्छ, पार्टीमा अर्को ठूलो संकट छ, तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ, अध्यक्षकै बारेमा संकट आयो, अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो, संकट आयो भनेर भाग्ने भनेको होइन, पार्टीलाई पुनर्गठन गरौं, कसरी गर्ने रु अर्ली महाधिवेशन गरौँ’, उनले भनिन्, ‘अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ, कहाँ हुन्छ यसरी ? म त भन्छु, अब अर्ली महाधिवेशन गरौँ, कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो, अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ, अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’
प्रतिक्रिया