जनता फुसको घरमा बास बसिरहेका छन् । आज खाए भोलि के खाउँको अवस्था छ । नुन, तेल, चामलसमेत पाएका छैनन् । गणतन्त्रवादीले जति धाक लगाए पनि राजधानी बाहिरका जनताको जीवनस्तर उस्केको छैन । त्यसो त दुई छाक खान पनि जनतालाई धौ धौ छ ।
देशको वर्तमान अवस्था जटिल मोडतर्फ लागेको देखिन्छ । राजावादीहरूले एकातिर दैनिक आन्दोलन गरिरहेका छन् भने अर्कातिर सत्तारूढ दलहरूले प्रतिकारका लागि आफ्ना कार्यकर्ता परिचालन गरेका छन् । २०४६ सालको आन्दोलनको झल्को सडकमा देखिएको छ । कुनै पनि बेला राजावादी र गणतन्त्रवादीबीच मुठभेट हुने संभावना देखिन्छ ।
हुन त राजावादीहरू हिन्दु अधिराज्य बहालीको प्रमुख माग लिएर आन्दोलित भएको वर्षौं भइसकेको छ । तर, विगतका आन्दोलन र अहिलेको आन्दोलनका फरक छ । यसपटक उनीहरू निर्णायक भन्दै अभिच्छिन्न आन्दोलनमा उत्रिएका छन् । निर्णायक आन्दोलनका लागि परिस्थिति निर्माण भइसकेको राजावादीहरूको ठहर के कति यथार्थपरक छ भन्ने कुरा गणतन्त्रवादी दलका नेताहरूले सामान्य होस् पनि नराखी दिएको अभिव्यक्तिले पुष्टि गर्छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका यस्ता अभिव्यक्ति नयाँ होइनन् । विगतमा पनि उनले अन्तिम अवस्थासम्म राजतन्त्रलाई साथ दिने प्रयास गरेकै हुन् । तर राजतन्त्र समाप्त पार्न प्रमुख भूमिका खेलेको भनिएको माओवादी केन्द्र भने यतिबेला निकै गम्भीर देखिन्छ ।
राजावादीहरूको आन्दोलनप्रति सत्ताको मुख्यघटक नेपाली कांग्रेसले कहीँ कतै अभद्र टिप्पणी गरेको सुनिएको छैन । गणतन्त्रमा जान कांग्रेस किन बाध्य भयो ? भन्ने कुरा अस्पष्ट छैन । हुन त कांग्रेस र कम्युनिस्टबीच सिद्धान्तमा मात्रै पृथकता होइन कि, संस्कार र वर्गीय चरित्र नै फरक हो । शालिन टिप्पणी गर्यो भन्दैमा राजावादीहरू कांग्रेसप्रति नरम र कटु टिप्पणी गरे भन्दैमा कम्युनिस्टप्रति कठोर बन्न तथा डराउन जरुरी छैन । बरु कम्युनिस्टहरूको कटु टिप्पणी राजावादी आन्दोलनका लागि ऊर्जा बन्न सक्छ । कम्युनिस्टहरूलाई गलाउन सकियो भने मात्रै आन्दोलन सफल हुन्छ भन्ने हेक्का राजावादीहरूले राख्नु जरुरी छ । त्यसका लागि तयार भएरै राजावादीहरू निर्णायक आन्दोलनमा उत्रेका हुन् ।
कुनै पनि बेला राजावादी र कम्युनिस्टबीच सडकमै मुठभेड हुने अवस्था देखिन्छ । कि त कम्युनिस्ट र राजावादी मिल्नु पर्यो वा कुनै विन्दुमा सहमतिमा आउनु पर्यो । होइन भने मुलुकमा मुठभेड भइरहने अवस्था छ । हुन त सडकमा उत्रिएका राजावादीले प्रजातन्त्र मास्छु भनेको देखिँदैन । उनीहरूले खाली राजासहितको प्रजातन्त्र खोजेको देखिन्छ । त्यसो त राप्रपासहितका दलले हिन्दु राज्यको पनि जुन माग उठाएका छन्, त्यसमा पनि देशको प्रमुख दल नेपाली कांग्रेस भित्रका कतिपय नेताहरूको पनि सहमति देखिन्छ ।
विगतमा कांग्रेस–कम्युनिस्टमा पानी बाराबारको अवस्था थियो । त्यति मात्र होइन तत्कालीन समयमा कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा माओवादी अध्यक्ष प्रचण्डलाई टाउको मोलसम्म तोके । तर, समयक्रममा प्रजातन्त्रवादीको हातबाट फुस्केको सत्ता पुनर्वहाली गर्न काँग्रेसलाई समेत माओवादीको साथ र सहयोग चाहियो । अहिले पनि साथ र सहयोग चाहिने अवस्था यथावतै छ । त्यति मात्र होइन माओवादीसँग सहकार्य गरेरै कांग्रेसले चुनावमा भाग लियो, देशको पहिलो पार्टी भयो । यदि माओवादीसँग सहकार्य नगरी चुनावमा भाग लिने हो र कम्युनिस्टहरूले सहकार्य गर्ने हो भने कांग्रेस फेरि पहिलो पार्टी नहुने आँकलन गरिँदै छ । अहिलेसम्म हेर्दा सत्ताका लागि सहकार्य गरे पनि निर्वाचनमा कांग्रेस, एमाले मिलेर भाग लिने अवस्था छैन । अहिलेकै अवस्था २०८४ सालसम्म रह्यो भने कुनै पनि दलको बहुमत आउने अवस्था छैन ।
हुन त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेको सत्ता गठबन्धन तोड्न भरमग्दुरको प्रयास गरिरहेको देखिन्छ । तर प्रचण्डको प्रयास फलिभूत भएको छैन । अहिलेसम्म हेर्दा प्रधानमन्त्री केपी शर्मा ओलीपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने संभावना टरिसकेको छैन । हुन त सत्ताका लागि फरकफरक समीकरण भए पनि गणतन्त्र बचाउन देशका प्रमुख ठुला ३ दल कांग्रेस, एमाले र माओवादी केन्द्रमा विवाद देखिँदैन । तर जनताले साच्चै चाहे भने र लाखौँ जनता सडकमा उत्रिए भने कांगे्रस कम्युनिस्टहरू टुलुटुलु हेर्नुपर्ने पनि हुन सक्छ ।
जनताहरूमा अहिलेभन्दा त राजतन्त्रकाल ठिक थियो भन्ने स्वरहरू पनि सुनिन थालेको छ । यसको खास कारण छ । किनकी गणतन्त्र आए पछि भ्रष्टाचारले उग्ररूप लियो । के मन्त्री, के नेता सबै भ्रष्टाचारमा चुर्लुम्म डुबे । मौका पाएसम्म भ्रष्टाचार गर्न गणतन्त्रवादीहरू नचुकेको कुरा जगजाहेर छ । यदि गणतन्त्रवादीहरू देश विकासमा जुटेको भए, १ रुपैयाँ पनि भ्रष्टाचार नगरेको भए, आफ्ना कार्यकर्तालाई हदैसम्म इमानदार बनाएको भए, आफ्नो सिद्धान्तमा प्रतिवद्ध भएको भए, कर्मचारीलाई विश्वासमा लिएर राज्य सञ्चालन गरेको भए आज देश यसरी अस्तव्यस्त हुने थिएन ।
गणतन्त्रवादीहरूले जति बचाउ गरे पनि जनतामा गणतन्त्रप्रति आक्रोश छ । जनताले गणतन्त्रको स्वभाविक विकल्पका रूपमा राजसंस्थालाई लिएका छन् । राप्रपा, राप्रपा नेपालमा नलागेका जनता पनि आन्दोलनमा उत्रिएका छन् । हिजो कांग्रेस–कम्युनिस्टमा लागेका पनि राजावादी आन्दोलनमा सरिक हुन थालेका छन् । हिजोको गणतन्त्रवादीको आन्दोलनमा जनता थिए भनेर गणतन्त्रवादीहरू अहिले पनि हौसिरहेको देखिन्छ । तर, वागमतीमा धेरै पानी बगिसकेको छ । राजावादी र गणतन्त्रवादीहरू बराबरजस्तो देखिन थालेको छ । अन्तिम लडाइँमा कुन शक्ति बलियो हुन्छ त्यो अहिले अनुमान मात्र गर्ने हो भन्न सकिने अवस्था छैन ।
गणतन्त्र आएपछि जनताले के पाए त ? काठमाडौँलाई हेरेर मात्र पुग्दैन काठमाडौँ बाहिरका जनता फुसको घरमा बास बसिरहेका छन् । आज खाए भोलि के खाउको अवस्था छ । नुन, तेल, चामलसमेत पाएका छैनन् । गणतन्त्रवादीले जति धाक लगाए पनि राजधानी बाहिरका जनताको जीवनस्तर उस्केको छैन । त्यसो त २ छाक खान पनि जनतालाई धौ धौ छ । गरिब जनता गाउँमा बसेर १८ वर्षे गणतन्त्रको यही हो उपलब्धि भनेर प्रश्न गर्दैछन् । राजाको शासन फालेर अब हामी गरिब जनता पाल्छाैँ भनेर आएका गणतन्त्रवादीहरूको जति नै पटक सरकार फेरिए पनि जो जो प्रधानमन्त्री भए पनि गरिब जनता २ छाक खान नपाएर अझै रोइरहेको अवस्था छ ।
राजा एक्लै चल्छुभन्दा राजसंस्था ढल्यो । अहिले गणतन्त्रवादीहरू पनि एक्लै चल्छु भनिरहेका छन्, जनता महँगीको मारमा छन् । महँगी नियन्त्रण गर्न बनेको संयन्त्र मूकदर्शक छन् । महँगीको कुरा बताई साध्यै छैन । जुनसुकै वस्तुमा मूल्यवृद्धि भइरहेछ । नुन, तेल चामलजस्ता जनतालाई अति आवश्यक वस्तुमा समेत महँगीले जनतालाई पिरोलिरहेको छ ।
प्रत्येक वर्ष बजेट आउँछ, धनीलाई राहत हुन्छ । धनीको मुख हेरेर बजेट बनाइछ । गरिब जनता जहिले पनि हेरेको हेरै छन् । यस वर्ष वृद्ध भत्तासमेत ७० वर्ष पुगेपछि पाइने भयो । त्यही वृद्धभत्ताले गुजारा चलाइरहेकालाई यस वर्षको बजेटद्वारा नजरअन्दाज गरियो । वृद्ध भत्ता अझ बढाउनुपर्नेमा वृद्ध भत्ता पाउने उमेर झन् घढाइयो । यही हो गणतन्त्र ?
जतिपटक बजेट आउँछ, बजेटको आकार बढ्छ, विकास गर्ने भनिन्छ तर विकास कहीँ कतै भएका पाइँदैन । १० वर्ष लागेर गरेको कामलाई यही हो हामीले गरेको भनेर धाक दिने गरेको पाइन्छ । पहिले गरिबलाई खान दिने कि वृद्धवृद्धालाई हेर्ने कि सस्ता आयोजनामा बजेट खर्चने ?
देशका होनाहार युवा स्वदेशमा काम गर्न नपाएर विदेशिरहेका छन् । यहाँ काम गर्न नपाएपछि विदेश नगएर के गर्ने ? गणतन्त्र आएपछि देशका कलकारखाना रातारात बेचिए । यसरी हेर्दा राजावादीको आन्दोलन यहिबेला स्वभाविक देखिन्छ ।
प्रतिक्रिया