काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरू आईएमई पे र खल्तीलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । योसँगै २ ठूला डिजिटल वालेटहरू एक भएर पहिलोपटक एकीकृत कारोबार गर्ने भएका हुन् । आईएमई पे र खल्तीको एकीकृत कारोबारपश्चात् आधिकारिक रूपमा कम्पनीको नाम भने आइएमई खल्ती लिमिटेड रहने आइएमई ग्रुपले जानकारी दिएको छ । यसको रजिस्टर्ड कार्यालय काठमाडौँ, पानीपोखरीस्थित रहनेछ ।
संयुक्त कारोबारपछि आधिकारिक रूपमा एपको नाम खल्ती रहनेछ । ठुलो चुक्ता पुँजी र ५० लाखभन्दा बढी अधिकारिक प्रयोगकर्ताहरूले खल्ती एपलाई नेपालकै सबैभन्दा ठुलो र बलियो डिजिटल वालेटको रूपमा स्थापित गरेको छ । साथै भुक्तानी सेवा प्रदायक क्षेत्रमा नेपालको ग्रामीण क्षेत्रसम्म पहुँच विस्तारमा तीव्रता आउने कम्पनीको गरिएको छ ।
नेपाल राष्ट्र बैंकबाट एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति पाएसँगै आगामी ३ महिनासम्म प्रयोगकर्ताहरूको समायोजन कार्य तीव्र रूपमा चल्ने कम्पनीले जनाएको छ । यसका लागि दुवै एपहरू आइएमई पे र खल्ती यथावत् सञ्चालनमा आउनेछन् । दुवै वालेट प्रयोगकर्ताहरूको रकम र रोयल्टी प्वाइन्टहरू, खल्ती प्वाइन्ट र आइएमई पे रिवार्ड प्वाइन्टहरू पनि उल्लिखित समयमा एकीकृत हुनेछन् ।
खल्ती र आइएमई पे दुवैमा भएका प्रयोगकर्ताहरू एकै ट्यापमा एपमा एकीकृत हुनेछन् भने आइएमई पेमा मात्र भएका प्रयोगकर्ताहरूको स्वीकृतिमा खल्तीमा समावेश गरिनेछ । नयाँ प्रयोगकर्ताको हकमा भने प्रयोगकर्ताले सिधै खल्ती एप डाउनलोड गरेर नया फिचरमा प्रवेश गर्न सक्नेछन् । आइएमई पे एपको मात्र प्रयोग गरिरहेका प्रयोगकर्ताले पनि अब खल्ती एपबाट नै सेवा सुविधाको उपयोग गर्न सक्नेछन् ।
वालेटमा सजिलै रेमिट्यान्स
खल्ती वालेटले आगामी दिनहरूमा प्रयोगकर्ताहरूलाई फिनटेक क्षेत्रमा नयाँ अनुभव प्रदान गर्नेछ । एपमार्फत प्रयोगकर्ताहरूले विश्वको कुनै पनि ठाउँबाट पठाएको रेमिट्यान्स सजिलै वालेटमा प्राप्त गर्न सक्नेछन् भने एपमार्फत नै बैंक खाता खोल्न, भिजा कार्ड प्राप्त गर्न सक्नेछन् ।
साथै भविष्यमा ऋण तथा अन्य सुविधाको पहुँच विस्तार पनि खल्ती एपमै हुनेछ । यसरी खल्ती एपले फिनटेक प्रणालीलाई नयाँ र बलियो निर्देशन प्रदान गर्ने विश्वास कम्पनीले लिइएको छ । ‘जनसंख्याको ठूलो हिस्सा डिजिटल वालेट प्रयोगमा होमिएको यो यस अवस्थामा गतिशील समाजलाई अर्थ कारोबारको सवालमा थप गतिशील बनाउन हाम्रो यो मर्जर अग्रणी बन्नेमा हामी विश्वस्त छौँ’, आईएमई ग्रुपले भनेको छ ।
प्रतिक्रिया