देशको हितका लागि एमाले र कांग्रेसले प्रतिस्पर्धा र सहकार्य सँगसँगै गर्छौँ : प्रदीप ज्ञवाली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्व र विकासका एमाले र नेपाली कांग्रेसबीच सहकार्य आवश्यक भएको बताएका छन् ।

प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी दल भए पनि मुलुकको बृहत्तर हितका लागि द्विदलीय साझेदारी आवश्यकयक भएको बताए ।

‘कांग्रेस र हामी मुख्य प्रतिस्पर्धी दल पनि हौँ, लोकतन्त्रका ‘स्टेक होल्डर’ पनि हौँ’, उनले भने, ‘प्रतिस्पर्धा र सहकार्य सँगसँगै गर्छौँ, हामीबीच सहकार्य आवश्यक छ ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि निजी क्षेत्रमा आशा बढेको र रोकिएका विकासका काम अगाडि बढेको बताए ।

उपमहासचिव ज्ञवालीले संविधान समयअनुसार लचिलो बनाउन परिमार्जन आवश्यक रहेको बताए । उनले सबै वामपन्थी दलबीच एकता हुनुपर्नेमा जोड दिए ।

एमाले निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले लोकतान्त्रिक विधिअनुसार निर्वाचनमा प्रतिस्पर्धा हुनुपर्ने बताए । एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले न्यायालयप्रति जनविश्वास बढाउनेतर्फ हरेक पार्टी कार्यकर्ताले काम गर्नुपर्ने धारणा व्यक्त गरे ।

संगठनका अध्यक्ष भोजराज आचार्यले पार्टीलाई कानुनसम्बन्धी सहयोग संगठनबाट उपलब्ध हुँदै आएको बताए । सम्मेलनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

प्रतिक्रिया