काठमाडौँ । बजेटमा विनियोजित विभिन्न शीर्षकमाथि मन्त्रालयगत छलफलमा मन्त्री अनुपस्थित हुँदा सत्तारुढ दलका सांसदले नै आपत्ति जनाएका छन् । शनिबारको प्रतिनिधिसभा बैठकमा एकै दिन १० वटा मन्त्रालयको छलफल चलाइएको थियो ।
तर, मन्त्रीहरू संसद्प्रति गैरजिम्मेवार भएका कारण यस्तो अवस्था आएको भन्दै नेकपा (एमाले) का सांसद योगेश भट्टराईले आपत्ति जनाएका हुन् । ‘प्रतिनिधिसभामा एकै पटक १० वटा मन्त्रालयमाथिको छलफल गर्नुपर्ने स्थिति आउनु भनेको मन्त्रीको संसद्प्रतिको गैरजिम्मवारी हो,’ उनले भने, ‘संसद्मा विनियोजन शीर्षकमाथिको छलफल भइरहेका बेला त्योभन्दा महत्वपूर्ण अर्को काम के होला ?’
एकै दिन १० वटा मन्त्रालयमाथि छलफल गर्दा प्रभावकारी नहुने उनको भनाइ थियो । भट्टराईले विधेयकमा गम्भीरताका साथ भाग लिन मन्त्रीहरूलाई सुझाव दिए । उनले संविधानले प्रधानमन्त्रीलाई संसद्प्रति जबाफदेही बनाउने र मन्त्रीहरूलाई प्रधानमन्त्री र संसद्प्रति जबाफदेही बनाउने बताए । ‘आफूले प्रस्तुत गरेका विधेयकहरूमा गम्भीरताका साथ अन्यत्र भाग लिँदैनाँै भने गर्छौं के ? विधायिकी काममा भाग लिँदैनौँ भने गर्छौं के ?’ उनले मन्त्रीहरूलाई प्रश्न गरे ।
शनिबारको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथिको छलफलअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, स्वास्थ्य तथा जनसंख्या, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल भएको हो । केही मन्त्रीहरू विगतको बैठका उपस्थित नहुँदा छलफल कार्यसूचीबाट हटाइएको थियो र शनिबारको बैठकमा थप गरिएका कारण १० मन्त्रालयमाथि छलफल हुनुपर्ने अवस्था बनेको हो ।
रास्वपा : प्रतिपक्षी बोल्दा भित्र, सत्तापक्षको पालोमा बाहिर
विगत केही दिनदेखि संसद्मा नयाँ–नयाँ शैलीमा विरोध जनाइरहेको चौथो ठुलो दल रास्वपाले शनिबार विरोधको अर्को नौलो शैली देखायो । रास्वपाले बैठकमा प्रतिपक्षी दलका सांसदहरूले बोल्दा वेल घेरेर बैठक कक्षमा बस्ने, तर सत्तापक्षका सांसद बोल्दा बाहिरिने गरेर विरोध जनायो । रास्वपाका प्रवक्ता मनिष झाले प्रतिपक्षी दलका सांसदले विनियोजन विधेयकमा धारणा राख्दा वेलअगाडि उभिएको र सत्तापक्षका सांसद बोल्न थालेपछि आफूहरू बैठकबाट बाहिरिएको बताए । ‘सत्तापक्ष सांसद बोल्न थालेपछि बैठकबाट बाहिरिएका हौँ, प्रतिपक्ष बोल्ने बेला फेरि भित्र गयौँ,’ उनले भने ।
बैठकमा कांग्रेस सांसद प्रकाशशरण महतले बोल्न थाल्नेबित्तिकै उनीहरू बैठक बहिष्कार गरेर बाहिरिएका थिए । महतले आफू बोल्न लाग्दा रास्वपा बाहिरिएकोप्रति कटाक्ष गर्दै भने, ‘लगातार उभिन गाह्रो हुन्छ ।’ एमाले सांसद योगेश भट्टराईले भने रास्वपा र राप्रपाले बजेटमाथिको छलफलमा भाग नलिएकामा दुःख लागेको बताए । उनले राप्रपा र रास्वपा सांसदहरूलाई संसद्प्रति विश्वास छ कि छैन ? भनी प्रश्नसमेत गरे ।
भिजिट भिसा प्रकरणमा छानबिन र अध्ययन गर्न २ बुँदे सहमति कार्यान्वयन गर्न उनले गृहमन्त्रीलाई आग्रह गरे । उनले संसद्मा रास्वपाले कालो कपडा लगाएर आएर प्रधानमन्त्रीको अपमान गर्न खोजेको आरोपसमेत लगाए । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीमाथि छानबिनको माग गर्दै रास्वपा सांसदहरूले जेठ १३ गतेदेखि संसद् अवरोध गर्दै आएका छन् ।
प्रतिक्रिया