काठमाडौं । काठमाडौंको नक्खुमा रहेको सनरानइज अपार्टमेन्ट र जैनखेलको एक घरमा सट्टेबाजी गराउने समूहका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँच भारतीय र १२ जना नेपालीले त्यहाँबाट अनलाइन जुवा सट्टेबाजी गराएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य छप्रा जिल्ला मसरथ थानाका दिपक कुमार सिंह, ऋषम राज, अंकित कुमार सिंह, धिरज कुमार सिंह र सोही उमेरका मोहित कुमार सिंह रहेका छन् । त्यसैगरी डोटीको पूर्वीचौकी गाउँपालिका–४ का ठक्कर कुँवर, सुवाश खड्का, सोही उमेरका हर्क बहादुर खड्का र तिलक खड्का रहेका छन् ।
त्यस्तै नवलपरासी पूर्व गैँडाकोट नगरपालिका–१२ का जोर्डन भन्ने जित बहादुर महतो, कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ का राजेन्द्र बहादुर महता, अछामको साँफेबगर नगरपालिका–७ का विकास थापा, साँफेबगर ९ का डायमन्ड कुँवर, अछामकै चौरपाटी गाउँपालिका–७ का मनोज बोगटी, कैलालीको गौरीगंगा नगरपालिका–६ का अरविन खड्का, रुपन्देहीको तिलोतमा नपा–३ का पूर्ण दर्लामी, र दाङको लमही नगरपालिका–१ का विष्णु कुमार राउत रहेका छन् ।
उनीहरूले ८१ करोड ४७ लाख ५७ हजार ४४६ रूपैयाँ ४० पैसा बराबरको अनलाईन जुवा कारोबार गरेको प्रहरीले जनाएको छ । विभिन्न देशका नागरिकहरूलाई वाट्सएप र टेलिग्राममार्फत सम्पर्क गरी अनलाइनएप मार्फत जुवा खेलाउने गरेको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए ।
विशेष सूचनाको आधारमा ललितपुरको, ललितपुर महानगरपालिका २६ जैनखेल भ्युटावरस्थित घर र नख्खुस्थित सनराइज अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर व्यवसायिक तवरले अनलाइन जुवा खेल्ने र खेलाउने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिमको जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको एसपी आचार्यले जानकारी दिए ।
प्रतिक्रिया