नुवाकोटको बाढी अपडेट : बेपत्ता महिलालाई खोज्न तालिम प्राप्त कुकुरसहित प्रहरी परिचालन

काठमाडौं । नुवाकोटमा अविरल वर्षासँगै खोलामा आएको बाढीले बगाएर बेपत्ता भएकी महिलाको खोजीका लागि कुकुरसहितको सशस्त्र प्रहरी टोली परिचालन भएको छ ।

आज शुक्रबार खोलामा आएको बाढी घरमा पस्दा बगाएर बेपत्ता भएकी महिलाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय पशु स्वास्थ्य तथा डग हेण्डलर उपशाखा बलम्बुबाट दुई वटा कुकुरसहित ७ जनाको टोली खटाइएको छ ।

नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाको कारण पानीको वहाव बढेर ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी थिइन् ।

उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी सहायक निरीक्षक राजन सुवेदीको कमाण्डमा ७ जना सुरक्षाकर्मीसहित दुई वटा सर्च एण्ड रेस्क्यु तालिम प्राप्त कुकुर परिचालन गरिएको हो ।

बेपत्ता महिलाको खोजीकार्य तथा उद्धारको लागि शुक्रबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेडाँडाबाट ६५ जना सुरक्षा फौज परिचालन भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सोही ठाउँमा रहेको तीन वटा गोठ बगाउँदा गोठमा रहेका बेपत्ता महिला कमलाका श्रीमान् अशोक बलामी घाइते भएको हुँदा उनलाई उद्धार गरी उपचारको लागि काठमाडौंतर्फ ल्याइएको छ भने केही चौपाया बाढीले बगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया