ढाका । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख वाजेद हसिनाविरूद्ध मुद्दा चलाउने तयारी गरिएको छ । उनको कार्यकालमा उनको निर्देशनमा प्रहरीद्वारा भएको लापरवाहीपूर्ण कारबाही र प्रदर्शनकारीको हत्यामा संलग्नताको आरोपमा मानवताविरुद्धको अपराधको अभियोगमा आइतबारबाट सुनुवाइ सुरु हुने भएको छ ।
सन् २०२४ को अगष्टमा विद्यार्थी नेतृत्वको जनविद्रोहको उत्कर्षमा ७७ वर्षीया हसिना हेलिकप्टरमार्फत् भारत गएकी थिइन् । ‘अभियोजन टोलीले पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध आइतबार अभियोग पत्र दायर गर्ने तयारी गरेको छ,’ अभियोजनकर्तामध्येका एक गाजी एमएच तमिमले भने ।
संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२४ को जुलाईदेखि अगष्टसम्म हसिनाको सरकारले प्रदर्शनकारीलाई दबाउने निर्मम अभियान चलाउँदा एक हजार ४०० जनाको मृत्यु भएको थियो । घरेलु अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले हसिनाको अपदस्थ सरकार र उहाँको प्रतिबन्धित अवामी लिग पार्टीसँग सम्बन्धित पूर्व वरिष्ठ व्यक्तिहरुविरुद्ध मुद्दा चलाइरहेको छ।
तत्कालिन हसिना सरकारका वरिष्ठ व्यक्तिहरूमाथि मुद्दा चलाउनु अहिले सत्ताका लागि होडबाजी गरिरहेका थुप्रै राजनीतिक दलहरूको प्रमुख माग हो । अन्तरिम सरकारले सन् २०२६ को जुनअगावै निर्वाचन गर्ने प्रतिबद्धता जनाएको छ ।
सरकारी स्वामित्वको बंगलादेश टेलिभिजनबाट उक्त मुद्दाको सुनुवाईको प्रत्यक्ष प्रसारण गर्ने अपेक्षा गरिएको छ । अभियोजकहरूले गत महिना हसिनाविरुद्धको मुद्दामा आफ्नो प्रतिवेदन पेश गरेका थिए र अदालतले आइतबार औपचारिक आरोपहरू जारी गरेर कार्यवाही सुरु गर्ने अपेक्षा गरेको छ ।
आईसीटीका मुख्य अभियोजक ताजुल इस्लामले मे १२ मा हसिनामाथि ‘दुरुत्साहन, उक्साहट, संलग्नता, सूत्रधार, र जुलाई विद्रोहको क्रममा सामूहिक हत्या रोक्न असफल भएको गरी कम्तीमा पाँच वटा आरोप लगाइएको बताएका छन् ।
अनुसन्धानकर्ताहरूले भिडियो फुटेज, अडियो क्लिप, हसिनाको फोन वार्तालाप, हेलिकप्टर र ड्रोन गतिविधिको रेकर्ड, साथै उनीहरूको अनुसन्धानको भागको रूपमा दमनका पीडितहरुको बयान संकलन गरेका छन् ।
पुर्वप्रधानमन्त्री हसिना भारतमा स्वनिर्वासित जीवन बिताइरहेकी छन् भने ढाकाबाट पक्राउ पुर्जी र सुपुर्दगी आदेशको अवहेलना गर्दै व्यक्तिगत रूपमा मुद्दाको सामना गरिरहेकी छन् । उनले उक्त आरोपलाई राजनीतिबाट प्रेरित भन्दै खण्डन गरेकी छन् ।
पूर्वगृहमन्त्री असदुज्जमान खान कमाल र पूर्वप्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल–मामुन पनि उक्त मुद्दामा मुछिएका छन् । उनीहरुमाथि पनि यस्तै आरोप लगाइएको छ ।
आईसीटी कोर्टले मे २५ मा अघिल्लो सरकारसँग जोडिएको पहिलो सुनुवाई सुरु गरेको थियो । त्यस घटनामा अगस्ट ५ मा छ जना प्रदर्शनकारीको हत्या गरेको आरोपमा आठ जना प्रहरी अधिकारीहरुमाथि मानवताविरुद्धको अपराधको अभियोग लगाइएको छ ।
तीमध्ये चार जना हिरासतमा छन् भने चार जनाको अनुपस्थितिमा मुद्दा चलिरहेको छ । सन् १९७१ मा बंगलादेशको स्वतन्त्रता सङ्ग्रामको क्रममा पाकिस्तानी सेनाले गरेका अपराधहरूको अनुसन्धान गर्न हसिनाले सन् २००९ मा आईसीटीको स्थापना गरेकी थिइन् ।
यसले धेरै प्रमुख राजनीतिक विरोधीहरूलाई मृत्युदण्डको सजाय सुनायो र यसलाई प्रतिद्वन्द्वीहरूलाई समाप्त गर्ने हसिनाका लागि एक माध्यमको रूपमा व्यापक रूपमा हेर्ने गरिएको थियो ।
प्रतिक्रिया