धर्मलाई राजनीतिक हतियार बनाउनु प्रतिगमन

देशमा धर्मनिरपेक्षताको सिद्धान्त लागू भएपछि इसाई धर्म बढ्यो भन्ने भ्रम पनि निकै पाइन्छ । राजावादीले त्यस प्रकारको प्रचार धेरै गरिरहेका छन् । त्यस्तो कुरा सत्य होइन । सत्य के हो भने धर्मनिरपेक्षताको विकास नै इसाई धर्मका विरुद्ध संघर्षको क्रममा नै भएको थियो ।

मोहनविक्रम सिंह

नेपालको संविधानमा धर्मनिरपेक्षताको स्पष्टीकरणमा भनिएको छ कि सनातनदेखि चल्दै आएको धर्म, संस्कृतिको रक्षा गर्ने । वास्तवमा यो धर्मनिरपेक्षताको परिभाषा यो होइन । खालि धर्मनिरपेक्षता लेख्नु मात्र पर्याप्त हुन्छ । धर्मनिरपेक्षता भन्नुको अर्थ यो हो कि राज्य धर्मबारे निरपेक्ष हुनुपर्दछ र त्यो कुनै धर्मसापेक्ष हुनुहुँदैन । राज्यले सधैँ धर्मप्रति समान दृष्टिकोण अपनाउनुपर्दछ र सबैको संरक्षण गर्नुपर्दछ । त्यही धर्मनिरपेक्षताको सिद्धान्त हो । देशमा धर्मनिरपेक्षताको सिद्धान्त लागू भएपछि इसाई धर्म बढ्यो भन्ने भ्रम पनि निकै पाइन्छ । राजावादीले त्यस प्रकारको प्रचार धेरै गरिरहेका छन् । त्यस्तो कुरा सत्य होइन । सत्य के हो भने धर्मनिरपेक्षताको विकास नै इसाई धर्मका विरुद्ध संघर्षको क्रममा नै भएको थियो । युरोपका राज्यमा पोप र चर्चको प्रभुत्व थियो । राज्यमाथि पोप र चर्चको प्रभुत्व खतम हुनुपर्दछ भनेर संघर्ष चल्यो । त्यो क्रममा नै त्यहाँ धर्मनिरपेक्षताको सिद्धान्तको विकास भएको हो ।

विश्वका कतिपय देश धर्मसापेक्षताको सिद्धान्तलाई अपनाइएको छ । त्यो गलत हो । त्यसबारे तालिबान धेरै नै कट्टर छन् । उनीहरूले महिलालाई पढ्नसमेत नदिने भन्दछन् । उनीहरूले महिलालाई ६ कक्षाभन्दा माथि पढ्न नदिने वा अफिसमा पनि काम गर्न नदिने भन्छन् । त्यस प्रकारको कट्टर इस्लामिक विचार सबैभन्दा बढी अफगानिस्तानमा देखा परेको छ । महिलालाई पनि पढ्न दिनुपर्दछ भन्ने कुरा गरेको हुनाले तालिवानले मलालालाई गोली हानेका थिए ।


नेपालमा धेरै धर्म छन्, हिन्दु बहुसंख्यक रूपमा छन्, त्यो कुरा सत्य हो । त्यसका साथै नेपालमा मुस्लिम, इसाई, बौद्ध आदि विभिन्न धर्म छन् । विभिन्न जनजातिका पनि आफ्ना बेग्लाबेग्लै धर्म छन् । जे भए पनि सबै धर्मप्रति समान व्यवहार हुनुपर्दछ । धर्मनिरपेक्षता देशमा जातीय वा धार्मिक सद्भाव वा एकताको लागि सबैभन्दा सही सिद्धान्त हो । अहिले हिन्दुस्तानमा पनि धर्मनिरपेक्षता छ तर भाजपाजस्तो कट्टर हिन्दुवादी पार्टी सरकारमा छ । त्यसले धर्मनिरपेक्षतालाई पूरै विरोध गर्ने प्रयत्न गरिरहेको छ । जातीय र धार्मिक साम्प्रदायिकता फैलाइरहेको छ । मुस्लिममाथि पनि धेरै आक्रमण गरिरहेको छ । भारतका त्यही कट्टर हिन्दुवादीले नेपालमा आएर साम्प्रदायिक दंगा गराउने कोशिस गर्दछन् । मुसलमानमाथि आक्रमण गर्ने कोशिस गर्दछन् । त्यसैले धर्मनिरपेक्षता नेपालजस्तो बहुजातीय, बहुधार्मिक, बहुभाषीय देशको लागि सही सिद्धान्त हो ।

नेपालमा अहिले इसाई धर्मको निकै प्रचार भएको छ । त्यो सत्य हो तर त्यस प्रकारको जुन प्रचार भइरहेको छ, त्यो धार्मिक कारणले मात्र भएको छैन । अहिले संसारका विभिन्न देशमा विभिन्न प्रतिक्रियावादी शक्तिले धर्मलाई आफ्नो राजनीतिक उद्देश्यका लागि प्रयोग गर्ने गरेका छन्, जस्तो कि भारतमा मोदीले धर्मलाई आफ्नो राजनीतिक उद्देश्यका लागि प्रयोग गरिरहेका छन् । त्यसलाई हतियार बनाएका छन् । म्यानमारमा बौद्धले त्यसलाई आफ्नो धार्मिक उद्देश्यका लागि प्रयोग गरिरहेका छन् । अफगानिस्तानमा तालिबानले त्यही गरिरहेका छन् । खाडीका देशमा मुसलमानले धर्मलाई आफ्नो हतियारको रूपमा प्रयोग गरिरहेका छन् । त्यही प्रकारले नेपालमा पनि राजावादीले आफ्नो राजनीतिक प्रतिगामी उद्देश्यलाई पूरा गर्न हिन्दु धर्मलाई हतियारको रूपमा प्रयोग गर्ने प्रयत्न गरिरहेका छन् । यसरी धर्मलाई प्रतिगामी राजनीतिक उद्देश्यका लागि प्रयोग गर्ने प्रयत्न धेरैतिर भइरहेको छ । ठिक त्यही प्रकारले साम्राज्यवादी शक्तिले इसाई धर्मलाई साम्राज्यवादी उद्देश्यपूर्तिका लागि प्रयोग गर्ने गरेका छन् ।

कुनै पनि देशमा साम्राज्यवादको प्रभुत्व कायम गर्नुपर्यो भने साम्राज्यवादी शक्तिले त्यसका लागि इसाई धर्मलाई अग्रदस्ताको रूपमा प्रयोग गर्ने गर्दछन् । त्यसको लागि ठुलो पैमानामा पैसाको पनि प्रयोग गरिन्छ । नेपालमा इसाई धर्मको जुन प्रचार भइरहेको छ, त्यसलाई हामीले खालि धार्मिक रूपमा नलिएर साम्राज्यवादको राजनीतिक अंगको रूपमा पनि लिनुपर्दछ । हामी यसबारे पनि स्पष्ट हुनुपर्दछ, साम्राज्यवाद र सामन्तवादको आपसमा घनिष्ट सम्बन्ध हुन्छ । त्यसकारण अहिले राजावादीले इसाई धर्मको विरुद्ध जति कुरा उठाए पनि अन्ततः सामन्तवादले साम्राज्यवादको नै सेवा गर्ने भएकाले नेपालमा राजाको शासन कायम हुन्छ भने उनीहरूले साम्राज्यवादको सेवा गर्नका लागि इसाई धर्मको प्रचारलाई कम गर्ने होइन, अझ बढाएर लैजानेछन् ।

नेपालमा राणाशासनका विरुद्ध, पञ्चायतका विरुद्ध संघर्ष गर्ने को थिए ? हिन्दु थिए । गणतन्त्रका लागि संघर्ष गर्ने हिन्दु थिए । उनीहरूको ठुलो देन रहेको छ । ठिक त्यही प्रकारले हिन्दुको जुन भूमिका रहेको छ, त्यो महत्वपूर्ण छ । हिन्दु हुँदैमा त्यो राजावादी हुनुपर्दछ भन्ने होइन । इसाई हुँदैमा साम्राज्यवादी हुनुपर्दछ भन्ने होइन । बौद्ध हुँदैमा प्रतिक्रियावादी बौद्ध शासकको पक्षपोषण गर्नुपर्दछ भन्ने होइन । प्रत्येक धर्मले आआफ्नो किसिमबाट आफ्नो धर्म प्रयोग गर्न वा त्यसअनुसार धार्मिक आचरण गर्न पाउँछन् । नेपालमा राजावादीले हिन्दु धर्मलाई हतियारको रूपमा प्रयोग गरेका छन् । हामीले हिन्दु धर्म वा उनीहरूको धार्मिक स्वतन्त्रताको विरोध गर्दैनौँ तर राजावादीले हिन्दु धर्मलाई आफ्नो हतियारको रूपमा प्रयोग गर्ने कार्यको नै हामीले विरोध गर्दछौँ ।

नेपालका विभिन्न वामपन्थी वा प्रजातान्त्रिक शक्तिमा त्यस प्रकारको सोचाइको प्रभाव परेको देखिन्छ । नेपालमा गणतन्त्र वा धर्मनिरपेक्षता ल्याउने कार्यमा नेपाली कांग्रेसको पनि महत्वपूर्ण योगदान रहेको छ तर उनीहरूको पनि एउटा ठुलो पंक्तिमा धर्मनिरपेक्षताको विरोध वा हिन्दु धर्मसापेक्ष सोचाइको असर परेको पाइन्छ । त्यसैको परिणाम हो कि नेकाभित्र पनि राजावादी सोचाइले काम गर्न थालेको छ । वामपन्थीभित्र पनि त्यस प्रकारको सोचाइले काम गरेका कतिपय उदाहरण पाइन्छन् ।

त्यस सन्दर्भमा कामरेड सिपी मैनालीको उदाहरणलाई अगाडि सार्न सकिन्छ । वामपन्थीका बीचमा त्यस प्रकारका सोचाइले अन्यत्र पनि कहाँ कति काम गरेको छ, त्यो अध्ययनको विषय हो । जसले भए पनि हिन्दु धर्मसापेक्षताको कुरा गर्छ, त्यसलाई हामीले गलत नै मान्दछौँ ।

जसरी युरोपमा राज्यमाथि पोप र चर्चको प्रभुत्व वा इसाई धर्म सापेक्षताको विरोध गरियो, त्यही प्रकारले नेपालमा पनि जुनसुकै पक्षले हिन्दु धर्मसापेक्षताको विचारलाई अगाडि ल्याए पनि हामीले त्यसको विरोध गर्नुपर्दछ किनभने त्यस प्रकारको सोचाइले एकातिर, राजतन्त्रलाई बल पुर्याउँछ भने अर्कातिर, त्यसले देशमा धार्मिक साम्प्रदायिकतालाई प्रोत्साहित गर्दछ । हाम्रो छिमेकी देश भारतको उदाहरण नै हाम्राअगाडि छ । त्यहाँको संविधानले धर्मनिरपेक्षतालाई स्वीकार गर्दछ तर त्यहाँ विभिन्न धर्मका बीचमा ठुलो पैमानामा साम्प्रदायिकता पाइन्छ । त्यसको परिणामस्वरूप त्यहाँ हिन्दु र मुस्लिमको बीचमा व्यापक वैमनस्यता मात्र होइन, त्यो कारणले त्यहाँ बारम्बार हिंसात्मक घटना पनि घटेको पाइन्छ ।

भारतको एउटा समस्या के हो भने त्यहाँ संविधानमा धर्मनिरपेक्षता लेखिएको छ तर त्यहाँको सत्तामा साम्प्रदायिक शक्ति छ । त्यसले गर्दा पनि त्यहाँ व्यापक रूपमा धार्मिक साम्प्रायिकता र त्यो कारणले हिंसात्मक घटना धेरै नै हुने गर्दछन् । मुस्लिम देशमा सिया र सुन्नीका बीचको वैरभावका कारणले पनि कैयौँ साम्प्रदायिक वा हिंसात्मक घटना हुने गर्दछन् । इसाई धर्ममा पनि क्याथोलिक र प्रोस्टेन्ट धर्मका बीचको मतभेदका कारणले ठुलो पैमानामा साम्प्रदायिकता वा हिंसात्मक घटना घटेको पाइन्छ । संसारका अरू कैयौँ देशमा पनि धार्मिक कारणले ठुलो मात्रामा हिंसात्मक घटना भएको पाइन्छ । त्यसकारण धर्मसापेक्षताको सोचाइ आधारभूत रूपमा नै गलत हो र हामीले नेपालमा पनि त्यस प्रकारको दृष्टिकोणको विरोध गरेर धर्मनिरपेक्षतामा जोड दिनुपर्दछ र त्यसको आधारमा नै समाजमा शान्ति र सद्भावना कायम हुन सक्दछ । विभिन्न प्रतिक्रियावादी राजनीतिक शक्तिले आफ्ना प्रतिक्रियावादी उद्देश्य पूरा गर्न विभिन्न धर्मलाई हतियारको रूपमा प्रयोग गर्ने गर्दछन् । हामीले त्यस प्रकारका सबै प्रयत्नको दृढतापूर्वक र सम्झौताहीन प्रकारले विरोध गर्नुपर्दछ ।

प्रतिक्रिया