काठमाडौँ । प्रतिपक्षी दलहरूले आइतबारको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राखे । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै प्रतिपक्षीले गत १३ जेठदेखि सदन अवरुद्ध गर्दै आएका छन् ।
सत्तारुढ दलहरू भने गृहमन्त्रीको राजीनामा र छानबिन समितिको विपक्षमा छन् । यद्यपि, दुवै पक्षबीच मध्यमार्गी बाटो पहिल्याएर अवरोध खुलाउन निरन्तर कसरत जारी छ । छलफलमा सहभागी नेताहरूका अनुसार सदन खुलाउने विषयमा दुवै पक्ष सहमति नजिक पुगेका छन् । प्रतिपक्षी दलहरू गृहमन्त्री लेखकको राजीनामाबाट पछि हटेका छन् भने छानबिन समिति गठनको लिखित प्रतिबद्धतालाई मुख्य प्राथमिकतामा राखेका छन् ।
आइतबार विभिन्न चरणमा भएको छलफलमा प्रतिपक्षी दलहरूले गृहमन्त्रीमाथि छानबिन गर्ने लिखित प्रतिबद्धता माग गरेका हुन् । सो प्रतिबद्धता दिन सत्तारुढ दलहरू र सरकार पनि तयार भएको बताइएको छ । तर, भाषा कस्तो राख्ने भन्नेमा कुरा मिल्न नसक्दा आइतबारको बैठक सुचारु हुन नसकेको हो । सौर्य दैनिकसँग कुरा गर्दै नेपाली कांग्रेसका एक शीर्ष नेताले गृहमन्त्रीको राजीनामा नआउने र छानबिन समिति पनि तत्काल नबन्ने बताए ।
अख्तियारले छानबिन गरिरहेको अवस्था भएकाले त्यो छानबिन पूरा भएपछि मात्रै अर्को समिति बनाउने अथवा कहिले बनाउने भन्ने विषयमा प्रतिबद्धता जनाएर अवरोध खुलाउन लागिएको उनको भनाइ छ । सदनको अवरोध खुलाउन शनिबार र आइतबार नेताहरूको त्रिपक्षीय तथा द्विपक्षीय भेटवार्ताले तीव्रता पायो ।
शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । आइतबार उनले सभापति देउवासँगको कुरामा सरकार लचक हुने संकेत पाएको बताए । छानबिन समितिको भाषा र मोडालिटीको विषय टुंगिएपछि सदनको अवरोध खुल्ने उनले जानकारी दिए । ‘सबै लचिलो बन्नुपर्छ । समस्या समाधान गर्न माओवादी मात्रै लचिलो भएर पनि पुग्दैन । सरकार पनि लचिलो हुनुपर्छ,’ प्रचण्डले भने, ‘सभापतिजी (देउवा)सँग कुरा गर्दा सबैतिर लचकताको संकेत देखेको छु । भाषामा समझदारी बनेपछि सदन खुल्छ ।’
यता, प्रतिनिधिसभा बैठकमा अवरोध भइरहेकै बेला सभामुख देवराज घिमिरेले पनि अवरोध खुलाउने विषयमा दलहरूबीच प्रगति भइरहेको आभास पाएको बताए । उनले आज सोमबार दिउँसो २ बजे बस्ने गरी आइतबारको बैठक स्थगित गरे । आइतबार पनि सभामुखले ३ दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए भने विपक्षी दलहरूको पनि बैठक बसेको थियो । लगत्तै कांग्रेस–माओवादी नेताहरूबीच छलफल भएको थियो भने कांग्रेस–एमाले नेताहरू पनि छलफलमा जुटेका थिए ।
प्रतिक्रिया