विशेष अदालतमा माधव नेपालको बयान सकियो, थुनछेक बहस पनि आजै

काठमाडौं । विशेष अदालतमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पतञ्जली जग्गा भ्रष्टाचार प्रकरणमा बयान सकिएको छ ।

अध्यक्ष नेपाल बयानका लागि आज बुधबार विशेष अदालतमा उपस्थित भएका थिए । अध्यक्षनेपालको बयान विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा भएको हो ।

पतञ्जली आयुर्वेद तथा योगपीठ नेपाल नामक गैरनाफामूलक कम्पनीका लागि गैरकानुनी रूपमा हदबन्दी छुट दिएको र उक्त छुट पाएको जग्गा पनि व्यापारिक प्रयोजनमा बेचबिखन गर्न अनुमति दिएको दाबी गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधामन्त्री नेपालमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको हो ।

जेठ २२ गते १८ करोड रुपैयाँको बिगोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाललाई पनि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी आज बयान दिन गएका थिए ।

अध्यष नेपालको बयान सकिएसँगै थुनछेक बहस पनि आजै हुने बताइएको छ । थुनछेक बहस खाजापछि सुरु हुनेछ । बहसपछि थुनछेक आदेश हुनेछ । अध्यक्ष नेपालको पक्षबाट ५० जनाले वकालतनामा लेखाएको तर ८ जनाले मात्रै बहस गर्ने तय भएको छ ।

अख्तियारको तर्फबाट कम्तीमा ४ जनाले बहस गर्नेछन् । विशेष सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता मोहन सागर बस्याल नेतृत्वको टोलीका साथै अख्तियारमा रहेका सहन्यायाधिवक्ता ज्ञानप्रसाद भुसाल र पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले अख्तियारको तर्फबाट बहस गर्ने भएका छन् ।

पन्तलाई अख्तियारले निजी कानुन व्यवसायीका रूपमा नियुक्त गरेको हो । नेपालका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्द बन्दी, ललित बस्नेत, चन्द्रकान्त ज्ञवालीलगायत छन् ।

०६९ सालमै अख्तियारले पाँच वर्षमा क्षतिपूर्ति गर्ने भनिएको जग्गासम्बन्धी नियमित अनुगमन गर्न काभ्रेपलाञ्चोक मालपोत कार्यालयलाई निर्देशन दिँदै उजुरी तामेलीमा राख्ने निर्णय गरेको थियो। त्यसको १३ वर्षपछि अख्तियारले अध्यक्ष नेपालविरुद्ध मुद्दा चलाउने निर्णय गरेको हो ।

प्रतिक्रिया