गाडी आयात र उत्पादन निर्देशिकामा नाडाको चासो

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी साधन आयात, उत्पादन तथा जडानसम्बन्धी निर्देशिका २०८२ का सन्दर्भमा गरिरहेको तयारीबारे नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले चासो राखेको छ । यस विषयमा जानकारी लिन तथा छलफल गर्न नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डल विभागमै पुगेको थियो ।

नाडाको टोलीले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलसँग भेट गरी अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरूमा विस्तृत छलफल गरेको छ । विभागले गरिरहेको अध्ययन र तयारीको नाडाका अध्यक्ष चौधरीले प्रशंसा गरेका थिए । सो क्रममा अध्यक्ष चौधरीले उक्त प्रस्तावित निर्देशिकामा भएका बुँदाहरूबारे नाडा र विभागबीच विस्तृत छलफल गरी अघि बढ्नुपर्नेमा उनको चासो थियो ।

उक्त छलफलमा उपस्थित नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले उक्त प्रस्तावित निर्देशिकामा उल्लिखित केही बुँदाहरूको विषयमा थप छलफल गरिनुपर्ने आवश्यकता रहेको बताएका थिए । यसबारे सिलसिलेबर छलफल गरी सो निर्देशिकालाई यथार्थ र व्यावहारिक बनाउनुपर्ने उनको भनाइ थियो ।
नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सरकारले गलत कार्य गर्नेहरूलाई दण्डित गर्नुपर्ने र सही कार्य गर्नेहरूलाई पुरस्कृत गर्नुपर्ने धारणा राखेका थिए । यसैक्रममा महासचिव उप्रेतीले नेपालमै ब्याट्री उद्योगहरूको स्थापना भइसकेको जानकारी दिए ।

छलफलमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले सो प्रस्तावित निर्देशिका तयार पार्न संयुक्त राष्ट्र र युरोपेली युनियनले के कस्तो व्यवस्था गरेको छ भन्ने बारेमा समेत अध्ययन गरिएको बताए । महानिर्देशक पोखरेलले यस विषयमा नाडाजस्तो मुख्य सरोकारवालाहरूसँग थप छलफल गरेर नीतिगत स्पष्टता ल्याइने बताउँदै नेपालमा अहिलेसम्म सवारीसाधन आयातसम्बन्धी कुनै स्पष्ट नियम नभएकोले त्यसलाई व्यवस्थित बनाउन निर्देशिकाको तयारी भइरहेको बताएका थिए ।

प्रतिक्रिया