काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक पनि एमाले अध्यक्ष आफू नै बन्ने स्पष्ट सन्देश पार्टी पंक्तिलाई दिएका छन् । पार्टी निकट अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले उमेर हदको प्रावधान फेल भइसकेको भन्दै आफूले आजीवन नेतृत्व नछाड्ने संकेत गरे ।
नेतृत्व उमेरले होइन, स्वास्थ्य र कार्यक्षमताका आधारमा तह हुने बताउँदै उनले आफू ७४ वर्ष पुग्दासम्म सफल नेतृत्व गरिरहेको दाबी गरे । आवश्यकताका आधारमा नेतृत्वमा रहने भन्दै उनले चीनको उदाहरण पेस गरे । चीनमा २ कार्यकाल मात्र पार्टीको महासचिव र राष्ट्रपति हुन पाउने व्यवस्था सी जिनपिङको आवश्यकताका कारण परिवर्तन गरिएको भन्दै उनले उमेरलाई जडसूत्रका रूपमा लिनु नहुने बताए । उनले विश्वका अन्य देशमा पनि उमेरहद हटाइएको बताए ।
आगामी महाधिवेशनमा आफूलाई चुनौती दिने तयारीसाथ सक्रियता बढाएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति उनी आक्रोशित देखिन्थे । पार्टीमा आफ्नो विकल्प खोज्न थालेको आफूले बुझेको भन्दै त्यसो नगर्न उनले नेता÷कार्यकर्तालाई चेतावनी दिए ।
ओलीले पार्टीको तल्लो तहसम्म विद्या भण्डारी गुट बनेको हल्ला चलेको भन्दै भण्डारीलाई अवरोध गर्न कार्यकर्ताहरूलाई निर्देशन दिए । ‘हल्ला चलेको छ, तलतल यो ग्रुप, त्यो ग्रुप बनेका छन् भन्ने । यस्ता ग्रुपको कुनै आवश्यकता छैन । यस्ता कुरा सुन्नेबित्तिकै तपाईंहरूले यो नगर्नुस् भन्ने जबाफ दिइहाल्नुस्,’ उनले निर्देशन दिए ।
आगामी महाधिवेशनमा नेतृत्वमा को आउने भन्ने विषय पार्टीमा छलफल नहुँदै बाहिर हल्ला चलाइएको भन्दै त्यसले पार्टीलाई कमजोर पार्ने उनले बताए । ‘पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने दुष्प्रयासलाई तपाईंहरूले सोझै इन्कार गर्नुस्,’ ओलीले भने ।
भण्डारीले आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने कुरा एमालेभित्र लुकेको विषय होइन । उनी ओली स्वयंसँग चुनावी प्रतिस्पर्धा नै गर्ने गरी अघि बढिसकेकी छिन् । ओलीले पार्टीका आन्तरिक कुरा सामाजिक सञ्जालमा लेख्ने र अन्तर्वार्तामा भन्ने गरिए पार्टीले सोही रूपमा ‘जबाफ’ दिने चेतावनी दिए । पार्टीको कुरा बाहिर बोल्नु पार्टीमाथिको हमला हुने उनको भनाइ थियो ।
‘आवश्यक नपरेकाले माधव, झलनाथ र सिपीलाई हटायौँ’
ककओलीले आवश्यकता परे आजीवन अध्यक्ष बन्न सक्ने र नपरे उमेरको ख्याल नगरी हटाउन सकिने जिकिर गरे । माधवकुमार नेपाल, झलनाथ खनाल, सिपी मैनालीलगायतलाई उमेरका कारण नभई आवश्यक नपरेकाले आफूहरूले हटाएको उनको दाबी थियो । मनमोहन अधिकारीलाई भने ७८ वर्षको उमेरसम्म नेतृत्वमा राखेको बताउँदै उनले भने, ‘धेरै बहकिनु पर्दैन । पार्टीले विचार गरेर निर्णय गर्छ भन्ने कुरामा विश्वास गरे पुग्छ । पार्टीले भावनामा बगेर होइन, औचित्य र आवश्यकता हेरेर निर्णय गर्छ ।’
प्रतिक्रिया