आन्दोलनले पोखरामा अलपत्र परेका यात्रुलाई काठमाडौं र चितवन पठाउन स्कटिङ गरिँदै

काठमाडौं । पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्याउनको लागि आइतबार पनि स्कटिङ गरिएको छ ।

सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द र आन्दोलन गरेपछि पोखरामा अलपत्र परेका यात्रुहरुलाई जेठ १८ गते आइतबार बिहान १० बजेदेखि २५ वटा पर्यटक बसमा स्कटिङ गरेर गन्तव्यमा पुर्याउन लागिएको सशस्त्र प्रहरीका नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट जिल्लाको सीमाना कोत्रेसम्म स्कटिङ गर्नेछ भने त्यहाँबाट नं. २३ मनकामना गण तनहुँले स्थानिय नेपाल प्रहरीसहित स्कटिङ गरी मुग्लिनसम्म ल्याउने थापाले बताए ।

गण्डकी प्रदेश र बागमती प्रदेशको सीमानामासम्म स्कटिङ गरी यात्रुहरुलाई सुरक्षित रुपमा उनीहरुको गन्तव्य स्थानसम्म पुर्याइने छ । २५ वटा बस चितवन र काठमाडौंको लागि छुटेकको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया