माधव नेपालको थुनछेक बहस भइरहँदा यस्तो छ विशेष अदालतको माहोल (तस्विरहरू)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पतञ्जली जग्गा प्रकरण भ्रष्टाचारको मुद्दामा विशेष अदालतमा थुनछेक बहस सुरु भएको छ ।

निकै चासोका साथ हेरिएको यो मुद्दाको बहस विशेष अदालत प्रांगणमा बेन्च राखेर प्रत्यक्ष सुन्न–हेर्न मिल्ने व्यवस्था गरिएको छ । विशेष अदालत परिसरमा मानिसहरुको निकै घुइँचो देखिएको छ ।

नेपालको पक्षमा बहस गर्न एक सयभन्दा बढी वकिलले नाम टिपाएका छन् । एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल बयान दिन आज विशेष अदालतमा उपस्थित भएका हुन् ।

अध्यक्ष नेपालको बयान विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा भएको हो ।

पतञ्जली आयुर्वेद तथा योगपीठ नेपाल नामक गैरनाफामूलक कम्पनीका लागि गैरकानुनी रूपमा हदबन्दी छुट दिएको र उक्त छुट पाएको जग्गा पनि व्यापारिक प्रयोजनमा बेचबिखन गर्न अनुमति दिएको दाबी गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधामन्त्री नेपालमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको हो ।

जेठ २२ गते १८ करोड रुपैयाँको बिगोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाललाई पनि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी आज बयान दिन गएका थिए ।

अध्यष नेपालको बयान सकिएसँगै थुनछेक बहस पनि आजै हुने बताइएको छ । थुनछेक बहस खाजापछि सुरु भएको हो । बहसपछि थुनछेक आदेश हुनेछ ।

प्रतिक्रिया