काठमाडौँ । ‘लास्ट आवर’मा काम देखाउने प्रवृत्ति नेपालमा नौलो होइन । विनियोजित बजेट ‘फ्रिज’ हुन नदिन आर्थिक वर्षको अन्तिम महिना असारमा अन्धाधुन्ध खर्च गर्ने परिपाटीले यस वर्ष पनि निरन्तरता पाएको छ ।
हरेक वर्ष महालेखापरीक्षकको कार्यालयले यस विषयमा सरकारलाई सचेत गराउँदै आए पनि वर्षान्तमा बजेटको खोलो बगाउने प्रवृत्ति रोकिन सकेको छैन । महालेखा नियन्त्रक कार्यालयका अनुसार असारका १२ दिनमा मात्रै सरकारले ५७ अर्ब रुपैयाँ खर्च गरेको छ । १ असारसम्म १२ खर्ब ८८ अर्ब रुपैयाँ बजेट खर्च भएकामा १२ असारमा आइपुग्दा १३ खर्ब ४५ अर्ब रुपैयाँ खर्च भएको छ । सरकारले गत बुधबारमात्रै ९ अर्ब ९ करोड रुपैयाँ खर्च गरेको छ भने बिहीबार ५ अर्ब ९१ करोड खर्च गरेको छ ।
यससँगै विनियोजित बजेटको ७२.०१ प्रतिशत खर्च भएको छ भने अब २ सातामा २८ प्रतिशत खर्च गर्नुपर्नेछ । चालु आवका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिइएकामा बिहीबारसम्म १३ खर्ब ४५ अर्ब रुपैयाँ खर्च भएको छ । ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ चालु खर्च गर्ने लक्ष्य लिएकामा सरकारले बिहीबारसम्म ८ खर्ब ८८ अर्ब रुपैयाँ खर्च गरेको छ । यो विनियोजित चालु खर्चको ७७.९३ प्रतिशत हो । बुधबार एकै दिन ६ अर्ब २७ करोड ५५ लाख रुपैयाँ यो शीर्षकमा खर्च गरेको सरकारले बिहीबार ४ अर्ब ७२ करोड खर्च गरेको छ ।
१२ दिनमा १२ अर्ब पुँजीगत खर्च
असार लागेसँगै पुँजीगत (विकास) खर्च पनि निरन्तर उकालो लागेको छ । सरकारले ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिएकामा बिहीबारसम्म १ खर्ब ५६ अर्ब रुपैयाँ खर्च भएको छ । यो विनियोजित पुँजीगत बजेटको ४४.३२ प्रतिशत हो । १ असारसम्म यो शीर्षकमा १ खर्ब ४४ अर्ब रुपैयाँ खर्च भएको थियो । गत बुधबार मात्रै सरकारले २ अर्ब ८१ करोड रुपैयाँ खर्च गरेको सरकारले बिहीबार १ अर्ब १९ करोड रुपैयाँ खर्च गरेको छ ।
लक्ष्यको करिब ७३ प्रतिशत उठ्यो राजस्व
समीक्षा अवधिमा सरकारले १० खर्ब ७२ अर्ब ६४ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन वार्षिक लक्ष्यको ७२.८९ प्रतिशत हो । चालु वर्ष १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ राजस्व परिचालनको लक्ष्य लिइएको थियो । उठेकोमध्ये कर राजस्व ९ अर्ब ४२ अर्ब ८२ करोड २९ लाख, गैरकर राजस्व १ खर्ब २० करोड ७६ रुपैयाँ, अनुदान १७ अर्ब ९५ करोड १२ लाख रुपैयाँ र अन्य आम्दानी ११ अर्ब ६६ करोड ४५ लाख रुपैयाँ छ ।
प्रतिक्रिया