बनेपामा योद्धा गाडीको ठक्करबाट स्कुटर चालक तामाङको मृत्यु

काभ्रे । काभ्रेको बनेपा–पनौती सडक खण्डमा आज दिउँसो भएको एक सडक दुर्घटनामा एक स्कुटर चालकको मृत्यु भएको छ। दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका चालकको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो पनौतीबाट बनेपातर्फ आउँदै गरेको ना ४ च ५९४५ नम्बरको योद्धा गाडीले बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२३ प ६०२३ नम्बरको स्कुटरलाई गोदामचोक नजिक ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट स्कुटर चालक ज्ञानध्वज तामाङ गम्भीर घाइते भएका थिए । ४५ वर्षका तामाङको स्थायी ठेगानास्काभ्रेको तेमाल गाउँपालिका–१ घर भइ हाल बनेपा नगरपालिका–७ बसपार्क पछाडि डेरा गरी बस्दै आएका थिए ।

गाडीको ठक्करबाट गम्भीर चोट लागेपछि शिर मेमोरियल अस्पताल बनेपा पुर्याइएकोमा २ बजे डाक्टरले तामाङलाई मृत घोषणा गरेका हुन् ।

दुर्घटना भएको खबर लगत्तै इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीको कमाण्डमा १० जनाको टोली घटनास्थलमा खटिएको थियो । ठक्कर दिने योद्धा गाडी र स्कुटर दुवै सवारी प्रहरीको नियन्त्रणमा लिएको छ ।

तर, योद्धा गाडीका चालक भने फरार छन् । प्रहरीका अनुसार चालकको खोजतलास जारी छ । ठक्कर दिने गाडीधनी अजय यादव रहेको र उनी जनकपुर उपमहानगरपालिका–१३ का रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया