एमालेका कुनै गुट वा उपगुटमा नलागेर पार्टी संगठनप्रति वफादार रही उनले पार्टीमा आफ्नो वर्चस्व बनाइन् । आज त्यसैको परिणाम स्वरूप एकातिर उनी ओलीको निम्ति चुनौती सावित भइरहेकी छन् भने एमालेबाट अपमानपूर्वक निकालिएका नेताहरूको निम्ति एमालेमा पुनः फर्कन सकिने आशाको किरण सावित भइरहेकी छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा आउने अभ्यास जारी छ । उनको बढ्दो राजनीति सक्रियताले नेकपा एमालेभित्र बेग्लै किसिमको पराकम्पन ल्याएको छ । यसको असर बालुवाटारसम्म पुगेको छ, सायद त्यही भएर होला प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि अब पूर्वराष्ट्रपति भण्डारी प्रति आक्रामक हुन थालेका छन् ।
पूर्वराष्ट्रपति भण्डारीको हालै सम्पन्न उत्तरी छिमेकी चीनको भ्रमणलाई कतिपय कारणले अर्थपूर्ण मानिन्छ । चीन भ्रमणवाट फर्किए लगत्तै पूर्वराष्ट्रपति भण्डारीले ओलीको गृह जिल्ला झापा पुगेर नेकपा एमालेका कार्यकर्ताहरूसित भेटघाट पनि गरिन् । नेकपा एमालेका बरिष्ठ एवं अनुभवी नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भीम रावल र घनश्याम भुसालहरूलाई पार्टीबाट बहिर्गमनको बाटोमा धकेलेर देखाएर बाँचुन्जेलसम्म आफू मात्र पार्टीमा एक्लो नेता रहने चाहना राखेको थिए तर पूर्वराष्ट्रपति भण्डारीको जनसम्पर्क अभियान र राजनीतिक सक्रियताले ओलीलाई चिन्तित बनाएको छ । पूर्वराष्ट्रपति भण्डारीमा नेकपा एमालेका सबै समूहका नेताहरूलाई एकैसाथ लिएर अगाडि बढने सामथ्र्य छ ।
नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका नेताहरूसित पनि उनको सुमधुर सम्बन्ध छ । यस्तोमा एमाले पार्टीभित्र र बाहिर पनि उनको स्वीकार्यता बढने निश्चित छ । सम्भवतः उत्तरी छिमेकी चीन पनि नेपालमा बामदलहरूबीच सकेसम्म एकता, कार्यगत एकता र त्यो पनि सम्भव नभए चुनावी एकता भएको हेर्न चाहन्छ । यस्तोमा पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियताले धेरै महत्व राख्छ ।
एमालेका अध्यक्ष ओलीले पार्टीका बरिष्ठ नेताहरू खनाल र नेपालको राष्ट्रपति बन्ने चाहनामाथि बज्रपात गर्दै उपाध्यक्ष भण्डारीलाई लगातार २ कार्यकाल राष्ट्रपति बनाउनमा ठुलो भूमिकाको निर्वाह गरेका थिए । राष्ट्रपतिको पदमा निर्वाचित भएपछि भण्डारीले पनि नेकपा एमालेको इच्छा र चाहनाको धेरै सम्मान मात्रै गरिनन् कि प्रत्यक्ष रूपमा एमालेको हितमा काम गर्ने गरेको आरोप पनि खेपिन । पार्टी अध्यक्ष ओलीको प्रधानमन्त्रीत्व कालमा त उनले सरकारका प्रत्येक सिफारिसलाई विना कुनै विलम्व अनुमोदन पनि गरिन् । त्यतिबेला त कतिपयले प्रधानमन्त्री ओलीसँग उनको घनिष्ठ सम्बन्ध रहेका कारण नै अध्यादेशहरू सजिलै अनुमोदन हुने गरेको आशंका गरेका थिए तर यथार्थ भनेको शीतलनिवासबाट फर्केर आएपछि पुनः सक्रिय राजनीतिमा आउने उनको महत्वाकांक्षाको त्यो संकेत थियो । ओलीले उनलाई राष्ट्रपति बनाएर पार्टीमा चुनौती दिने क्षमता भएका नेताहरूको बाटो नै बन्द गरिदिएका थिए तर अहिले पूर्वराष्ट्रपति भण्डारीको सक्रियताबाट उनी अचम्मित भएका छन् ।
नेकपा एमालेका संस्थापक महासचिव मदनकुमार भण्डारी निकै लोकप्रिय नेता थिए । उनी, उच्च कोटीका वक्ता र कुशल संगठनकर्ता पनि थिए । नेपालमा बहुदलीय जनवादको सिद्धान्तलाई प्रतिपादन गर्ने उनी नै थिए । त्यतिबेलाको एक प्रतिष्ठित अमेरिकी पत्रिकाले मदन भण्डारीको बहुदलीय जनवादको सिद्धान्तमाथि टिप्पणी गर्दै ‘नेपालमा नयाँ माक्र्सको जन्म भयो’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको थियो । तर दुर्भाग्य २०५० जेठ ३ मा १ सडक दुर्घटनामा उनको असामयिक निधन भयो । उनको निधनपश्चात उनकी विधवा श्रीमती विद्यादेवी भण्डारी आफ्ना श्रीमानको राजनीतिक विरासतलाई थाम्न सार्वजनिक जीवनमा पदार्पण गरिन् ।
२०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसका सभापति र अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर मदन भण्डारी विजयी भएका थिए । मदन भण्डारीको निधनपश्चात भएको उपचुनावमा श्रीमती विद्यादेवी भण्डारीले पनि नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेकी थिइन् । यद्यपि भट्टराईजीको पराजयमा नेपाली कांग्रेसकै कोइराला समूहको ठुलो योगदान थियो । यसरी श्रीमती भण्डारीको राजनीतिक प्रवेश नै भव्य रूपमा भयो र आफूलाई एमालेको भावी नेताको रूपमा उभ्याउने संकेत उनले सुरुमै दिएकी थिइन् । एमालेका कुनै गुट वा उपगुटमा नलागेर पार्टी संगठनप्रति बफादार रही उनले पार्टीमा आफ्नो बर्चस्व बनाइन् । आज त्यसैको परिणाम स्वरूप एकातिर उनी ओलीको निम्ति चुनौती सावित भइरहेकी छन् भने एमालेबाट अपमानपूर्वक निकालिएका नेताहरूको निम्ति एमालेमा पुनः फर्कन सकिने आशाको किरण सावित भइरहेकी छिन् ।
केही महिनाअघि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक रूपमै माओवादी पार्टीको सक्रिय राजनीतिमा आएपछि एमालेभित्र पूर्वराष्ट्रपति भण्डारीको गतिविधि पनि तीव्र भएको थियो । राष्ट्रपति हुनुपूर्व आफू उपाध्यक्ष रहेको नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने प्रयास जारी रहेकै बेला भण्डारीले जेठको दोस्रो साता ९ दिन लामो चीन भ्रमण गरिन् । भ्रमणलाई चीनले यति महत्व दियो कि बेइजिङमा भण्डारीलाई राष्ट्रप्रमुखको हैसियतकै सम्मान दिइयो । चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग उनको भेटवार्ता भयो । नेपालमा बाम एकताको नेतृत्व गर्नसमेत चिनियाँहरूले उनलाई सुझाव दिएको व्यापक चर्चा छ । चीन भ्रमणले पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिको ढोका खोलेको र राजनीतिज्ञको हैसियत प्राप्त भएको नेकपा एमालेकै नेताहरूको टिप्पणी छ । विराटनगर र झापामा जसरी एमालेका प्रदेश सांसद, कोसी प्रदेशका मन्त्री र पार्टी कार्यकर्ताहरूले विमानस्थलदेखि कार्यक्रम स्थलसम्म उनको स्वागत गरे यसले उनको लोकप्रियता र स्वीकार्यतालाई दर्शाउँछ ।
पूर्वराष्ट्रपति भण्डारीले मोरङ, सुनसरी र भोजपुरतिर पार्टी संगठनको निम्ति निकै परिश्रम गरेकी थिइन् । कोसी उनको आफ्नो गृह प्रदेश पनि हो, तसर्थ ओलीलाई गृह प्रदेश कोसीमै पूर्व राष्ट्रपति भण्डारीबाट ठुलो चुनौती मिल्ने सम्भावना देखिन्छ । पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियताबाट विचलित एमाले अध्यक्ष ओलीले अनेरास्ववियुको महाधिवेशनमा भण्डारीलाई राजनीतिक गतिविधि नगर्न चेतावनी दिँदै पार्टी कार्यकर्ताहरूलाई पनि उनको पक्षमा नलाग्न भने । महाधिवेशनमा यो अथवा त्यो अध्यक्ष हुने हल्ला मचाएर पार्टीलाई कमजोर पार्न खोजिएकोले पार्टीमा गुटबन्दी गर्न खोज्नेलाई जबाफ दिन ओलीले कार्यकर्तालाई निर्देशन दिए । ओलीको अभिव्यक्तिप्रति संक्षिप्त टिप्पणी गर्दै भण्डारीले एमाले राजनीतिमा आफूलाई कसैले रोक्न नसक्ने प्रष्ट सन्देश दिइसकेकी छन् । राष्ट्रिय आकांक्षालाई साकार पार्न आफू सक्रिय राजनीतिमा आएको र यस्तो गर्नु आफनो कर्तव्य पनि भएकोले देशभित्र घुमफिर गर्न एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनु आवश्यक नपर्ने कडा जबाफ ओलीलाई फकाइसकेकी छन् ।
आगामी महाधिवेशनमा पूर्वराष्ट्रपति भण्डारी पार्टी अध्यक्ष पदको एउटा सशक्त उम्मेदवार रहने निश्चित छ । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली ७४ वर्षमा पुगिसकेका र २–२ पटक पार्टी अध्यक्ष भइसकेका कारण अब पार्टी नेतृत्वको जिम्मेवारी अरूलाई दिइनुपर्ने अडान राखेका छन् । पार्टीका पदाधिकारीहरूले विष्णु पौडेल, प्रदीप ज्ञवाली र शंकर पोखरेलहरू हतपति अरूलाई ओली पछिका नेताका रूपमा हेर्न नचाहेका कारण नै ईश्वर पोखरेल पनि भित्री अथवा खुल्ला रूपमा भए पनि पूर्वराष्ट्रपति भण्डारीलाई समर्थन गर्नेछन् ।
विगतमा ओलीको कार्यशैलीवाट असन्तुष्ट भई पार्टीभित्र एउटा छुटै समूह बनाएका गोकर्ण विष्ट, योगेश भट्टराई, प्रकाश ज्वालाहरू अहिले पनि नेकपा एमालेभित्र उपेक्षित अवस्थामा नै छन् । भोलिका दिनमा पार्टीभित्र ओलीको वर्चस्व कम हुन थालेपछि यिनीहरू खुलेरै पूर्वराष्ट्रपति भण्डारीको पक्षमा उभिनेछन् । भण्डारी धेरै आक्रामक तरिकाले पार्टी नेतृत्वको लडाइँ लडने सम्भावना छ । ओलीले बनाएका आफ्ना बफादारहरूको फौजबाट कुनै विशेष सुझाव–सल्लाह पाउने अपेक्षा गर्न सकिँदैन । किनभने पार्टीका वरिष्ठ नेताहरूलाई उनले यसअघि नै पार्टीबाट बाहिर गरिसकेका छन् । पार्टीका अर्का उपाध्यक्ष युवराज ज्ञवाली पनि पार्टीमा नयाँ नेतृत्व आउनुपर्ने धारणा राख्दछन् ।
यसरी नेकपा एमालेको आगामी महाधिवेशनमा पूर्वराष्ट्रपति भण्डारी एउटा सशक्त नेताको रूपमा स्थापित हुने निश्चित छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो जीवनको उत्तरार्धमा अनपेक्षित राजनीतिक परिणाम पाउने सम्भावनालाई खारेज गर्न सकिन्छ । नेकपा एमाले भित्रको गुटबन्दी अब चर्को रूप लिने निश्चित छ ।
प्रतिक्रिया