बहुअपांगता भएका तिम्ल्याहाले पाए घरमै नागरिकता

झापा । विर्तामोड नगरपालिका–५ मा बहुअपांगता भएका तिम्ल्याहा दिदीबहिनीले घरमै नागरिकता र अपांगताको प्रमाणपत्र प्राप्त गरेका छन् । नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले उनीहरुलाई घरमै पुगेर अपांगतासम्बन्धी ‘क’ वर्गको रातो कार्ड प्रदान गरिएको बताए ।

तिम्ल्याहा दिदीबहिनी १७ वर्षीया आकृति लिम्बु, इक्सा लिम्बु र इन्तुसा लिम्बुले घरमै उक्त सेवा पाएका हुन् । उनीहरुमध्ये इन्तुसा ओछ्यानबाट आफैँ उठ्नसमेत नसक्ने अवस्थामा रहेकी छन् ।

आमा मनकुमारी शेर्माले आफ्ना चार छोरी रहेको र उनीहरुको आफैँले स्याहार सुसार गरिरहेको बताइन् । ‘एकै पटक तीन सन्तान जन्मिदा खुशीको सीमा थिएन,’ उनले भनिन्, ‘तर के गनु, दुई छोरी उठ्न बस्न सक्छन्, एउटी सधैँभरी ओछ्यानमै हुन्छिन् ।’

रातो कार्ड कार्ड प्राप्त गरेसँगै उनीहरुले सरकारले प्रदान गर्दै आएको ‘क’ वर्गको अपांगता भत्तासमेत पाउने नगरउपप्रमुख सङ्ग्रौलाले बताए । उनले तीनै जनाको उपचारसमेतमा सहयोग गर्ने बताए ।

प्रतिक्रिया