नेपाली युवालाई भारतमा बन्धक बनाउन गिरोह नै संलग्न

५८ जनाको उद्धार, २०० जना अझै बन्धक रहेको आशंका

काठमाडौँ । आकर्षक रोजगारीको प्रलोभनमा परी भारत पुग्दा संगठित गिरोहद्वारा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध क्रियाशील गैरसरकारी संस्था ‘किन इन्डिया’, भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा उत्तराखण्ड प्रहरीले गत बुधबार उत्तराखण्डको उधमसिंह नगर जिल्लाको रुद्रपुरमा बन्धक बनाइएका २३ जनाको उद्धार गरेको हो ।

यसअघि गत साताको बिहीबार उधमसिंह नगरको काशीपुरबाट ३५ जना नेपालीको उद्धार गरिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । गत आइतबार रुद्रपुरबाट उद्धार गरिएका एक पीडितले दिएको सूचनाका आधारमा दोस्रो पटक ३५ जना नेपालीको उद्धार भएको दूतावासको भनाइ छ ।

उद्धार गरिएका युवाहरूलाई नेपालको पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै कञ्चनपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहराले बताए । रुद्रपुर र काशीपुरमा रोजगारी दिने भनेर लगिएका युवालाई घर–घरमा राखेर बन्धक बनाएको थाहा पाएपछि भारतस्थित नेपाली दूतावासको सहयोगमा विभिन्न संघसंस्था र प्रहरीले उद्धार गरेको उनले स्पष्ट पारे ।

उद्धार गरिएका युवामा सुदूरपश्चिमको कैलाली र डोटीका गरी ११ जना छन् भने अन्य चितवन, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुङ, दाङ, बाँके, स्याङ्जा, धादिङ, कास्की, सर्लाही, रुकुम, बागलुङ, इलाम, रुपन्देहीका गरी ४६ जना छन् । भारतको उक्त क्षेत्रमा अझै २०० जनाभन्दा धेरै नेपाली फसिरहेको हुन सक्ने किन इन्डियाको आशंका छ ।

नेपालीलाई बन्धक बनाउन गिरोह नै सक्रिय

२ साताभित्र उद्धार गरिएका नेपालीहरूको भनाइअनुसार आकर्षक रोजगारीको प्रलोभनमा पारी भारत पु¥याउने र बन्धक बनाएर रकम असुल्ने नयाँ प्रवृत्ति देखापरेको उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन् । यो कामका लागि संगठित गिरोह नै सक्रिय रहेको उनीहरूको आशंका छ । परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार उद्धार गरिएका व्यक्ति तथा अन्य स्रोतबाट प्राप्त सूचनाका आधारमा बन्धक अवस्थामा रहेका ठानिएका बाँकी नेपालीहरूको पनि उद्धारको प्रयत्न भइरहेको छ । ‘प्रहरीसहित भारतीय निकायहरूको सहयोग लिँदै त्यसबारे थप पत्ता लगाउने कोसिस गरिराखेका छौँ, त्यसमा भारतीय पक्षले पनि तदारुकता देखाएको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने ।

पीडितहरूले दिएको सूचनाका आधारमा थप नेपालीको खोजीमा आफूहरू उत्तराखण्डको रुद्रपुर पुगेको ‘किन इन्डिया’का निर्देशक नवीन जोशीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । जोशीका अनुसार रुद्रपुरमा पनि काशीपुरको घटनाजस्तै नेपालीहरूलाई दबाबमा पारी वा धम्की दिएर रकम असुल्ने गरेको पाइएको छ ।

‘पीडितहरूले दिएका सूचना केलाउँदा उनीहरूलाई सहर नजिकैका एकान्त स्थानमा भएका भवनहरूमा राख्ने गरेको देखिन्छ,’ जोशीले भनेका छन्, ‘त्यस्ता गिरोहका सञ्चालकहरू निकै चलाख देखिन्छन् । यसबारे चासो पैदा भएसँगै उनीहरूले पीडितहरूलाई एक ठाउँबाट अर्को ठाउँ सार्ने गरेको देखिएको छ । हामीलाई प्राप्त सूचनाका आधारमा आइतबार जुन घरमा पुगेका थियौँ, त्यहाँबाट सबैलाई अन्यत्र लगेको पाइयो ।’

जोशीले आफूसँगैका एकजना साथीको मृत्यु भएपछि उद्धारको अनुरोध गर्दै ताप्लेजुङका एक पीडित युवा स्थानीय प्रशासन कार्यालयको सम्पर्कमा पुगेको र शव उद्धारका निम्ति आफ्नो संस्थालाई अनुरोध गरिएसँगै त्यस्तो ‘स्क्याम’बारे जानकारी पाएको बताए ।

केही महिनाअघि ताप्लेजुङका सोम लिम्बूको मृत्युपछि आकर्षक रोजगारीको प्रलोभनमा भारत पुगेका नेपाली युवाहरू त्यहाँ बन्धक भएको घटना बाहिर आएको थियोे । सुनसरीका शिव अनुज कौडाल १ महिनाअघि राम्रो रोजगारीको आसमा काशीपुर पुगे । तर, काम पाउनुको सट्टा उनी बन्धक भए । सुरुमा १० दिनको प्रशिक्षण लिनुपर्ने भन्दै कौडालबाट ४० हजार मागियो । प्रशिक्षणको नाममा कोठाभित्रै थुनियो । कतै जान दिइएन । कौडालले भने, ‘हामीलाई बन्धक बनाइयो । उनीहरूले भनेको नमाने कुटाइ खानुपथ्र्यो । हाम्रो मोबाइल प्रयोग गरेर अन्य नेपालीलाई पनि फसाउने काम गर्थे ।’

आफ्नै काकाले राम्रो रोजगारीको आस देखाएपछि काशीपुर पुगेका इलामको माई नगरपालिका–८ का सौगातलाई पनि बन्धक बनाइयो । ‘काकाको सहयोगमा भारत पुगेको थिएँ, त्यहाँ पुगेपछि काकालाई समेत भेट्न दिइएन,’ उनले भने । काम गर्नुअघि १० दिन प्रशिक्षण लिनुपर्ने भन्दै ५० हजार रुपैयाँ असुलेको उनले बताए ।

‘सुरुमा आकर्षक रोजगारीको प्रलोभन दिएर यहाँ डाक्दा रहेछन् । बोलाएको स्थानमा पुगिसकेपछि बैंक खाता, आधार कार्ड तथा तालिम आदिका लागि ५०–६० हजार लाग्ने भन्दै घरबाट पैसा मगाउन लगाउँदा रहेछन् । त्यसपछि पीडितलाई दबाबमा पारेर आफ्नो चिनजानका व्यक्तिहरूको नाम दिन भन्दा रहेछन् र तीमध्ये छानिएकाहरूलाई डाक्न भनिँदो रहेछ । साथीलाई डाक्दा ‘यहाँ कमाइ राम्रो छ, तिमीहरू पनि आऊ’ भन्न लगाइँदो रहेछ । यसरी एउटा ‘चेन’जस्तो शैली विकास गरिएको पायौँ,’ दिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख सुरेन्द्र थापालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।उनका अनुसार उद्धार गरिएकाहरूमा १६ देखि ४१ वर्षसम्मका छन् । त्यस्ता गिरोहहरूले धेरै लेखपढ नभएका व्यक्तिहरूलाई लक्षित गर्ने गरेको पाइएको उनले बताए ।

प्रतिक्रिया