अर्घाखाँची । मानिसका लागि स्वास्थ्य जीवनको महत्वपूर्ण सवाल हो । मानिसले जुनसुकै कुरामा सम्झौता गर्ला तर आफ्नो स्वास्थ्य र रोगसँग कहिल्यै सम्झौता गर्दैन । किनकी उसलाई सबैभन्दा चिन्ता लाग्ने आफ्नो स्वास्थ्य हो । प्रायः सबै मानिसहरूले भरपर्दो डाक्टर र विश्वासिलो अस्पतालको खोजी गर्दछन् । आमनागरिकहरू नै स्वास्थ्य उपचारको गुणस्तरीयताको खोजीमा लागेका हुन्छन् । त्यही ध्येयका साथ अर्घाखाँची जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएर कार्यरत चिकित्सक हुन्, डा.अशोक शाह । डा.अशोक सहज र सरल चिकित्सक भएको अर्घाखाँचीका धेरै नागरिकहरूले बताउन थालेका छन् ।
२०४७ चैत ७ मा सप्तरी जिल्लामा जन्मेका अशोक शाह सानैदेखि लगनशील, अनुशासित, सिर्जनशील र मेधावी विद्यार्थी थिए । गाउँकै केशव स्मारक मावि टिकुलियाबाट २०६३ सालमा माध्यमिक तहको शिक्षापछि काठमाडाँैको पिनाकल कलेजबाट साइन्स विषयमा कक्षा १२ उत्तीर्ण गरेर बंगलादेशबाट चिकित्साशास्त्रमा स्नातक गरेका हुन् । २०७९ सालमा चिकित्साशास्त्रमा स्नातकोत्तर (एमडी) गरेपछि उनी सेवाका लागि अर्घाखाँची अस्पतालमा आएका हुन् । यहाँ आएको छोटो समयमै उनी बिरामीहरूको विश्वास जित्ने एउटा सफल एमडिजिपी डाक्टर हुन सफल भएका छन् ।
३५ वर्ष उमेरका युवा डाक्टर बिरामी निकै मिठो बोल्छन् । बिरामीसँग धेरैबेर कुरा गर्दछन् । खास समस्या र बिरामीको अवस्थाबारे मसिनो गरी घोत्लिएर सोधपुछ गर्दछन् । आफूलाई विश्वास नलागेसम्म समयको कुनै प्रभाव नगरी लामो कुराकानी र छलफल गर्दछन् । यसले बिरामीको समस्या पत्ता लगाउन त सघाउँछ नै एक प्रकारको मनोसामाजिक विमर्शले उसलाई डाक्टर र उपचार पद्धतिप्रति विश्वास जगाउँछ । यसैले उपचारका लागि उनका अगाडि बिरामी बस्नासाथ आफ्नोपन झल्कने कारण धेरै बिरामीहरूको मन जित्न सफल भएका छन् डाक्टर अशोक शाह ।
उनको स्वभाव र गुणका कारण अर्घाखाँची अस्पतालमा रहँदा पनि रोजाइभित्रमा पर्ने डाक्टर अहिले जिल्ला अस्पताल छोडी सन्धिखर्क पोलिक्लिनिकमा सेवा प्रवाह गरिरहँदा पनि उनै डाक्टरलाई बिरामीले उत्तिकै खोजी गरिरहेका छन् ।
उनीसँग सेवा लिएर फर्किएका बिरामीहरू भन्छन्, ‘हामीहरूलाई उहाँले गरेको उपचारबाट पूर्ण रूपमा सन्तुष्ट छौँ, भूमिकास्थान घर बताउने १ जना महिला मघु केसी भन्छिन्, ‘म लामो समयदेखि बिरामी थिएँ धेरै औषधि खाएँ धेरै ठाउँ गए ठिक भएन् तर डाक्टर अशोकलाई चेक गराएपछि मलाई अहिले सन्चो भयो ।’
उनी अहिले क्लिनिकमा बिरामीको उपचारमा बिहानदेखि साँझसम्म ब्यस्त नै देखिन्छन् । उनलाई भेट्न र सल्लाह गर्न आउनेको प्रायः लाइन नै देखिन्छ । उनको आफ्नै खालको स्वभाव छ । बोलीमा आफ्नोपन छ । जहाँ काम गरिन्छ त्यहाँ जिम्मेवारीपूर्वक काम गर्नुपर्छ भन्ने मान्यता बोकेका सधैँ बिरामीप्रति उतरदायी र जबाफदेही हुने जतिबेला पनि सेवा दिन तत्पर हुने सहज डाक्टर हुन् ।
स्वास्थ्यसेवा प्रवाहका लागि जतिबेला पनि हस्पिटल, क्लिनिक जहाँ भए पनि तयार नै भएको देखिन्छ । सेवा प्रवाह गरिरहँदा कहीँ समस्या देखिए आफ्नो टिमसँगसमेत आवश्यक सल्लाह गरी उपचार प्रक्रियालाई अगाडि बढाउँछन् । गरिब दुःखी असहायहरूदेखि पहुँचवालाहरू सबैलाई उनले एकैनासको व्यवहार गर्दछन् ।
जीवनमा छात्रवृत्तिबाट अध्ययन गर्दा सोही अनुसारको मिहिनेतले डाक्टर हँुदा खुसी लागेको भन्दै डाक्टर अशोकले आफ्नो कर्मबाट कहिल्यै पछाडि नहट्ने मूलमन्त्रसहित सबै बिरामीहरूलाई आफ्नो परिवारको सदस्यसरह मानी उपचार र सल्लाह दिनुपर्ने मान्यता राख्छन् ।
आफ्नो जीवनको प्रेरणादायी व्यक्तित्व कृष्णप्रसाद पण्डित र सम्झना आइरहने बिरामी टपेन्द्र भएको उल्लेख गर्दै उनी भन्छन्, ‘म बिरामीको सेवक हुँ, सधैँ सेवा गर्न पाइरहुँ । उपचारका क्रममा कहिलेकाहीँ बिरामीलाई जटिल समस्या आउन सक्छ । यहाँको प्रविधिले उपचार सम्भव नहुन सक्छ, तैपनि म कुनै पनि बिरामीलाई उपचारका लागि जिल्लाभित्र सम्भव भएन भने बाहिर पठाएर पनि अनेक तवरले सहयोग गरेको छु, गर्छु र गर्नुपर्छ । यो मेरो मान्यता हो ।’ बिरामीका लागी अस्पताल मन्दिर हो । चिकित्सक भगवान् । यो मान्यतालाई स्थापित गर्न डा.अशोकले भरमग्दुर प्रयत्न गरेका छन् ।
अर्घाखाँची
प्रतिक्रिया