केशरजंग रायमाझी, डिपी अधिकारी, मोदनाथ प्रश्रित, आरके मैनाली लगायतका नेताहरूले कुनै कालखण्डमा कम्युनिस्ट आन्दोलनमा पु¥याएको योगदानलाई बिर्सिन नसकिएला तर सामान्य बाटो बिराउँदा आफ्नो उपादेयता गुमाएका हुन् भन्ने कुरा पनि उत्तिकै सही हो । त्यसकारण जनताको मनमा बसिरहन र जनताबाट सम्मान पाइरहन जनताको नजरबाट खस्नु हुँदैन ।
राजनीतिमा लागेका पुराना धेरैजसो नेताहरूलाई कहिल्यै नभेटका, नदेखेका जनताले पनि नाम भनेपछि ठ्याक्कै चिन्छन् । जस्तो पुष्पलाल, निर्मल लामा, मदन भण्डारी, मोहनविक्रम सिंह, नारायणमान बिजुक्क्षे, मोहनचन्द्र अधिकारी आदि नेताहरूको नाम भनेपछि धेरैले चिन्छन् । तर त्यही कुरा उद्योग व्यापारमा लागेका मानिसहरूमा लागू हुँदैन । धेरैलाई को ब्यापारी हो र को उद्योगी हो भन्ने कुरा थाहा पनि हुन्न ।
यस्तो हुनुको कारण छ । राजनीति भनेको व्यक्तिद्वारा देश र जनताप्रति गरिने त्याग हो, समर्पण हो, सेवा हो, योगदान हो र बलिदान हो । उनीहरूले सामाजिक न्यायको निम्ति, शोषण र दमनको, बराबरीको, विकास र उन्नतिको र जनताको समग्र हितको निम्ति लड्छन् । संघर्षको, क्रान्तिको नेतृत्व गर्छन् । आन्दोलन, संघर्ष र क्रान्ति गर्ने दौरानमा पुलिसको लाठी खान्छन्, जेल पर्छन्, यातना खान्छन्, र कतिपयको त ज्यानसमेत जाने गर्छ । तैपनि रत्तिभर नडराइकन, सारा जोखिम लिएर, समर्पित भएर राजनीतिमा लागेका हुन्छन् ।
बुझिने गरी कुरा गर्दा जनताको मुक्ति नै उनीहरूको एक मात्र लक्ष्य रहेको हुन्छ । देश र जनतालाई उनीहरूले दिने यस्तै यस्तै योगदानको कारणले नै हो आँखाले नदेखिका, कहिल्यै नभेटेका व्यक्तिलाई पनि नाम भनेपछि जनताले चिन्छन्, उनीहरूलाई आदर गर्छन्, उनीहरूप्रति भरोसा गर्छन् । तर यही कुरा उद्योगी ब्यापारीहरूमा लागू हुन्न किनभने उनीहरूको सरोकार व्यक्तिगत नाफासँग रहेको हुन्छ, जनताको हित–अहितसँग कुनै सरोकार नै हुँदैन । त्यसकारण जनतासित जोडिने कुरा धेरै महत्वपूर्ण कुरा हो ।
झापामा टाउको काटेको अभियोगमा जेल परेका भनिएका मानिसहरूलाई नेपाली जनताले योद्धा, क्रान्तिकारी नेता भनेर मान्छन्, आदर–सम्मान गर्छन् । किनभने त्यो घटना जनताको मुक्तिसँग जोडिएको थियो । जनता त्यसलाई हत्यासित जोड्न चाहन्नन् । त्यसकारणले त्यो घटनालाई जनताले माफी दिए । योगेश भट्टराईले संसद्को रोस्टममा उभिएर भनेजस्तो पार्टीले त्यसप्रति आत्मालोचना गरेको कारणले जनताले माफ गरेका होइनन् । हत्याजस्तो जघन्य अपराध माफी मागेर वा आत्मालोचना गरेर उन्मुक्ति पाइने कुरा पनि हुँदैन । झापा विद्रोह हिंसात्मक विद्रोह नै भएता पनि त्यो जनताको मुक्तिसित जोडिन सकेकोले क्रान्तिको हिस्सा बन्न गएजस्तै माओवादी जनयुद्ध हिंसात्मक हुँदाहुँदै पनि जनताको मुक्तिसित जोडिएको हुनाले त्यो क्रान्तिकै हिस्सा बनेको हो र त्यसलाई जनताले स्वीकारेका हुन् । अन्यथा माओवादीहरूको निम्ति यस्तो सहज वातावरणमा उपलब्ध हुने नै थिएन, उहिले नै पोलपोट बनाइसकेका हुन्थे ।
अहिले पार्टी र केन्द्रीय सत्ताको शीर्षमा रहेका नेताहरू कुनैबेला नेपाली जनताका आदर्श–पात्र थिए । त्यसकारण उनीहरूको एक आह्वानमा लाखौँ जनता सडकमा आउँथे, मर्न–मार्न तयार हुन्थे । प्रचण्डको नेतृत्वमा १७ हजारले आफ्नो प्राणको आहुति दिएको सत्य हो । जमिनबाट सत्तामा पुगेको ४ दशक पनि भएको छैन, जनताले आफ्नो आदर्श व्यक्ति मान्न छोडे । अब ‘फलानो चोर देश छोड’ जस्ता नाराहरू लगाउन थालेका छन् । कस्तो दिन आयो भने जसलाई आफ्नो आदर्श मानियो, जीवनको यो उत्तरार्धमा आइपुग्दा तिनैलाई भिलेन भन्न अभिशप्त छौँ ।
आफूले आदर्श मानेको मानिसहरूको व्यक्तित्वमा आएको यो स्तरको स्खलन देख्दा धेरै पीडा हुन्छ । केसम्म गरिएन ? विरोधीहरूले धाँधली गर्न सक्छन्, मत गणनामा धाँधली गर्न सक्छन् र हाम्रा नेताहरू हार्लान् भनेर समूह बनाएर मतदान केन्द्रमा, मतगणना स्थलमा गएर दिनभरि–रातभरी बसेको सम्झिँदा अहिले पछुतो लाग्छ, कस्तो आफ्नै रगत–पसिना चुस्नेहरूका लागि दुःख गरिएछ भनेर । कतिपय कुराहरूमा खासै वास्ता राखिन्न ।
कुरै कुरामा १ जना कर्मचारी मित्रले बडो घतलाग्दो कुरा गर्नुभयो, ‘देशको प्रधानमन्त्रीलाई दिनदिनै, लगाताररूपमा गाली गरेको सुनिन्छ र हामी पनि ठिक ग¥यो भन्दै त्यसमा सही थाप्छौँ । देशको प्रधानमन्त्री स्वयं पनि गालीगलौजमा सामेल भएको सुनिन्छ । तर, हामीले प्रधानमन्त्रीको समर्थन गर्न सक्दैनौँ बरु यस्तो बोल्ने भनेर प्रधानमन्त्रीको आलोचना र विरोध गर्दछौँ ।’ यस्तो परिस्थिति बन्नु राम्रो होइन भन्नुभयो । उहाँको भनाइ सुनेर मलाई पनि हो त नि है भन्ने अनुभूति भयो । किन जनताले देशका सबैभन्दा ठुलाठुला मान्छेहरूलाई तथानाम गाली गर्न सुरु गरे त ? के उनीहरूले हत्या र हिंसाको राजनीति सुरु गरेकोले हो त ? जनताको खसीबोका खाइदिएको कारणले हो त भनेर भन्दा यस्तो त होइन । गाली किन गर्न सुरु गरे भने नेतृत्व वर्गले आफैँलाई समेत झुक्याएर आफ्नो वर्ग परिवर्तन गरे, आफ्नै वर्गलाई धोका दिए, जसको विरुद्धमा लडेका थिए तिनै दलाल पुँजीपति वर्गसित मिल्न गए, त्यसकारणले सुरु गरे ।
जनता र नेताको बीचको सम्बन्ध भनेको साँध–संधियार, कुलो–पानी वा भैँसी किनबेचको सम्बन्ध त होइन । यो सम्बन्ध भनेको आपसी विश्वास र समझदारीमा बनेको सम्बन्ध हो, माछा र पानीको बीचको जस्तो सम्बन्ध हो । तिमी मलाई अलिकति रगत देऊ, म तिमीलाई प्राण दिन्छु भन्ने किसिमको उच्चकोटीको सम्बन्ध हो र यो कन्ट्रयाक्ट जस्तो पनि हो । जनतासितको सम्बन्धलाई बलियो र दिगो बनाउन के काम भयो त ? जनताको जीवनस्तरमा सुधार ल्याउने उल्लेख्य काम के भयो त ? जनताले तिमीहरूले आफ्नो लागि काम गर्न भनेर साथ दिएका थिए कि जनताका लागि काम गर्न भनेर साथ दिएका थिए ? यो नेतृत्वले विगतमा देश र समाजलाई पु¥याएको योगदानको मूल्यांकन त इतिहासले अवस्य गर्ला नै र साथसाथै आजको चर्तिकलाको पनि मूल्यांकन त होला नि, होइन र ?
केशरजंग रायमाझी, डिपी अधिकारी, मोदनाथ प्रश्रित, आरके मैनाली लगायतका नेताहरूले कुनै कालखण्डमा कम्युनिस्ट आन्दोलनमा पु¥याएको योगदानलाई बिर्सिन नसकिएला तर सामान्य बाटो बिराउँदा आफ्नो उपादेयता गुमाएका हुन् भन्नेकुरा पनि उत्तिकै सही हो नि । त्यसकारण जनताको मनमा बसिरहन र जनताबाट सम्मान पाइरहन जनताको नजरबाट खस्नु हुँदैन ।
कम्युनिस्ट (कमाउनिस्टै पार्टीको नेतृत्वको शरीरबाट निस्किरहेका सामाजिक आर्थिक तथा राजनीतिक गन्धहरू नाकप्रिय छैनन्, डुंग गनाउँछन् । बोलीहरू कर्णप्रिय लाग्दैनन्, कर्कस–ध्वनि सुनिन्छन् । किनभने त्यहाँ नैतिकता, इमानदारी र विश्वनीयताको कमि मात्रै होइन कि खडेरी नै छ । जनताले भोगिरहेका समस्याको बारेमा कहीँकतै चर्चा, परिचर्चा गरेको सुनिन्न । महँगी लगातार बढिरहेको छ । रोगजारी सिर्जना हुन सकिरहेको छैन । जतिसुकै होहल्ला गरे पनि बाटो, पुलहरू उस्तै जोखिमपूर्ण छन् । यातायातको क्षेत्रमा अराजकता (सिन्डिगेट) उस्तै छ । भ्रष्टाचार कसरी भइरहेको छ भन्ने कुराको त बयान गरी साध्य छैन ।
तलदेखि माथिसम्म नेतृत्व (राजनीतिक–प्रशासनिक)मा रहेकाहरूको भ्रष्टाचारमा संलग्न भएका खबरहरू, अख्तियारले मुद्दा दायर गरेका खबरहरू दैनिकैजसो छापाहरूमा आइरहेका छन् र ती खबरहरू आङ नै सिरिङ पार्ने खालका छन् । जनताले कसरी बाँच्ने, के गरेर खाने, बालबच्चालाई कसरी पढाउने, उपचार कसरी गराउने ? कुनै चिन्ता देखिन्न । आफूहरूले भने राज्यको पैसामा उपचार गराउने, आफ्ना छोराछोरीहरूलाई छात्रवृत्तिमा पढाउने, इच्छाभोजन गर्ने तर जनताप्रतिको दायित्वलाई भने बिर्सिने गरेपछि जनताले सम्मान गर्छन् कि गाली र तिरस्कार गर्छन् ? किसानले, मजदुरले, गरिबले, शोषित र उत्पीडित जनताले आफ्नो दुःख बिसाउने ठाउँ कहाँ छ ?
जनताप्रति उपेक्षाभाव राख्ने जोकोहीलाई पनि जनताले कारबाही गरेरै छाड्छन् । तिकडम नगरी चुनाव जित्न कसैले सक्ने अवस्था छैन । समय ढिलोचाँडोको कुरा हो । इतिहासले पनि यही भन्छ । अहिले धेरैलाई आफ्नो निर्वाचन क्षेत्रमा जानसक्ने सहज वातावरण देखिन्न । प्रधानमन्त्री स्वयं पनि ठुलो सुरक्षाको घेरामा हिँड्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुँदै गइरहेको प्रतीत हुन्छ ।
केपी बा भनेपछि, प्रचण्ड भनेपछि जमिन र आकास एकैपार्न कस्सिने युवाहरूले ‘मुर्दावाद’ र ‘देश छोड’को नारा लगाउन थालेका छन् । जतिसुकै बलियो सुरक्षाको घेरामा हिँडे पनि, बुलेटप्रुफ गाडीमा हिँडे पनि, मार्सी चामलकै भुजा ज्युनार गरे पनि अन्ततः जाने भनेको त जनतामै हो । जनताको विश्वास जितेर मात्रै पुनः सत्तामा फर्किन सकिन्छ । माटाको कच्ची घरको फुसको छानो चुहिएको किसानलाई के भनेर जबाफ दिने ? चौराहामा काम कुरेर बसिरहेको मजदुरलाई के भनेर जबाफ दिने ? फिस तिर्न नसकेर कलेज छोड्न बाध्य भएको युवालाई के भनेर जबाफ दिने ? सुत्केरी हुन स्वास्थ्य केन्द्र नभएर मृत्युवरण गरेकी महिलाको श्रीमान्लाई के भनेर जबाफ दिने ? अरबको तातो घाम खान हिँडेका गरिब युवाहरूसित किन ५० हजार लुटेको भनेर भन्दा के भनेर जबाफ दिने ?
हो, यिनै कुराहरूले हो जनताको मनबाट खसेको, जनताले तिरस्कार गर्न सुरु गरेको र जनताले गाली गर्न सुरु गरेको । ‘जो जिता वही सिकन्दर’ भन्ने जमाना उहिल्यै सकिएको हो । के यी कुराहरूप्रति ओली, प्रचण्ड, माधव, विष्णु पौडेल, वर्षमानहरू अनभिज्ञ छन् ? उनीहरूलाई यी कुराहरूको बारेमा कुनै जानकारी नै छैन त ? छ, तर उनीहरू पेटी स्वार्थमा बाँधिन पुगेका छन् । बिचौलियाहरूलाई अघि सारेर राज्यदोहनमा लागेका छन् । परिवार र आफन्तहरूलाई अघि बढाउन लागेका छन् । क–कसको श्रीवृद्धि हुन् बाँकी छ र अब ? ककसका परिवार र आफन्तहरू सेट हुन बाँकी छन् अब ? कसका मान्छे (परिवार) हरूले आममान्छेको जसरी दैनिक गुजारा चलाउनु परेको छ अहिले ? यसरी जनताबाट टाढिने, जनतासित नजोडिने जो कसैले पनि जनताको समर्थन र सम्मान अनि भोट पाउन सम्भव छैन, ८४ को आशा नगरे हुन्छ ।
आममानिसलाई आफ्नो र परिवारको जिन्दगीको चिन्ता हुन्छ, इतिहासप्रति चिन्ता र सरोकार हुँदैन । तर, राजनीतिकर्मीहरूको निम्ति इतिहास धेरै महत्वपूर्ण हुन्छ । देउवालाई धेरैपटक प्रधानमन्त्री बनेको इतिहास बनाउनेबाहेक अरू चिन्ता होला भन्ने लाग्दैन । ओली, प्रचण्ड, माधव, झलनाथ, विप्लव वा बाबुरामहरूले आफूहरूलाई इतिहासले कसरी सम्झना गरे हुन्थ्यो भन्ने ठानेका होलान् ? के यिनीहरूको चाहना पनि देउवाकै जस्तो हो त ? सत्य के हो भने जनताले आफ्नो निम्ति उत्तम नेतृत्व खोजेरै छाड्छन् । यो इतिहासको नियम पनि हो ।
प्रतिक्रिया