काठमाडौं । एकै समयमा निर्माण सुरु भएका काठमाडौंको तीनकुने र टेकु–कालीमाटी पक्की पुल अहिलेसम्म अलपत्र छन् । त्यहीबेला काम थालिएका बिजुलीबजार र डल्लुको पुल सञ्चालनमा आएको लामो समय भइसक्यो तर तीनकुने र टेकु पुलको अवस्था भने दर्दनाक छ ।
२०७१ सालमा पप्पु कन्स्ट्रक्सन प्रालिले काठमाडौंका चार पक्की पुलको ठेक्का पाएको थियो । एउटा प्याकेजमा टेकु र डल्लु पुल अनि अर्को प्याकेजमा तीनकुने र बिजुलीबजार पुल ठेक्का लगाइएको थियो ।
पप्पु कन्स्ट्रक्सनले चारवटै पुलको निर्माण २०७४ सालमा सक्ने गरी सम्झौता भएको थियो । म्याद थप्दैथप्दै २०७६ सालमा बिजुलीबजारको पुल सञ्चालनमा आयो । डल्लु पुल २०७८ मा तयार भएर प्राविधिक जाँचपछि कम्पनीले सरकारलाई हस्तान्तरण गर्यो र सञ्चालनमा आयो ।
टेकु पुलमा भने निर्माण कम्पनीको बदमासी फेला पर्यो । त्यसपछि प्राविधिक समस्या आएको भन्दै सरकारले तयार भएको पुल बन्द गर्यो । ठेकेदार कम्पनीले कमसल गुणस्तरको सामग्री प्रयोग गर्दा पुल सवारी चलाउन अयोग्य भएको हो । अहिले पनि यो पुलमा सवारीसाधन चलाउन पाइँदैन ।
अलपत्र पुल सञ्चालन गर्ने कि भत्काउने भन्ने विषय अझै अन्योलमा छ । गत जेठ २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पुलको लोड टेस्ट गरेर सञ्चालन गर्नेतर्फ सरकार लागिरहेको बताएका थिए ।
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले सञ्चालन गर्न योग्य भएको खण्डमा लोड टेस्ट गरेर सञ्चालनमा ल्याउने तयारीमा आफूहरू लागिपरेको बताएका हुन् ।
तीनकुनेको पुल त झन् बन्दै बनेन । २०७१ सालमै ठेक्का लगाइएको यो पुल निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको प्रमाणित भइसकेको छ । तोकिएभन्दा फरक डिजाइन र कमसल तरिकाले निर्माण सुरु थालेपछि बीचमै सडक विभागले काम रोकिदिएको थियो ।
२०७७ सालमा काम रोकिएकोमा अहिलेसम्म सुचारु भएको छैन । गुणस्तरहीन काम भएपछि ढलान गर्ने अवस्थामा पुगेको पुल सरकारले भत्काएको छ । अहिले पुलको वारिपारि दुईवटा पिलर र बेसमेन्ट मात्र देखिन्छ ।
अलपत्र संरचना सवारी साधन र पैदल यात्रुका लागि जोखिम बनेको छ । पुल बनाउन खनिएको खाल्डोमा मोटरसाइकल खस्दा २०८० असोज १४ गते एक जनाको मृत्यु भएको थियो ।
पप्पुसँगको ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाउन लागेको सरकारी अधिकारीहरुले बताएका छन् । टेकु र तीनकुने पुलमा सवारीसाधन सञ्चालन नहुँदा त्यस क्षेत्रमा बिहान र बेलुकी सवारीसाधनको जाम हुने गरेको छ ।– तस्विरहरू नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया