काठमाडौँ । गत वर्ष असोजमा भएको सम्झौताअनुसार नेपालले बंगलादेशतर्फ बिजुली निर्यात सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणले नेपालबाट भारतीय प्रसारण लाइन हुँदै दैनिक ४० मेगावाट बिजुली बंगलादेश निर्यात सुरु गरेको हो ।
गत वर्ष १७ असोजमा प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको विद्युत् व्यापार निगमबीच बिजुली बिक्री सम्झौता भएको थियो । गत वर्ष ३० कात्तिक (नोभेम्बर १५) मा पहिलो पटक १२ घन्टा बिजुली निर्यात गरेको प्राधिकरणले यस वर्ष भने जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट बिजुली निर्यात गर्नेछ । ३ देशबीच त्रिशूली जलविद्युत् केन्द्रबाट उत्पादित १८.६० मेगावाट र चिलिमेबाट उत्पादित २१.४० मेगावाट बिजुली बर्खाका ५ महिना बंगलादेश निर्यात गर्ने सम्झौता भएको छ ।
नोभेम्बर १५ सम्ममा १४ करोड ६८ लाख ८० हजार युनिट बिजुली निर्यात गरेबापत सरकारले १ अर्ब २९ करोड रुपैयाँ आम्दानी गर्नेछ । नेपालको ४०० केभी ढल्केबर सबस्टेसनबाट भारतको मुजफ्फरपुर, बेहरामपुर हुँदै बंगलादेश निर्यात हुने बिजुलीको बिक्री दर ६.४० अमेरिकी सेन्ट प्रतियुनिट तोकिएको छ ।
ऊर्जामन्त्री दीपक खड्काले भने वर्षायाममा नेपाललाई बढी भएको बिजुली छिमेकी मुलुक भारतसँगै बंगलादेशमा निर्यात गर्न पाउनु खुसीको कुरा भएको बताएका छन् । ‘बंगलादेशमा बिजुली निर्यात हुनु यस क्षेत्रमा लाग्ने समग्र व्यवसायी र नेपालको समृद्धिका लागि खुसीको कुरा हो,’ उनले भने, ‘हाम्रो उत्पादन निर्यात गरेर आयात घटाउन सक्ने प्रमुख क्षेत्र नै बिजुली हो ।’
तर, भारतको बाटो हुँदै जाने भएकाले निर्यात दिगो हुनेमा भने ऊर्जाविद्हरू सशंकित देखिन्छन् । भारतले जहिल्यै नेपाललाई आफ्नो मुठ्ठीभित्र राख्न खोज्ने प्रवृत्तिले भोलि कुनै समय यसमा भाँजो हाल्न सक्ने आशंका केही विज्ञहरूले गरेका छन् ।
भारतमा पनि निर्यात निरन्तर
प्राधिकरणले छिमेकी मुलुक भारतमा पनि बिजुली निर्यातलाई निरन्तरता दिएको छ । जुन १ देखि १८५ मेगावाट बिजुली निर्यात गर्दै आएको प्राधिकरणले शनिबारदेखि हरियाणा राज्यमा पनि २०० मेगावाट बिजुली निर्यात सुरु गरेको हो । नेपाल–भारतबीचको सम्झौताअनुसार ५.२५ भारतीय रुपैयाँ प्रतियुनिट नेपालले पाउनेछ । यस्तै, प्राधिकरणले बिहार राज्यमा पनि ८० मेगावाट बिजुली निर्यात सुरु गरेको छ । यसबाहेक ढल्केबर–मुजफ्फरपुर ४०० केभी र १३२ केभी प्रसारण लाइनबाट समेत भारतीय बजारमा थप बिजुली खरिद–बिक्री भइरहेको छ ।
भारतले निहुँ खोजेन भने निर्यात दिगो होला : केशव आचार्य, अर्थविद्
तेस्रो मुलुक बिजुली निर्यात हुनु सकारात्मक हो । यसलाई दिगो बनाउन सरकारले उत्पादनमा जोड दिनुपर्छ । द्विदेशीय र त्रिदेशीय सम्बन्धमा पनि सचेत रहनुपर्छ । भारतको बाटो हुँदै जाने भएकाले भारतले निहुँ खोज्यो भने मात्रै समस्या होला । नत्र यो निरन्तर नै रहन्छ ।
सरकारको नीति स्थिर हुनुपर्छ : नरबहादुर थापा, अर्थविद्
बंगलादेश विद्युत् निर्यातले अर्थतन्त्रमा टेवा दिन्छ । अन्य मुलुकहरूमा पनि निर्यात गर्ने बाटो खुल्छ । तर, सरकारको घोषणा एकातिर, व्यवहार अर्कैतिर देखिन्छ । उत्पादन वृद्धिको महत्वाकांक्षी लक्ष्य लिने अनि पिपिएमा टेक एन्ड पे भनेर दोहोरो चरित्र देखाइरहेको छ । स्पष्ट भिजनसहितको नीति बनाएर उत्पादनमा ध्यान दिने हो भने नेपालले बिजुलीबाटै समृद्धि हासिल गर्न सक्छ ।
प्रतिक्रिया