‘मैसा’मा रश्मिकाको उपस्थिति

नयाँ दिल्ली । भारतीय अभिनेत्री रश्मिका मन्दना केही समयदेखि एकपछि अर्को हिट फिल्म दिइरहेकी छिन् । ‘पुष्पा’, ‘एनिमल’, ‘पुष्पा–२’ र ‘छावा’ पछि नयाँ फिल्ममा देखिन लागेकी हुन् । रश्मिकाको मुख्य भूमिकामा फिल्म ‘मैसा’ को घोषणा गरिएको छ । एक पोस्टर सार्वजनिक गर्दै फिल्म घोषणासँगै उनको पहिलो लुक सार्वजनिक गरिएको छ ।

सार्वजनिक पोस्टरमा रश्मिकालाई योद्धा अवतारमा देख्न सकिन्छ । रश्मिकाको आँखामा क्रोध, हातमा रगतले भिजेको हतियारसहित उनी बलियो देखिन्छिन् । यस पोस्टरमा योद्धा अवतारसँगै रातो साडी र चाँदीको गहनामा उनको परम्परागत स्पर्श पनि देखिन्छ ।

पोस्टर सेयर गर्दै रश्मिका लेख्छिन्, ‘म सधैँ तपाईंलाई केही नयाँ, केही फरक, केही रोमाञ्चक दिने प्रयास गर्छु र यो ती मध्ये यो एक हो । मैले पहिले कहिल्यै नखेलेको पात्र, मैले कहिल्यै नगएको संसार र मैले पहिले कहिल्यै नभेटेको मेरो पक्ष उग्र छ । यो तीव्र छ र यो एकदमै नयाँ छ ।’

यस फिल्ममा काम गर्न उत्साहिकसहित नर्भस रहेको उनको भनाइ छ । यो फिल्म हिन्दी, तमिल, कन्नड, तेलुगु र मलयालम भाषामा रिलिज हुनेछ । फिल्मको रिलिज मिति अझै घोषणा गरिएको छैन । रविन्द्र पुलेले निर्देशन गर्ने फिल्मलाई अजय र अनिल सय्यपुरेड्डीले निर्माण गर्नेछन् ।

प्रतिक्रिया