नेपालमा इब्राहिमको उदय कति सम्भव छ त ? एक वाक्यमा भन्दा सम्भावना छ । तर, केही मूलभूत सर्तहरू छन् । हाम्रो मुलुकको अवस्थिति, आवश्यकता र औचित्यलाई हेर्दा यहाँ सैनिक ‘कु’ मार्फत सत्ता कब्जा हुने सम्भावना छैन । तर, नेपालको विद्यमान शासकीय स्वरूपलाई परिवर्तन गर्न भने सम्भव छ ।
कुरा ११ असार २०८२ को हो । विभिन्न ९ वटा कम्युनिस्ट घटक शक्तिहरूले राजधानीको राष्ट्रिय नाचघर जमलमा अमेरिकी साम्राज्यवादका विरूद्ध एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका थिए । अन्तरक्रिया कार्यक्रमको मञ्चमा चित्रबहादुर केसी, सिपी गजुरेल जस्ता पाका÷पुराना नेताहरूसँगै घनश्याम भुसाल, चिरन सी, राजेश्वरी सुवेदीजस्ता युवाहरूले भाषण गरिरहेका थिए । उक्त मञ्चमा इजरायलले अमेरिकाको आड र भरोसामा मध्यपूर्वका विभिन्न देशमा दादागिरी मच्चाइरहेको, गाजा युद्धमा असंलग्न मानिसहरूको हत्या गरिरहेको र त्यसले विश्व शान्तिका पक्षधर आममानिसहरूलाई दुःखित र चिन्तित बनाइरहेको भाषणहरू सुनिन्थे ।
त्यो अन्तरक्रियामा भाग लिन दर्शक दीर्घामा कम्युनिस्ट आन्दोलनका शीर्ष नेता मोहन विक्रम पनि थिए । मञ्चमा भाषण चलिरहँदा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्यद्वय लक्ष्मी भुसाल र पासाङ डोल्मा, अखिल (समाजवादी) का अध्यक्ष नरेन्द्र सी गफिँदै थिए । उनीहरूको पछिल्लो रोहमा पंक्तिकारले भुसाल, डोल्मा र सीको गुनगुन आवाज सुनिरहेको थियो । उनीहरूको गफ अन्तरक्रियामा बोल्ने वक्ताहरूतर्फ केन्द्रित थिएन । वक्ताहरूले कुन विचार, सिद्धान्त र कार्यक्रमका बारेमा बोलेभन्दा पनि चर्चा अर्कै थियो ।
नेपालको राजनीतिमा आफूले गरेको संघर्ष, बलिदान र उमेरजस्ता केही प्राविधिक सन्दर्भसहित उनीहरूले इब्राहिम ट्राओरेको कुरा गरिरहेका थिए । सुरूमा यिनीहरूको गफले भाषण सुन्न अवरोध भयो भन्ने लागेको थियो । तर, विस्तारै उनीहरूले देशको चिन्ता गरेको पाएँ । मनमनै सोचेँ राजनीतिका बारेमा गरिने भाषण केवल औपचारिकतामा सीमित भइसकेछन्, मान्छेहरूले नेताका भाषण ध्यान दिएर सुन्न छोडिसकेका रहेछन् ।
भुसाल, डोल्मा र नरेन्द्र सीको गफले मलाई नराम्रोसँग छोयो । देशको राजनीतिका बारेमा लेख्न, बोल्न र चिन्तन गर्न थालेको २ दशकभन्दा धेरै भइसकेको छ । यस अवधिमा नेपालको राजनीतिमा देखिएका राम्रा नराम्रा सबै पक्षमा कलम चलाउने प्रयास गरिएको छ । यतिबेला मध्यपूर्व तनावग्रस्त छ । इजरायल र इरानबीचको युद्धमा अमेरिका सामेल बनेको अवस्था छ । अमेरिकाले नाटकपूर्ण युद्ध विरामको आलाप जपिरहेको छ । यस अवस्थामा नेपालमा युवा राजनीतिज्ञहरू इब्राहिमको कल्पना र सम्भावनाका बारेमा सोच्दैछन् । गफ गर्नु, सोच्नु, बोल्नुको अर्थ रहन पनि सक्छ । नरहन पनि सक्छ । तर, कुनै विषयमा चिन्तन र मनन् गर्न थालियो भने त्यसको खास सन्देश रहन्छ भन्ने लाग्छ ।
मुलुकको बारेमा चिन्ता जो सुकैले गर्छ, गरेकै हुन्छ । तर, देशका तमाम समस्या, तीनको समाधान र रूपान्तरणको मुद्दाका बारेमा चिन्तन गर्नेहरू निक्कै कम हुन्छन् । भुसाल, डोल्मा र नरेन्द्रले नेपालमा इब्राहिमको आवश्यकता, औचित्य र सम्भावनाको बारेमा कत्तिको मन्थन, बहस, आवश्यक पहल, कदम चाल्छन्, यो उनीहरूको कुरा भयो । राजनीतिमा चासो राख्ने जो कोही नेपालीले इब्राहिमका बारेमा सामान्य जानकारी राख्दा बेफाइदा भने हुँदैन । भलै एक सानो लेखमा इब्राहिमको बारेमा धेरै खुलाउन सम्भव छैन र हुँदैन भन्ने कुरामा पाठक जानकार छन् ।
को हुन् इब्राहिम ?
एक वाक्यमा भन्दा इब्राहिम बुर्किना फासोका युवा राष्ट्रपति हुन् । उनी क्याप्टेनबाट राज्यको नेतृत्वमा आएपछि विश्वकै निम्ति चर्चाको पात्र बनेका छन् । उनी सन् १९८८ मार्च १४ मा विकट गाउँको मुस्लिम परिवारमा जन्मिएका व्यक्ति हुन् । उनी हाल विश्कै कान्छो उदीयमान शासकका रूपमा चर्चित छन् । उनको चर्चा सामान्य कारणबाट भइरहेको छैन । भनिन्छ, आफ्नो जिम्मेवारीलाई कुसलतापूर्वक सम्पन्न गर्ने स्वभावका इब्राहिम सन् २०१४ मा लेफ्टिनेन्टमा बढुवा भएपछि युएन मिसनमा माली पुगेका थिए । त्यसपछि उनको युद्ध कला÷कौशल र क्षमताका आधारमा उनलाई बुर्किना फासोको उत्तरी क्षेत्रमा पठाइएको थियो । त्यसबखत अलकाएदा, आइएसएस र जेहाद जस्ता आतंककारी समूहहरूले बुर्किना फासोको करिब ४० प्रतिशत भूमि आफ्नो कब्जामा लिएको अवस्था थियो । कोब्रा नामक सैनिक फोर्समा आतंककारी समूहलाई परास्त गर्न उनलाई पठाइयो । जहाँ उनले सफलता प्राप्त गरे र देशलाई आतंकवादी समूहबाट मुक्त बनाउन सफल भए ।
फलस्वरूप सन् २०२० मा उनी बुर्किना फासोको सैनिक क्याप्टेनमा पदोन्नति भए । ३० सेप्टेम्बर २०२२ मा क्याप्टेन इब्राहिम ट्राओरेले ‘सैनिक कू’ गरे । ६ अक्टुबरका दिन उनी अन्तरिम राष्ट्रपति भएको घोषणा गरे । त्योबेला उनी ३३ वर्षका थिए । जुलाई २०२४ मा उनी बुर्किना फासोका राष्ट्रपतिमा चुनिएका व्यक्ति हुन् । राष्ट्रपति बनेपछि उनले राष्ट्रपति भवनमा रहेको एयर कन्डिसनर हटाउन लगाए । उनले भने, ‘मेरो देशका बच्चाहरू भोकै छन् । गरिबीसँग तड्पिरहेका छन् । यस्तो अवस्थामा म बिलासी हुने कुनै हक छैन । जबसम्म सबै विद्यालयहरूमा पंखा लगाइँदैन तबसम्म म एसीको सुविधा लिन्नँ । जनता खुला आकाशमुनि नमाज पढ्छन् । म यस्तो व्यक्ति बन्न चाहन्छु, जसबाट दुनियाँलाई सिकाउन सकियोस् ।’ त्यति मात्रै होइन, पश्चिम अफ्रिकाको कमजोर देशको नेताले हामीलाई अमेरिका र आइएमएफ जस्ता संस्थाहरूबाट सहयोग चाहिँदैन भन्ने आँट गरे ।
आफ्नो देशबाट अमेरिका, बेलायत र फ्रान्सको सेना हटाइदिए । त्यसपछि माली, नाइजर र बुर्किनो फासो मिलेर एक संयुक्त आधिकारिक सेना निर्माण गरेका छन् । सत्तामा आएको केही महिनापछि जनवरी २०२३ मा उनले फ्रान्ससँग भएको रक्षा सम्झौता रद्द गरिदिए । जुन एकदम ठूलो र साहसिक कदम थियो । उनले फ्रान्सको सेनालाई एक महिनाभित्र देश छोड्न आदेश दिए । फलस्वरूप ३० फेब्रअरी २०२३ मा फ्रान्सले आफ्नो सेना फिर्ता गर्न बाध्य बन्यो ।
नेपालजस्तै बुर्किनाफासो
जनसंख्या, भूमिलगायत केही राज्यका मूलभूत पक्षहरू हेर्दा बुर्किना फासो नेपालको जस्तै छ । इच्छा शक्ति भएको शासक भएको खण्डमा केही वर्षमै मुलुकको मुहार फेरिन सम्भव छ भन्ने कुरा इब्राहिमले देखाइसकेका छन् । विश्वको सबैभन्दा बढी गरिबी, भोकमरी र अस्वस्थ महाद्विपमा अवस्थित गरिबी, भोकमरीबाट ग्रसित बुर्किना फासोमा २ करोड ४० लाख जनसंख्या छ । अर्को नेपालजस्तै भू–परिवेष्ठित राष्ट्र पनि हो । जहाँ ६३ प्रतिशत इस्लाम, २६ प्रतिशत इसाई धर्म र बाँकी परम्परागत धर्ममा आस्था राख्नेहरू मान्छेहरू छन् ।
बुर्किना फासो सन् १८९६ देखि सन् १९६० सम्म फ्रान्सको उपनिवेश देश हो । सन् १९६० मा स्वतन्त्र राज्य घोषणा भयो । करिब ७३ वर्ष फ्रान्सको कब्जामा रहँदा त्यसको नाम ‘अपर भोल्टा’ राखिएको थियो । सन् १९६० मा स्वतन्त्र भएपछि १९८४ मा थोमस संकाराले बुर्किना फासो नामकरण गरेका थिए । बुर्किना फासोको अर्थ हुन्छ, ‘इमानदार मान्छेहरूको भूमि’ । यहि इमानदार भूमिमा जन्मिएका इब्राहिम आज त्यहाँका जनताको नयाँ आशावादको झिल्को बनेका छन् भने विश्वका निम्ति उदाहरणीय व्यक्ति ।
स्वतन्त्र भएपछि पनि बुकिर्नाको उत्पादित वस्तु तथा सुन, हिरा, कोवाल्टलगायत तेल एवं खनिज पदार्थ सबै फ्रान्सले लग्थ्यो भने फ्रान्सेली मुद्रा नै कारोबार हुने गर्दथ्यो । यो मुलुकको जमिनमुनि सुन, हिरा, युरेनियम जस्ता अति महत्वपूर्ण खानीको भण्डार रहेको छ । यस देशका मानिसहरू सुनमाथि सुतेर गरिबी र भोकमरीमा तड्पिरहेका छन् । यस्तो बिडम्बनालाई चिर्नका निम्ति इब्राहिम अघि सरेका छन् ।
आज पनि इब्राइम ट्राओरे साम्राज्यवादी शक्तिको गम्भीर घेरामा छन् । उनी मारिन र कूबाट गलहत्याइन सक्छन् । यस्तो अवस्थामा बुर्किना आफ्ना नायक थोमस संकारा जस्तै महान बन्न सक्छन् या के गर्छन् ? भन्ने सवाल छ । यस सवालको जबाफ समयले दिँदै जाला । आज यत्ति भन्न सकिन्छ । अफ्रिकी देशमा यसअघि पनि थुप्रै नेताहरूको उदय भएको इतिहास छ । उनीहरूले आमूल परिवर्तनको भाषण गरेर सत्तामा पुगे पनि वाचा अनुरूप काम गर्न प्रायः असफल भएका छन् । इब्राहिमले भने (पान–अफ्रिकावाद), साम्राज्यवादको विरोध तथा आत्मनिर्भरताको नारा बोकेर अगाडि बढिरहेका छन् । यसर्थ इब्राहिमले मुलुक र जनताको निम्ति सही नारा बोलिरहेका छन् ।
नेपालमा इब्राहिमको सम्भावना
इब्राहिम नेपालमा मात्रै नभएर विश्वका युवाहरूका निम्ति उदारणीय नेताका रूपमा देखिएका छन् । सायद यसै सन्देशलाई लिएर होला माथि नाम उल्लेख गरिएका कमरेडहरूले नेपालमा पनि इब्राहिम आवश्यक छ भनेको । अनि नेपालमा इब्राहिमको उदय कति सम्भव छ त ? एक वाक्यमा भन्दा सम्भावना छ । तर, केही मूलभूत सर्तहरू छन् । हाम्रो मुलुकको अवस्थिति, आवश्यकता र औचित्यलाई हेर्दा यहाँ शैनिक ‘कू’ मार्फत सत्ता कब्जा हुने सम्भवना छैन । तर, नेपालको विद्यमान शासकीय स्वरूपलाई परिवर्तन गर्न भने सम्भव छ । वर्तमान संसदीय व्यवस्थालाई परिवर्तन गर्नुपर्छ ।
संसदीय व्यवस्था खारेज गर्ने र यसको ठाउँमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्राणाली लागू गरियो भने देशको निम्ति काम गर्ने राजनेताको उदय हुनसक्छ । नेपालमा इब्राहिम उदय हुने धेरै मध्ये एउटा बाटो प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नै हो । यस प्रणालीका निम्ति अर्को आन्दोलनको आवश्यक छ । तर, सबै राजनीतिक दलहरू सहमत भए भने आन्दोलन आवश्यक नहुन पनि सक्छ । मुलुक र जनताकाप्रति इमानदार, बफादार, इच्छाशक्ति भएको, पारदर्शी, जिम्मेवार, निष्कलंक, लगनशील, उच्च साहस, आँट र देश बनाउने दृष्टिकोण भएको व्यक्तिको खोजी भइरहेको छ । नेपाली समाजले इब्राहिमको आवश्यकता, औचित्यतता र कल्पना गर्नुको मुख्य कारण पहिलो पुस्ताका नेताहरू पदलोभ हुनु हो । भाषणअनुसार काम नगर्नु हो । जडताले गाँजिएको कर्मचारी संयन्त्र र सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक संरचना हुन् । जसको पुनःनिर्माण आजको मुख्य आवश्यकता हो ।
प्रतिक्रिया