काठ आयातलाई निरुत्साहित गर्न नीतिगत सुधारको तयारी

काठमाडौँ । सरकारले विदेशी काठ आयातलाई निरुत्साहित गर्दै नेपाली काठलाई प्रवद्र्धन गर्ने उद्देश्यले नीतिगत सुधारको तयारी गरेको बताएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले नेपाली काठलाई प्रवद्र्धन गर्न नीतिगत सुधारको तयारीमा लागेको बताएका हुन् । राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तु बीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८०’ को सुझाव र समितिले वन तथा वातावरण मन्त्रालयलाई दिएको निर्देशन कार्यान्वयनबारे बिहीबार छलफल भएको थियो ।

सो छलफलका क्रममा मन्त्री शाहीले मानव वन्यजन्तुबीचको द्वन्द्व, स्वदेशी काठको उपयोगितामा क्रमशः नीतिगत सुधार गर्दै लैजाने काम भइरहेको छ, केही ऐन नियमावली संशोधनका क्रममा रहेको बताए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा वन, वातावरण, वन्यजन्तुसम्बन्धी धेरै विषय समावेश गरिएको र त्यसको कार्यान्वयन गर्ने प्रतिबद्धता मन्त्री शाहीले व्यक्त गरे ।

आगामी आार्थिक वर्षको बजेटमा वन क्षेत्रको भोगाधिकार दिँदा नाप जाँच गरिएका रूख कटान गर्नु पूर्व पुनः नापजाँच गर्नुपर्ने व्यवस्था र सुकेका, ढलापडा रूख संकलन गरी प्रयोगमा ल्याउने भनिएको छ । सांसद जगतबहादुर पार्कीले नेपाललाई काठमा आत्मनिर्भर बनाउँदै मलेसिया र बंगलादेश लगायतका देशबाट हुने काठ आयात रोक्नुपर्नेमा मन्त्री शाहीको ध्यानाकर्षण गराए ।

सरकारले बजेटमार्फत देशभित्रको काठ तथा काठजन्य सामग्रीको गुणस्तरीय उत्पादन तथा उपभोग वृद्धि गर्न पुष्पलाल मध्यपहाडी राजमार्ग आसपासमा फर्निचर तथा भेनियर उद्योग स्थापनार्थ प्रोत्साहन गर्ने उल्लेख गरेको छ । सांसद उदयबहादुर बोहराले भने, ‘बाँदर र बँदेलले किसानको बाली खाइदिएर दिनु दुःख दिएको छ, यो वन्यजन्तु र किसानबीचको समस्या सरकारले जतिसक्दो चाँडो प्राथमिकताका साथ समाधान गर्नुपर्छ ।’ सांसद नारायणदत्त मिश्रले वन डढेलो र मुलुकमा उत्पादित काठको उचित व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे ।

काठ आयातमा हरेक वर्ष अर्बौं रुपैयाँँ रकम बाहिरिन्छ

अर्बौंको स्वदेशी काठ कुहिएर वा डढेलो लाग्दा जलेर नष्ट भइरहेको छ । विदेशबाट अर्बौंको काठ आयात भइरहेको सरकारी तथ्यांक छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चैतसम्म ४ अर्ब ७० करोड बराबरको काठ तथा काठजन्य पदार्थ विभिन्न ५१ देशबाट आयात भएको छ  । काठ र काठजन्य उत्पादन आयातबाट १ अर्ब ६६ करोड ७९ हजार ५७ हजार रुपैयाँँ राजस्व उठेको छ  । नेपालमा सबैभन्दा बढी काठ र काठजन्य उत्पादनको आयात भारत र चीनबाट हुने गर्छ ।

यी दुई देशबाहेक काठ आयात हुने १० वटा देशमा इन्डोनेसिया, अमेरिका, भियतनाम, गाबोन, म्यानमार, मलेसिया, थाइल्यान्ड र दक्षिण कोरिया छन् । भारतबाट २ अर्ब ५२ करोड, चीनबाट १ अर्ब २७ करोड, इन्डोनेसियाबाट ६० करोड ९६ लाख बराबरको काठ तथा काठजन्य सामग्री आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्ष २०८०÷०८१ मा ५ अर्बभन्दा बढीको काठ आयात भएको थियो ।

देशको कुल भूभागको ४६ प्रतिशत बनक्षेत्रले ओगटे पनि सरकारी नीति स्पष्ट नहुँदा स्वदेशमा काठ उत्पादन, व्यवस्थापन र कारोबारमा समस्या हुने गरेको छ । काठजन्य सामग्रीको माग उच्च भए पनि स्वदेशी उत्पादनले त्यसलाई पूरा गर्न सकेको अवस्था छैन । नेपालमा काठजन्य सामग्रीको प्रयोग निर्माण कार्य, फर्निचर उत्पादन र अन्य क्षेत्रमा उच्च मात्रामा हुने गरेको छ ।

प्रतिक्रिया