असारमा कामको व्यस्तताले अरू खानेकुरा जोहो गर्ने समय हुँदैन र पकाइवरी गर्न नपर्ने र सरल रूपमा सबैका घरघरमा उपलब्ध हुने भएकाले असार १५ मा दहीचिउरा खाने थिति नै बसेको हो भन्ने पनि गरिन्छ । पहिला–पहिला सबैसँग आजभोलिजस्तो माछा, मासु लगायतका पौष्टिक आहार खाने क्षमता थिएन । रोपाइँले थाकेका किसानलाई माछा–मासु पकाएर बस्ने फुर्सद पनि हुँदैन थियो ।
प्रायःजसो सबै किसानका घरमा गाईभैँसी पालिएको हुन्थ्यो । गाईभैँसीले दिने दूधले गर्दा घरघरमा दही, मही र घ्यू खाली हुँदैन थियो । त्यस्तै खेती किसानी गर्ने भएकाले चिउरा पनि घरमै हुने भइहाल्यो । त्यसैले घरमै रहेको दहीचिउरालाई महत्व दिएर असारमा रोपाइँ सकिएको खुसीयालीमा भोज गर्ने प्रचलन रहेको संस्कृतिकर्मीहरूले भन्ने गरेका छन् ।
दहीचिउरा पौष्टिक आहार पनि भयो । धेरै समय लाग्ने गरी दहीचिउरा अरू खानेकुरा जसरी पकाइरहन पनि पर्दैन । त्यसैले यसको प्रयोगले महत्व पाएको हो । यसै प्रयोगले आज संस्कृति र पर्वको रूप लिएको मात्र हो भन्नेहरू पनि धेरै छन् । कृषिमा परनिर्भरता बढेसँगै १५ असारको महत्व खल्लो हुने क्रम बढेको छ ।
असार १५ कृषिमा नेपालीहरूको आत्मनिर्भरताको प्रमाण पनि हो । पहिले दही र चिउरा घरमै हुन्थ्यो तर अहिले दही र चिउरा दुवै किन्नुपर्छ । अहिले कमैका घरमा गाईभैँसी छन् । गाईभैँसी नपालेपछि घरघरमा दही बन्ने कुरा भएन । तर बजारबाट किनेर भए पनि असार १५ मा भने दहीचिउरा खाने प्रचलनमा कमी भने आएको छैन ।
विवाह, व्रतबन्ध, सभा समारोहपछि सबैभन्दा बढी दही प्रयोग हुने दिन भनेकै असार १५ हो । दही बनाउने पेसा पनि मौसमी व्यवसाय हो । विशेषगरी माघ र फागुन महिना दही उपभोग हुने खास महिना हुन् । अरू समय भनेको चाडबाड, विवाह, व्रतबन्ध तथा सभा सम्मेलन नै हो । त्यस्तै गर्मी याममा पनि दहीको उपभोग अघिपछिभन्दा बढी नै हुन्छ ।
तर, बजारमा आजभोलि दूध अभाव भएपछि दही बनाउन अलि कठिन हुन थालेको छ । दूध आवश्यक मात्रामा नआउँदा अहिले दही धेरै जमाउन पाइँदैन र १५ गतेलाई कसरी पु¥याउन सकिन्छ भन्ने कुरामा हामी लाग्न पर्छ । १५ गते दिउँसोदेखि नै दहीको अभाव हुन थाल्छ ।
भक्तपुर नगरभित्र करिब १५० घरपरिवारले परम्परागत रूपमा मौलिक जु जु धौ बनाउँछन् । उनीहरूले वार्षिक १ हजार ५०० मेट्रिक टन दही बनाउँछन् । दही भक्तपुरको मौलिक उत्पादन हो । भक्तपुरमा बन्ने विशेष प्रकारको दहीलाई जुजु धौ (राजादही) भन्ने प्रचलन पनि रहँदै आएको छ ।
दही बनाउने पेसा आफैँमा स्वतन्त्र र आत्मनिर्भर व्यवसाय भने होइन । यो पशुपालनमा आधारित व्यवसाय हो । त्यसमा पनि गाईको दूधबाट राम्रो दही बन्दैन । त्यसैले भैँसीको दुध आवश्यक पर्छ । सहरीकरण र फेरिएको जीवनशैलीले नेपाली समाजमा पशुपालन गर्ने क्रमशः घट्दै आएको छ । यसले गर्दा पनि पहिले पहिलेको जस्तो स्वादमा दही पाउन कठिन हुने गरेको छ ।
नेपालमा असार १५ मा अरू दिनभन्दा झन्डै ५ गुना बढी दही खपत हुन्छ । यो दिन हाम्रो देशमा करिब ६०–७० हजार लिटर दही खपत हुन्छ । आर्थिक रूपले हेर्ने हो भने असार १५ गते दहीको मात्र कारोबार करिब ८०–९० करोडको हुने देखिन्छ ।
यस दिन आमउपभोक्ताले दही नपाइएला भनेर अघिल्लो दिनदेखि नै घरमा दही लाने गरेको देखिन्छ । असार १५ गते दिउँसोदेखि नै प्रायः डेरीहरूमा दही पाउन गाह्रो छ । असार १५ को महत्व कति छ भन्ने कुरा सबै कुराहरू हेर्दा पनि प्रष्ट देखिन्छ ।
प्रल्हाद दाहाल
प्रतिक्रिया