११ महिनामा साढे ६० अर्ब वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौँ । नेपालले चालु आर्थिक वर्षको ११ महिनामा ६० अर्ब ६० करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि जेठसम्ममा विदेशी लगानीकर्ताहरूले सो प्रतिबद्धता जनाएका हुन् । उद्योग विभागको प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ५६ अर्ब ७४ करोड तथा स्वचालित प्रणालीबाट ३ अर्ब ८६ करोड लगानी प्रतिबद्धता आएको हो । विभागका अनुसार ७१७ उद्योगका लागि सो लगानी प्रतिबद्धता प्राप्त भएको हो ।

विभागका अनुसार प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ११ महिनामा ३४७ उद्योगका लागि ५६ अर्ब ७४ करोड २४ लाख ७६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो । त्यस्तै, यस अवधिमा स्वचालित प्रणालीबाट ३७० उद्योगका लागि ३ अर्ब ८६ करोड ६९ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।
चालु आवको ११ महिनाको अवधिमा सेयर पर्चेज एग्रिमेन्ट (एसपिए) र सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) मार्फत ३२ उद्योगका लागि १ अर्ब ९६ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यस्तै ६६ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टिटिए) स्वीकृत भएको विभागले जनाएको छ । उद्योग विभागका अनुसार ११ महिनाको अवधिमा ७०२ वटा साना उद्योग, ९ वटा मध्यम र ६ वटा ठुला उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो ।

१७ हजारले रोजगारी पाउने

११ महिनामा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा थप १७ हजार २५५ जनाले रोजगारी पाउनेछन् । हालसम्म ७ हजार ११६ उद्योगका लागि कुल ५ खर्ब ९० अर्ब ३५ करोड रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ । हालसम्म स्वचालित प्रणालीबाट ५०९ उद्योगका लागि ११ अर्ब ९८ करोड ३१ लाख रुपैयाँ तथा स्वीकृति प्रणालीबाट ६ हजार ६०७ उद्योगका लागि ५ खर्ब ७८ अर्ब ३६ करोड ८७ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । प्रतिबद्धता अनुसारको लगानी भएमा ३ लाख ४५ हजार १६५ रोजगारी सिर्जना हुने विभागको भनाइ छ ।

विदेशी लगानीकर्ताको रोजाइमा सेवा तथा पर्यटन

सबैभन्दा बढी लगानी प्रतिबद्धता सूचना तथा प्रविध उद्योग र पर्यटनमा आएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा करिब ७१७ वटा उद्योगका लागि विदेशी लगानी प्रतिबद्धता प्राप्त भएकोमा पर्यटन क्षेत्रका २६६ वटा उद्योगहरूका लागि २३ अर्ब ९४ करोड ४२ लाख बराबरको लगानी प्रतिवद्धता आएको हो ।

यस्तै सेवा क्षेत्रका ७६ वटा उद्योगका लागि ३० अर्ब ४४ करोड ७७ लाख लगानी प्रतिबद्धता प्राप्त भएको छ । सूचना प्रविधि क्षेत्रमा ३१३ वटा उद्योगका लागि १ अर्ब ५७ करोड ३९ लाख लगानी आएको छ । उत्पादन क्षेत्रका ४८ वटा उद्योगका लागि ३ अर्ब १२ करोड २० लाख रुपैयाँ, कृषिका ११ वटा उद्योगका लागि १ अर्ब ४४ करोड ६० लाख, पूर्वाधार क्षेत्रको २ उद्योगका लागि ५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

जेठमा मात्रै ३ अर्ब ५० करोड लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षको जेठमा मात्रै साढे ३ अर्ब रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार १४१ वटा उद्योगमा लगानी प्रतिबद्धता आएको हो । स्वचालित मार्ग (अटोमेटिक रुट) भन्दा अप्रुभल रुटबाट सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ । जेठमा मात्रै स्वचालित मार्ग (अटोमेटिक रुट) बाट ८८ उद्योगमा ५० करोड १७ लाख ७० हजार रुपैयाँ र अप्रुभल रुटबाट ५३ उद्योगमा ३ अर्ब ४ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

प्रतिक्रिया