काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स एनसिसी र इन्टरनेसनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग आइआरजिडिडीबीच आर्थिक कूटनीति र लगानी प्रर्वद्धनका लागि सहकार्यको सम्झौता भएको छ । काठमाडौँको जमलस्थित चेम्बर भवनमा मंगलबार आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र आइआरजिडिडीकी अध्यक्ष एवं पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले सहकार्यको सम्झौतामा हस्ताक्षर गरे ।
चेम्बर र आइआरजिडिडीबीच व्यापार तथा लगानी कूटनीति, नीतिगत अनुसन्धान र क्षमता अभिवृद्धि, नेपाली उत्पादनहरूको बजार प्रवद्र्धन र निजी क्षेत्रको संलग्नता लगायतका विषयमा सहकार्य गनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुक तथा विदेशमा रहेका नेपालीहरूलाई समेत समावेश गरेर लगानीको सम्भावना, व्यापार अभिवृद्धि गर्ने विषयमा सहकार्य गरिने सम्झौतामा जनाइएको छ ।
व्यापार, युवा जनशक्ति परिचालन, आर्थिक कूटनीति र लगानी अभिवृद्धिजस्ता क्षेत्रमा चेम्बर र आइआरजिडिडीबीच संयुक्त रूपमा अध्ययन अनुसन्धानसमेत गरिने सम्झौतामा उल्लेख छ । २ संस्थाबीचमा भएको सम्झौताको कार्यान्वयनलाई प्रत्येक ६ महिनामा पुनरवलोकन गरिने चेम्बरले जनाएको छ । विदेशस्थित कूटनीतिक नियोग, राजदूतावास एवं नेपालको निजीक्षेत्रबीच निरन्तर छलफल र सहकार्यमार्फत आर्थिक कूटनीतिलाई बलियो बनाउन आवश्यक रहेकाले आइआरजिडिडीसँग सहकार्यको सम्झौता गरिएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बताए ।
प्रतिक्रिया