काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा स्वतन्त्र सांसद डा अमरेश कुमार सिंहले नेपाल अर्को देशलाई लिजमा दिऊँ भनेपछि हंगामा भएको छ ।
रोष्टमबाटै सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाएका थिए । त्यसपछि सत्तापक्षका अन्य सांसद समेत उठेर विरोध गरेका थिए ।
सभामुख देवराज घिमिरेले सिंहले बोलेको कुरा राष्ट्रहित विपरीत रहेको भन्दै उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । त्यसपछि सिंहले सभामुख एमालेको मात्रै भन्दै बजेट नजाने बोल्न पनि नपाउने किन भन्दै आक्रोश व्यक्त गरेका थिए ।
उनले एमाले देशप्रति गद्दार तपाईँहरू हो भन्दै आक्रोश व्यक्त गरेका थिए । त्यसपछि सत्तापक्षका सांसद नै नाराबाजीमा उत्रेका थिए ।
सांसद सिंहले रोष्टमबाट बोल्दै भनेका थिए, ‘म नेपाल सरकारलाई भन्न चाहन्छु यो चारपाँच जिल्ला नेपालमा राखौँ, बाँकी जिल्ला लिजमा अर्को देशलाई दिऔँ, अमेरिकालाई दिऔँ, चाइनालाई दिऔँ, भारतलाई दिऔँ, बजेट नै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्ने ? खाली ट्याक्स लिनलाई राख्ने ? सहरी विकास मन्त्रालयको म स्टार्ट गर्छु, काठमाडौंमा ३ करोडका दरले १३१ योजना छ, काठमाडौंमा १३१ योजना छ भने मेरो जिल्लामा कम्तीमा १५,२० वटा त पर्दथ्यो, सर्लाहीका जनताले १३१ खोजेको होइन, २० वा ३० राखेको भए हुन्थ्यो ।’
प्रतिक्रिया