आर्मी क्लब सेमिफाइनलमा

धरान, २७ चैत । नेपाल आर्मी क्लब पन्ध्रौँ अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा नवयुग श्रेष्ठको एक मात्र गोलले आर्मीले मनाङ–मस्र्याङ्दी क्लबलाई १–० ले पराजित गर्‍यो । आर्मीले बुधबार धरान फुटबल क्लबसँग सेमिफाइनल खेल खेल्नेछ ।

उत्तराद्र्धको ११औँ मिनेटमा नवयुगले टेकबहादुर बुढाथोकीको पासमा विपक्षी रक्षापंक्ति र गोलरक्षक विशाल श्रेष्ठलाई छक्याउँदै गोल गरे । पूर्वाद्र्ध प्रतिस्पर्धात्मक रहेको खेल उत्तराद्र्धमा त्रिभुवन आर्मी हाबी भएको थियो । यद्यपि मनाङले गोलका थुप्रै अवसर सिर्जना गरे पनि सफल हुन सकेन । उत्तराद्र्धमा पूरै रक्षात्मक देखिएको मनाङका स्टाइकर अनिल गुरुङले टिमका लागि उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । उत्तराद्र्धको इन्जुरी समयमा पाएको फ्रिकिकको अवसर सविन्द्र श्रेष्ठले सदुपयोग गर्न नसकेपछि मनाङ प्रतियोगिताबाट बाहिरिनुपरेको थियो । म्यान अफ द म्याच घोषित विशाल श्रेष्ठले विपक्षीका प्रहारलाई रोकी टिमलाई ठूलो योगदान दिए ।
त्रिभुवन आर्मीले खेल अवधिभर आधा दर्जन सुन्दर अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन । उत्तराद्र्धको ३५औँ मिनेटमा राजु तामाङको लामो पासमा भरत खवासले डिबक्सभित्र राम्रो अवसर पाए पनि उपयोग गर्न सकेनन् । मनाङका प्रशिक्षक छिरिङ लोप्साङले टिमको संरचना नमिलेका
कारण खेलमा अवसर सिर्जना गर्न नसकेको बताए ।
टिमका चारजना विदेशी खेलाडीका सट्टा नयाँ खेलाडी सरोज दाहाल र विशाल राईलाई मैदानमा ओराल्नुपरेका कारण खेलको तालमेल नमिलेको उनको भनाइ थियो । मंगलबारको खेल नेपाल पुलिस क्लब काठमाडौं र हङकङ नेपाली महासंघबीच हुनेछ ।

प्रतिक्रिया