नेपालको पर्यटन विकासका लागि हवाई यातायात

नेपालमा पूर्णरूपले व्यवस्थित रहेको अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्त आवश्यक भइसकेको छ । यस कुरामा कसैमा विवाद नरहे तापनि त्रिशूली, बनेपा, भक्तपुर, सिमरा, भरतपुरजस्ता स्थानमा चौथौ विमानस्थल बन्नुपर्दछ ।

हरिगोपाल प्रधान

नेपालको अधिकांश भूभाग पहाड र पर्वतले भरिएको छ । त्यसैले यहाँ उड्डयनको विशेष महत्व छ । नेपालमा हाल ६० वटा विमानस्थलहरू छन् र तीमध्ये २५ वटा विमानस्थलको कालोपत्र भइरहेको छ र ३५ वटा कच्ची विमानस्थलहरू छन् । जसमध्ये राती पनि ८ वटा एयरपोर्टमा उडान गर्न सक्ने भएका छन्, ती सबै विमानस्थलहरूलाई संरक्षण गरेर समुचित ढंगले उपयोग गर्ने हो भने त्यसले नेपालको पर्यटन क्षेत्रलाई धेरै फाइदा पुर्याउने छ । आगामी दिनहरूमा नेपालमा विदेशी पर्यटकहरूको संख्या बढ्ने कुरा निश्चितप्रायः भएकाले विमानस्थलहरूलाई जुनसुकै समयमा पनि प्रयोग गर्न सकिने स्थितिमा राखिरहनु आवश्यक छ ।

भैरहवा र पोखरा विमानस्थलहरूलाई विमानस्थलका रूपमा कार्यलाई जतिसक्दो छिटो सीमित वायुसेवा मात्र नभई अन्य वायुसेवाहरूलाई पनि उडानको व्यवस्था गरिनु अति आवश्यक छ । त्यसबाहेक नेपालमा पूर्णरूपले व्यवस्थित रहेको अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्त आवश्यक भइसकेको छ । यस कुरामा कसैमा विवाद नरहे तापनि त्रिशूली, बनेपा, भक्तपुर, सिमरा, भरतपुरजस्ता स्थानमा चौथौ विमानस्थल बन्नुपर्दछ ।

अर्कातिर नेपाल वायुसेवा निगमले पर्यटकहरूको कमी हुने जुनसुकै मुलुकसँग द्विपक्षीय हवाई–सम्झौता गर्नुको सट्टा पर्यटकहरू बढी हुने मुलुकहरूसँग बढी सम्बन्ध विस्तार गर्ने हो भने ४२ वटा मुलुकको सट्टा त्योभन्दा कम मुलुकसँग भएको द्विपक्षीय हवाई–सम्झौताले पनि नेपालको पर्यटन–व्यवसायलाई ठुलो टेवा पुग्नेछ । नेपालका बारेमा समाचारहरू सम्प्रेषण गर्दा नवीन पद्धतिअनुरूप आकर्षक रूपबाट विदेशीहरूलाई समाचार–सम्प्रेषण गर्नु आवश्यक छ । विदेशमा रहेका निगमका कार्यालयहरूको व्यवस्थापन र अन्य पक्षमा कुनै कमजोरी रहेका छन् भने तिनलाई सुधार गरेर ती कार्यालयहरू मार्फत निगम र नेपालका विषयमा उचित र जानकारीमूलक समाचारहरू सम्प्रेषण प्रचारप्रसार गर्न सकिन्छ ।

ती कार्यालयहरूको प्रभावकारी भूमिकाबाट पनि नेपालले प्रशस्त वैदेशिक मुद्रा आर्जन गर्ने सम्भावना रहन्छ । सरकारले पर्यटन–उद्योगलाई मुलुकमा अन्य उद्योगहरूसरह प्रेरणा, न्यायिक सुरक्षा र सुविधा उपलब्ध गराई पूर्ण मान्यता दिनुपर्छ एवं निजी क्षेत्रसँगको कार्यगत सम्बन्ध सुदृढ बनाउँदै सरकारले मुलुकमा सर्वसाधारण जनता, उद्योग एवं पर्यटनक्षेत्रमा शान्तिसुरक्षाको प्रत्याभूति दिनुपर्छ । पर्यटनसँग सम्बद्ध व्यावसायिक सेवालाई प्रस्ट रूपले परिभाषित गरी एकअर्काको क्षेत्रमा अनधिकार रूपमा गर्ने गरेका व्यावसायिक क्रियाकलापहरूको अविलम्ब अन्त्य गराउनेतर्फ पनि सरकारले संवेदनशील हुनु आवश्यक छ ।

नेपालभित्र रहेका गन्तव्यस्थलहरूमध्ये सम्बन्धित व्यवसायीहरूबाट समुचित सम्भाव्यता अध्ययन गराई नयाँ गन्तव्यस्थलहरूको प्रतिवेदन तयार पारी तिनलाई प्रचार–प्रसार गराउने हो भने त्यसले पनि धेरै फाइदा पुर्याउनेछ । पर्यटन–प्रवद्र्धन गर्दा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यलाई मात्र होइन, क्षेत्रीय प्रतिस्पर्धालाई पनि ध्यान दिँदै तदनुरूपको नीतिनिर्माण गर्नुका साथै अन्य सम्भावित मुलुकहरूमा बजार–प्रवद्र्धन गर्नुपर्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक स्वरूप एवं सुविधाको विकासका लागि अविलम्ब उपयुक्त कदमहरू चालिनुपर्छ र खुला आकाशनीतिलाई कागजमा मात्र सीमित नराखी नियमित उडानहरूलाई प्राथमिकता दिई थप सुविधा र सहुलियत प्रदान गरिनुपर्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले (हाल पार्किङ गरेर राखेको स्थान) पूर्वतर्फको खाली जग्गालाई आन्तरिक उडान गर्न सानातिना जहाजलाई उडान गर्न सक्ने गरी व्यवस्थित गर्न सकिन्छ । गुहेश्वरीतर्फ हाल पार्किङ गरी राखेका जहाजहरू राख्न सकिन्छ र नेपाल आयल निगमको तेल भण्डारलाई तिनकुनेतर्फ सार्न सकिन्छ भने दक्षिणतर्फको हालको एयरपोर्टलाई लम्बाइतर्फ गरी ११ वटा विमान पार्किङ क्षेत्रबाट १५ देखि २० वटासम्म विमान व्यवस्थित तवरले राख्न सकिन्छ । तसर्थ प्राधिकरणले यसतर्फ पनि तत्कालीन ध्यान पु¥याउनु आवश्यक छ साथै हाल सञ्चालन हुँदै आएको धावन मार्गलाई लम्ब्याउन पनि अति अवाश्यकता भइसकेको छ । नेपाल सरकारले सक्दो चाँडै तीनकुनेबाट जडीबुटीसम्म अन्डरग्राउन्ड भूमि मार्ग तयार गर्नका लागि सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले र सडक विभागले पहल गर्नु अति आवश्यक भइसकेको छ ।

आन्तरिक हवाई–उडानमा यात्रुहरूको सुरक्षाको सक्दो चाँदो प्रत्याभूति दिनुका साथै निजी क्षेत्रबाट सञ्चालन हुने हवाई–कम्पनीहरूलाई थप इजाजत दिनेतर्फ नियन्त्रण गर्ने र सरकारमा दर्ता नगरी अनधिकृत रूपले चलाइएका हवाई–कम्पनीहरूलाई कडा कारबाही गरिने र प्राधिकरणमा उडान र पार्किङ क्षेत्र अनुमति लिई र पार्किङ गर्नुपर्ने स्थानमा पार्किङ नगर्ने र उडान पनि नगरी निजी क्षेत्रका हवाई कम्पनीले कार्य गर्दै आइरहेको हुनाले काठमाडौँ विमानस्थलमा पार्किङको चाप हुँदै गइरहेको छ त्यसकारण त्यस्ता निजी कम्पनीलाई जे जस्तो अनुमति लिएको छ सोहीअनुसार कार्य गर्न लगाउनु प्राधिकरणको व्यवस्था हुनु जरुरी छ ।

आन्तरिक उडानसेवाहरूबीचको अस्वस्थकर प्रतिस्पर्धा हट्न जानेछ । तर, यसका लागि समयानुकूल, दिगो र दीर्घकालीन परिप्रेक्ष्यमा राष्ट्रिय पर्यटननीति बनाउनु अपेक्षित छ । निजी क्षेत्रका पर्यटनसँग सम्बन्धित संघ–संस्थाहरूको समानुपातिक प्रतिनिधित्वका आधारमा उच्चस्तरीय अधिकारसम्पन्न र नेपाल पर्यटन बोर्डसँग त्यसले सामन्जस्य राखी काम गर्नु पनि आवश्यक छ । सरकारले सबैको सहमति र सामन्जस्यमा राष्ट्रिय पर्यटननीति बनाई त्यसलाई कडाइका साथ लागू गर्ने हो भने नेपालमा पर्यटनक्षेत्रको विकास नहुने कुरै छैन ।

अहिले परिस्थिति केही सङ्लो भएकोले अब पर्यटकहरूको संख्यामा उल्लेख्य रूपमा वृद्धि हुने आशा सबैमा पलाएको छ । नेपाल वायुसेवा निगमले ७ वर्षअघिदेखि दोहा उडान थालेको छ । युरोप र अमेरिकाका पर्यटकहरू नेपाल आउन सजिलो भएको छ । अन्य देश भएर नेपालमा आउने पर्यटकहरूलाई सबैभन्दा महँगो भाडादर पर्न आए तापनि पर्यटन आगमनमा वृद्धि हुने आशा पलाउनु पनि स्वभाविकै हो । खाडी राष्ट्रहरूमा काम गरिरहेका करिब १० लाख नेपाली मजदुरहरूको आवतजावतमा पनि यो उडानले सुविधा पुर्याएको छ । दुबई, दोहा, दमामसँग सिधा हवाई सम्पर्क भइरहेको कारणले गर्दा विदेशी पर्यटकहरूले भारत हुँदै नेपाल आउनुपर्ने बाध्यता पनि हट्न गएको छ ।

विश्वको हवाई यातायातको विकासको क्रमसँगसँगै हवाईयात्राको लागत कम गर्ने पद्धतितिर पनि ध्यान दिन थालिएको छ । आगामी दिनहरूमा हवाईसेवा र पर्यटनमा अरू चाप थपिई चर्को प्रतिस्पर्धा हुने स्थिति भएकोले लागत कम गर्नेतर्फ ध्यान जान थाल्नु स्वभाविक पनि हो ।

अस्वस्थ प्रतिस्पर्धाले गर्दा हवाईसेवाकै क्षमता घटाएको अनुभव पनि गर्नुपरेको छ । लागतको तुलनामा गुणस्तरीय सेवा घट्तै गइरहेको अनुभव पनि हुन थालेको छ । आन्तरिक सेवा–अपरेटरहरूले गठबन्धनतर्फ ध्यान नपुर्याएकाले यो समस्या खडा भएको भनाइ सम्बन्धित विज्ञहरू व्यक्त गर्न थालेका छन् । युक्तिसंगत र रामो वित्तीय नीति लिएर द्वेष र दम्भलाई हटाउने हो भने तथा अनियमितताले कुनै अस्तव्यस्तता नल्याओस् भन्ने हेतुले सम्बन्धित सरकारहरूले आकाशमा नियम लगाउने हो भने यो समस्याबाट मुक्ति पाउन सकिन्छ भन्ने खालका सुझावहरू सम्बन्धित सरकारहरूलाई दिन थालिएको पनि छ ।

नेपालको पर्यटन–व्यवसायलाई अग्रगति दिनका लागि नेपाल वायुसेवा निगम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, निजीस्तरका हवाई–कम्पनीहरू तथा विभिन्न ट्राभल एजेन्सी, यातायात व्यवसायी र होटलहरूको महत्वपूर्ण भूमिका रहेको कुरामा कुनै शंका छैन । अन्य विभिन्न संघ–संस्थाहरूको पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सम्बन्ध रहेको छ । तर सम्बन्धित सम्पूर्ण निकायहरूका बीचमा आवश्यक समन्वय र सामन्जस्य हुन नसक्ता त्यसले पर्यटन–व्यवसायलाई असर पारेको छ र अस्वस्थ प्रतिस्पर्धाको कारणले आफ्नो लक्ष्यप्राप्तिका लागि कठिनाइ भइरहेको छ ।

सरकारी नीतिनिर्धारण गर्नेहरू, चालकदल, हवाई–कम्पनीमा काम गर्ने कर्मचारीहरू, हवाई–कम्पनीका मालिकहरू, सरकारी निगमको व्यवस्थापन पक्षसँग सम्बन्धित व्यक्तिहरू र उड्डयनसँग सम्बन्धित व्यक्तिहरूका दृष्टिकोणहरूमा समन्वय र सामन्जस्य ल्याउन नसकेसम्म (ट्रेकिङ एजेन्सी, नेपाल पर्वतारोहण संघ, होटल एसोसिएटसहरूको, बीचको असामान्यजस्यता जस्तै) र राष्ट्रिय हितमा ती सबैलाई प्रयोग गर्न नसकेसम्म आन्तरिक र बाह्य दुवै पर्यटनको एवं पर्यटन–व्यवसायको समेत भविष्य उज्ज्वल बनाउन अत्यन्त कठिन पर्ने कुरामा कुनै विवाद हुन सक्दैन ।

प्रतिक्रिया