पेवेल र सजिलो पे वालेटको इजाजत खारेज, अवैध सुन कारोबारको भुक्तानी भएको खुलासा

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक दुई कम्पनीहरूको इजाजत (लाइसेन्स) खारेज गरेको छ । राष्ट्र बैंकले डिजिटल वालेटमार्फत भुक्तानी गर्दै आएका पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिको लाइसेन्स खारेज गरेको हो ।

दुवै कम्पनीले कानुनविपरीत काम गरेको भन्दै राष्ट्र बैंकले अनुमतिपत्र खारेज गरिदिएको छ । यसअघि अवैध सुन कारोबारको डिजिटल भुक्तानीमा पेवेल र सजिलो पेको संलग्नता देखिएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विसं २०८१ असारमा पेवेल र सजिलो पेबाट अवैध सुन कारोबारको भुक्तानी भएको खुलासा गरेको थियो । तस्करी भएको ६१ किलो सुनको रकम भुक्तानी गर्न पेवेल र सजिलोको वालेट प्रयोग भएको पत्ता लागेको थियो ।

पेवेल र सजिलो वालेटमार्फत एक खर्ब आठ अर्ब रुपैयाँ शंकास्पद कारोबार भएको सीआईबीको अनुसन्धानबाट खुलेको थियो । जसअनुसार पेवेल गेटवेबाट ८६ अर्ब र सजिलो पेबाट २२ अर्ब रुपैयाँ शंकास्पद कारोबार भएको खुलेको थियो । अनुसन्धानका क्रममा दुवै कम्पनीहरू दोषी पाइएपछि इजाजत खारेज भएको छ ।

पेवेल र सजिलो पेले सम्पत्ति शुद्धीकरण निवारणको भुक्तानी प्रणालीसम्बन्धि निर्देशिकाको उल्लंघन गरेको प्रमाणित भएकाले इजाजत खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया