काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई सफाइ दिएको उच्च अदालत वीरगञ्जको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । गत जेठ १४ गते उक्त अदालतका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएसँगै आलम जेलबाट रिहा भइसकेका छन् ।
उनीमाथि इँटाभट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोप थियो । यसअघि उनलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो । आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जको पूर्णपाठ अहिले सार्वजनिक भएको हो ।
सार्वजनिक पूर्णपाठमा बम विस्फोट भएको प्रमाणको अभावमा घटना भएको पुष्टि नभएको, शव जलाइएको पुष्टि नभएको, साक्षीले फेरेको बयान आदिलाई आधार मानिएको छ । मारिएका व्यक्तिको वारदात (इँटाभट्टा) मा मृत्यु भएको पुष्टि हुन नसकेकाले प्रतिवादीले सफाइ पाउने फैसलाको पूर्णपाठमा उल्लेख छ ।
विस्फोटको घाइते भनिएका पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तरलाई ट्रयाक्टरमा हाली राजा इँटा भट्टामा लगी पोलेको भन्ने ठोस सबुद प्रमाण वादी (सरकारी वकिल) पेस गर्न नसकेको र विधि विज्ञान परीक्षण प्रतिवेदनबाट समेत नदेखिएकाले मृतकहरूलाई इँटा भट्टामा पोलिएको अभियोग दाबी पुष्टि हुन नसकेको पूर्णपाठमा भनिएको छ ।
फैसलामा भनिएको छ, ‘माथि विवेचित आधार र कारणबाट प्रस्तुत मुद्दामा मिति २०६४–१२–२७ मा बम विस्फोटको वारदात भएको भनिएकोमा सो वारदात अनुसन्धानबाट पुष्टि हुन नसकेको, सो विषयमा जाहेरी परी अनुसन्धान भई मारिएका भनिएका व्यक्तिहरूको मृत्यु भएको भन्ने यकिन साथ पुष्टि हुन नसकेको भनी महान्यायाधिवक्ता कार्यालयबाट मिति २०६५–०३–३० मा कसै उपर मुद्दा नचलाउने गरी निर्णय गरेको देखियो ।’
यस्तो छ सार्वजनिक उच्च अदालत वीरगञ्जको फैसलाको पूर्णपाठ
प्रतिक्रिया