काठमाडौँ । इटालीको प्रतिष्ठित २९औँ अन्तर्राष्ट्रिय पोलिस अवार्ड आट्र्स फेस्टिभल (आइपिएएएफ) जौन योञ्जन निर्देशित फिल्म ‘आँखा’ ले दुइटा अवार्ड जितेको छ । यस फिल्मले उत्कृष्ट फिल्मसहित उत्कृष्ट अभिनेत्रीको विधामा अवार्ड जितेको हो ।
निर्देशक योन्जनले आयोजकले इमेलसहित इभेन्टका लागि निम्तो दिएको जानकारी दिए । फिल्मकी मुख्य पात्र अभिनेत्री स्मिता लामिछाने उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्दा गौरान्वित भएको बताइन् । ‘यो फिल्मका लागि म र हाम्रो टिमले गरेको कठिन मिहिनेतको परिणाम मिलेको छ,’ उनले भनिन् ।
आइपिएएएफको भव्य फेस्टिभलसहितको अवार्ड कार्यक्रम १४ सेप्टेम्बरमा इटालीको बिर्गामो सहरमा हुँदै छ । यसअघि नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा नेसनल फिल्म प्रतिस्पर्धाको विधामा ‘आँखा’ उत्कृष्ट कथानकसहित ३ विधामा अवार्ड उचालेको थियो ।
गतवर्ष ११ असोजमा रिलिज भए पनि यो फिल्म बाढी पहिरोका कारण व्यापारमा असर परेको थियो । फिल्मका निर्देशक योन्जनको अर्को फिल्म ‘म राजेश हमाल’ रिलिजको तयारीमा छ । उक्त फिल्ममा पनि स्मिताको मुख्य अभिनय छ ।
प्रतिक्रिया