राजावादी आन्दोलनले उपत्यकाको ट्राफिक अस्तव्यस्त

काठमाडौँ । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले गत १५ जेठदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहँदा ट्राफिक व्यस्थापनसँगै जनजीवन प्रभावित बनेको छ । दैनिकजसो राजावादीहरू सडकमा जम्मा भएर प्रदर्शन गर्ने र कोणसभा गर्ने गर्दा काठमाडौँको ट्राफिक व्यवस्थापनमा सकस परेको हो ।

समितिले राजसंस्थाको पुनस्र्थापना, सनानत हिन्दु अधिराज्यको स्थापना र संघीयता खारेजीका लागि भन्दै अनिश्चितकालीन आन्दोलन घोषणा गरेको छ । बिहीबार रत्नपार्कमा प्रदर्शन गरेको समितिले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन ग¥यो । शनिबार भने नारायणहिटी दरबारमा जाने पूर्वनिर्धारित कार्यक्रम बनाए पनि प्रशासनको निषेधाज्ञापछि बालुवाटारस्थित प्रधानमन्त्री निवासलाई टार्गेट गरेर प्रदर्शन र नाराबाजी गरिएको छ ।

आज आइतबार नारायणचौरमा प्रदर्शन गर्ने तयारी गरिएको छ । दिनप्रतिदिन घट्दो उपस्थितिका बीच राजावादीहरूको आन्दोलन भइरहँदा जनस्तरबाट ‘पार नलाग्ने’ आन्दोलनका रूपमा टिप्पणी हुन थालेको छ । तर, आन्दोलनकारीहरू सो टिप्पणीलाई स्वीकार्न तयार छैनन् । सौर्य दैनिकसँग कुरा गर्दै राप्रपा नेता दीपकबहादुर सिंहले आफूहरूको आन्दोलनले जनजीवन प्रभावित नपारेको बताए ।

कुनै पनि सर्वसाधारण, व्यापारी व्यवसायीलाई दुःख नदिने गरी आफूहरू आन्दोलित भइरहेको उनको भनाइ छ । उनले आन्दोलनमा धेरै सहभागी नै नबोलाएको भन्दै अहिलेको आन्दोलन निर्णायक आन्दोलनको पूर्वाभ्यास मात्रै भएको बताए । ‘अहिले हामी निर्णायक आन्दोलनका लागि वार्मअप गर्दै छौँ । धेरै मान्छे बोलाएका छैनौँ । परेका दिन बोलाउँछौँ,’ उनले भने ।

निर्णायक आन्दोलनका लागि मर्न, मार्न तयार !

शान्तिपूर्ण आन्दोलन भनिरहे पनि आन्दोलन दिनप्रतिदिन अराजक बन्दै जाने हो कि भन्ने खतरा भने देखिएको छ । बालुवाटारमा शनिबार भएको नाराबाजीले पनि सो कुराको पुष्टि गर्छ । सौर्य दैनिकसँग कुरा गर्दै नेता सिंहले निर्णायक धक्कामा आफूहरू मर्न र मार्न तयार हुने गरी लाग्ने बताए । ‘हामी अन्तिम धक्का दिन्छौँ । मर्न पनि र मार्न पनि बाँकी राख्दैनौँ,’ उनले भने ।

राजावादीले दान दिएर मान्छे ल्याए : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूले आन्दोलनमा दान दिएर मान्छे ल्याएको टिप्पणी गरेका छन् । ‘विरोध प्रदर्शन उनीहरूलाई जनमतसंग्रह भएको लाग्यो रे । तर, पहिलो दिन दान दिएर केही मान्छे ल्याइए । दोस्रो र तेस्रो दिन मान्छेहरू घट्दै गए,’ उनले भने, ‘दरबार हत्याकाण्डपछि कुशको बाहुन जस्तो नक्कली राजतन्त्र आयो । त्यसले झन् निरंकुशता लाद्यो । जनताको अधिकार खोस्यो । विकास गरेन । देश लुटेर, संविधानभन्दा माथि बसेर पैतृक सम्पत्ति थुपा¥यो । अनि अहिले फेरि त्यही राजतन्त्र ल्याउनुपर्छ भन्दा लाज मान्नुपर्ने हो ।’

प्रतिक्रिया