कमल थापा र राप्रपा सांसद दीपक सिंहलाई रिहाइको माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलाइयो

काठमाडौं । राजावादी आन्दोलनका क्रममा आइतबार पक्राउ परेका राप्रपाका सांसद दीपकशहादुर सिंह र राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिहाइको माग गर्दै कालोपुलमा राप्रपा नेपालका कार्यकर्ताले गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

आज आइतबार राजतन्त्र पुनः स्थापना गर्ने उदेश्यसहित गणतन्त्रको विरोधमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद सिंह र राप्रपा नेपालका अध्यक्ष थापासहित आठ जना राजावादीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा थापासहित प्रतिनिधिसभा सांसद दीपक सिंह, ललितपुरकी शिला राणा, भक्तपुर थिमीका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिनालगायत रहेको प्रहरीले जनाएको छ ।

आज राजावादीको भीडलाई उक्साएको आरोपमा थापासहितलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले बताए । पक्राउ परेकाहरु अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको बोहराले बताए ।

जेठ १५ गते गणतन्त्र दिवसकै दिनदेखि राजावादी दल र संगठनहरू गणतन्त्रविरुद्ध आन्दोलनमा उत्रिएका छन् । गणतन्त्र दिवसकै दिन पारेर राप्रपा, राप्रपा नेपाललगायत राजावादीले गणतन्त्रको विरोधमा आन्दोलनरत छन् ।

राजावादीको जुलुस आज पनि बालुवाटार क्षेत्र पुगेको थियो । उनीहरूले बालुवाटारमा निषेधित घेरा तोड्ने प्रयाससमेत गरेका थिए । केहीबेर प्रहरी र राजावादी आन्दोलनकारीबीच धकेलाधकेल समेत भएको थियो ।

प्रतिक्रिया