अमेरिकाले फेरि थाल्यो विद्यार्थी भिसा प्रक्रिया

वासिङ्टन डिसी । अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसाका लागि अन्तर्वार्ता समय दिने काम (अपोइन्टमेन्ट)को तालिका पुनः सुरु गर्ने बताएको छ । तर, यस्तो भिसा आवेदन दिने विद्यार्थीको सामाजिक सञ्जाल एकाउन्ट जाँच गरिने सर्त राखिएको छ ।

गत मे २७ मा राष्ट्रपति ट्रम्प प्रशासनले विदेशस्थित राजदूतावासहरूलाई विद्यार्थी भिसाका लागि अपोइन्टमेन्ट रोक्न आदेश दिएको थियो । त्यसबेला अमेरिकी विदेशमन्त्री मार्को रुबियोले तत्कालका लागि अपोइन्टमेन्ट स्थगन गर्दै विद्यार्थी तथा फरेन एक्सचेन्जअन्तर्गतका भिसा आवेदकहरूको सामाजिक सञ्जालको निगरानी वा परीक्षण गहन बनाइने बताएका थिए ।

अहिले भिसा अपोइन्टमेन्ट माग्ने सबै आवेदकलाई उनीहरूको सामाजिक सञ्जाल प्रोफाइलको गोपनीयता सेटिङ सार्वजनिक राख्न निर्देशन दिइने बताइएको छ । ‘हामी हाम्रो भिसा जाँचमा उपलब्ध सबै जानकारी अमेरिका प्रवेशका लागि योग्य नहुन सक्ने आवेदकहरू, विशेष गरी राष्ट्रिय सुरक्षामा खतरा निम्त्याउन सक्ने व्यक्तिहरू पहिचान गर्न प्रयोग गर्छौँ,’ मन्त्रालयले भनेको छ । यसैगरी आवेदकहरूको अनलाइन उपस्थितिसहित व्यापक र कडा छानबिन गरिने बताइएको छ ।

मन्त्रालयका अनुसार विदेशमा रहेका अमेरिकी दूतावास र वाणिज्य दूतावासहरूले चाँडै यी भिसा आवेदनहरूको तालिका पुनः सुरु गर्नेछन् । सन् २०२३–२४ को शैक्षिक वर्षमा २१० देशका ११ लाख अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिकी कलेजहरूमा भर्ना भएको विदेशी विद्यार्थीसम्बन्धी आँकडा संकलन गर्ने संगठन ओपन डोअर्सले जनाएको छ ।
गत वर्ष सबैभन्दा धेरै भारतबाट ३ लाख ३० हजार भारतीय विद्यार्थी अमेरिका पढ्न आएका थिए । दोस्रो स्थानमा करिब २ लाख ८० हजार विद्यार्थीसहित चीन थियो । त्यसपछि धेरै संख्यामा अमेरिकामा पढ्न आउनेमा दक्षिण कोरिया, क्यानडा, ताइवान, भियतनाम, नाइजेरिया, बंगलादेश, ब्रजिल र नेपालका विद्यार्थी छन् ।

प्रतिक्रिया